८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर एमाले फेरि लयमा फर्किएको निष्कर्ष प्रस्तुत गरेका छन् ।
ललितपुरको गोदावरीमा शनिबार सुरु राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले एमालेको यात्रा लयमा फर्किएको निष्कर्ष निकालेका हुन् ।
‘नेकपाको विभाजनको निर्णायक विन्दुका रुपमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभियोगपत्र दर्ता भएपछिका घटनाक्रमहरु केलाउँदा नेकपा (एमाले)ले कसरी कठिन यात्रा पार गरेर आफूलाई आजको अवस्थामा ल्याइपुर्याएको छ भन्ने स्पष्ट हुन्छ’, राजनीतिक प्रतिवेदनमा लेखिएको छ ।
अध्यक्ष ओलीले एमाले लयमा फर्किएको तथ्य देखाउन २८ कात्तिक २०७७ यताका प्रमुख राजनीतिक घटनाक्रमहरु सारांशमा प्रस्तुत गरेका छन् । नेकपाभित्रको विवादकै क्रममा आफूविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहितका ५ नेताले लेखेको १९ बुँदे आरोपपत्र नै नेकपा विभाजनको सुरुवात भएको ओलीको दावी छ ।

त्यही पत्रबाट सुरु भएको नेकपाको संकट, पार्टी विभाजन र फेरि एमाले पुनर्गठनसम्मका घटनाक्रमलाई प्रतिवेदनमा क्रमशः उल्लेख गरिएको छ । एमाले पुर्नगठन, २०७९ मा सम्पन्न तीन वटै तहको निर्वाचन, गत वर्ष १० पुसमा प्रचण्ड नेतृत्वमा सरकार गठन अनि वर्ष–२०८० भर एमालेले गरेको गतिविधि प्रतिवेदनमा समावेश छ ।
तीन तहको चुनावपछि वडादेखि प्रदेशसम्मको अधिवेशन भइरहेको, मिसन ग्रासरुट चलाइएको, मध्यपहाडी संकल्प यात्रा सम्पन्न गरिएको देखि गएको २१ फागुनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमाले सरकारमा सहभागी घटनासम्म उल्लेख गरेपछि अध्यक्ष ओलीले एमाले लयमा फर्किएको निष्कर्ष निकालेका छन् ।
हेर्नुहोस् एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदमा प्रस्तुत दस्ताबेजहरु
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4