+
+
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ :

रोजेको मन्त्रालय नपाएपछि छाडेकै परराष्ट्र ठीक 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नछाडेपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि आफैंले अस्वीकार गर्दै आएको परराष्ट्र मन्त्रालयमै जान सहमत भएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन २३ गते २०:२७

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् ।

प्रचण्ड सरकारमा नै ११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठले १७ चैत २०७९ मा गृह मन्त्रालय सम्हालेका थिए । नेकपा एमालेसँग नयाँ गठबन्धन बनेसँगै सोमबार सबै मन्त्री पदमुक्त भएका थिए ।

माओवादी नेताहरुका अनुसार मन्त्रिपरिषद्‍मा नयाँ टिम पठाउने विषयमा पार्टीका नेताहरुबीच छलफल भएको थियो । सोमबार नै हितबहादुर तामाङले विना विभागीय मन्त्रीको सपथ लिएका थिए । तर बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा तीन जना दोहोरिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका सुदन किराँतीलाई भने दोहोर्‍याइएन । यो मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङलाई दिइएको छ ।

उपमहासचिव शक्तिबहादुर बस्नेतले उर्जा र स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार मन्त्रालयकै जिम्मेवारी पाएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

श्रेष्ठले गृह मन्त्रालयमै दोहोरिन चाहेका थिए । गृहमा रहेर आफूले सुशासनका पक्षमा काम गरेको र त्यसलाई निरन्तरता दिन आफू नै जानुपर्ने दाबी गरेका थिए ।

उनको पालामा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरे । ललिता निवास प्रकरणमा सरकारी लिखत कीर्ते मुद्दामा छानबिन अगाडि बढाए, तर पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएको आरोप लाग्यो ।

सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका नेताहरुलाई जोगाएको भनेर एमालेले संसद नै अवरुद्ध गरेपछि पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग नै बनाउनुपरेको थियो । पछिल्लो पटक बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ठगीमा प्रहरीले अनुसन्धान थालेको छ, जुन अझै टुंगिएको छैन ।

त्यही काम देखाएर उनले गृहमा दोहोरिन चाहेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मंगलबार उनकै निवास बालकोट पुगेका थिए ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि गृह मन्त्रालय छाड्न मानेनन् । गृह मन्त्रालय नपाए रास्वपा सरकारमा नै नजाने निर्णयमा पुग्नसक्ने जोखिम भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओली, रास्वपाका सभापति रविलाई नै गृहमन्त्री बनाउन तयार भए ।

गृह मन्त्रालय नपाएपछि श्रेष्ठ परराष्ट्रमा जान सहमत भए । जबकी अघिल्लो वर्ष नै परराष्ट्रमन्त्री बन्न आग्रह गर्दा अस्वीकार गरेर भौतिक पूर्वाधार रोजेका थिए । यो पटक भने उनीसामू पर्यटन र परराष्ट्र मात्र विकल्प थियो । त्यसैले रोजेको मन्त्रालय गृह नपाएपछि छाडेको परराष्ट्र मन्त्रालयमै चित्त बुझाएका छन् ।

माओवादी केन्द्रीय सदस्य युवराज चौलागाई भने परराष्ट्र मन्त्रालयमा श्रेष्ठ उपयुक्त भएको बताउँछन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठ माओवादीमा पनि विदेश विभाग प्रमुख थिए । ‘विदेश मामिला बुझ्नुभएको छ, भाषामा पनि कमाण्ड राम्रो छ’, गृहमन्त्री भइसकेकाले आफूले थालेको कामको निरन्तरता चाहनु स्वभाविक भन्दै उनले भने, ‘परराष्ट्रमा पनि उहाँ वेष्ट क्यान्डिडेट हो ।’

यसलाई कतिपयले श्रेष्ठको सत्ता मोह भनेका छन्  । ‘विभिन्न कालखण्डमा पाँच पटक मन्त्री भइसक्नुभयो । गृहमा निरन्तरता नपाउने भएपछि यसपटक अर्को व्यक्तिलाई अवसर दिनुभएको भएपनि हुन्थ्यो’ माओवादीका एक नेता भन्छन्, ‘कमरेड प्रकाशले सत्ता मोह त्याग्न सक्नुभएन, पार्टीले पनि ख्याल गरेन ।’

श्रेष्ठलाई पटकपटक अवसर

संघीय संसद सचिवालयको विवरण अनुसार श्रेष्ठ ५० वर्षदेखि नेपाली राजनीतिमा छन् । २०३१ सालबाट राजनीतिमा लागेका श्रेष्ठ २०४२ सालमा नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य र २०५१ मा नेकपा (एकता केन्द्र) को महासचिव भएका थिए ।

राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला सशस्त्र युद्धरत नेकपा माओवादी र आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकैठाउँमा ल्याउन उनले भूमिका खेलेका थिए । उनले तत्कालीन विद्रोही माओवादी र आन्दोलनरत ७ राजनीतिक दलबीच १२ बुँदे सहमति गराउन भूमिका खेले ।

तत्कालीन माओवादी शन्ति प्रक्रियामा आएपछि माओवादीसँग एकता गर्दै २०६५ सालमा उपाध्यक्ष भएका उनी माओवादीमा निरन्तर शक्तिको अभ्यासमा छन् ।

आम चुनावमा भने श्रेष्ठले जित्न सकेका छैनन् । २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक निर्वाचन पद्धतिमार्फत संविधानसभा सदस्य भएका उनले २०७० को दोस्रो संविधानसभा चुनावमा मकुवानपुर–३ बाट प्रत्यक्ष चुनाव लडेका थिए । २०७४ को चुनावमा गोरखा–२ बाट उम्मेदवार थिए । दुबै पटक उनी पराजित भए ।

श्रेष्ठ ९ माघ २०७६ मा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य भए । प्रतिनिधिसभा चुनाव हारेको व्यक्ति राष्ट्रियसभामा आएको भनेर उनको आलोचना भएको थियो ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा उनी गोरखा-२ बाट उम्मेदवार बन्न चाहन्थे । तर डा. बाबुराम भट्टराई र उनीमध्ये को भन्ने विवाद थियो । त्यहीबेला पुष्पकमल दाहाल प्रचण्ड नै गोरखा- २ मा उम्मेदवार बन्ने भएपछि श्रेष्ठ राष्ट्रियसभामै रहे भने बाबुराम चुनाव नै लडेनन् ।

राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता उनी अहिलेसम्म पाँच पटक मन्त्री भएका छन् । १६ साउन २०६८ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । तर उनको उक्त कार्यकाल जम्मा २८ दिनको मात्रै थियो ।

१८ भदौ २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए ।

११ पुस २०७९ मा भौतिक पूर्वाधारमन्त्री बनेका उनी १७ चैत २०७९ मा गृहमन्त्री भएका थिए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?