+
+

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:२५

२१ फागुन, काठमाडौं । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो ।

लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘विविध कारणले शिखर सम्मेलन हुन नसक्ने भयो । अहिले यो स्थगित नै हुने भयो ।’

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरुस् दलाई लामासमेत आउने चर्चा चलेको थियो ।

‘लरिएट्स एण्ड लिडर्स’ नामक संस्थाको व्यवस्थापनमा यसअघि तीनपटक यस्तो खालको शिखर सम्मेलन भएको छ । सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौं खर्च गरेर शिखर सम्मेलन गर्न लागेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त्यसको औचित्यमा प्रश्न उठाउँदै आएका थिए । प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले शिखर सम्मेलनको विरोध गरेका थिए ।

नेकपा माओवादी केन्द्र समेत मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिखर सम्मेलनको तयारीको विषयमा सत्ता साझेदार दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै असन्तुष्ट थियो ।

आज एमालेसहितको नयाँ सत्ता समीकरण बनेलगत्तै शिखर सम्मेलन स्थगित भएको हो । ‘भोलि ११ बजे क्याबिनेट छ, त्यसबाट स्थगितको औपचारिक निर्णय हुन्छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?