+
+

गठबन्धन टिकाउन ओलीले व्यवहार सुधार्नुपर्छ : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १६:०२

२२ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेको बताए ।

‘उहाँले (प्रचण्ड) पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसदको क्याबिनमा प्रधानमन्त्रीको कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठीकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ’, उनले भने ।

अहिलेको गठबन्धन प्रधानमन्त्री प्रचण्डको चाहनामा नभई ओलीको चाहनामा बनेको गौतमले बताए । २०८४ मा शक्ति आर्जन गर्ने उद्देश्यले ओलीले कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएको उनको भनाइ छ ।

‘त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा माओवादी केन्द्र नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो’, गौतमले भने ।

गठबन्धन टिकाउन ओली नै लाग्नुपर्ने भन्दै गौतमले त्यसका लागि भुलसुधार गर्नुपर्ने बताए ।

‘केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन’, गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?