+
+

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक सुरु, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १४:३६

८ फागुन, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।

उक्त बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेमा महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।

बैठकमा अध्यक्ष ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल नहुने बताए ।

आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यो इतिहासको चक्र पछाडि फर्कनेवाला छैन । लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन् । संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुनसक्छ । तर यस समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै सक्दैन’, उनले भने ।

एमाले अध्यक्ष ओलीले प्रियतावादी र दक्षिणपन्थी शक्तिले पाएको मत नेपाली राजनीतिमा विवेचनायोग्य घटनाक्रम भएको धारणा राखेका छन् ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यसैस्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?