+
+

रातो डोरीले बाँधिएको बन्द खामभित्र झविन्द्रले पत्र होइन, गोलीको छर्रा राखे !

‘युद्धमा मारिएका आफन्तको खबर बोकेको चिठीका शब्द पनि गोलीजस्तै हुन्छन्, घाइते बनाउँछन्’

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन २३ गते १९:०६

२३ फागुन, पोखरा । चित्रकार झविन्द्र गुरुङलाई आफ्नो ‘लाहुरे’ हजुरबुवाको अनुहार याद छैन । तत्कालीन ब्रिटिस–भारत सरकारका तर्फबाट दोस्रो विश्वयुद्ध लडेका उनका हजुरबुवा युद्धमै मारिए ।

तर, भविन्द्रलाई उनका हजुरआमा नानी गुरुङको अनुहार भने प्रष्ट याद छ, जो आफ्नो जीवनको अन्तिम सास फेर्दासम्म श्रीमान कामी गुरुङ फर्किने आशमा आँखा सोझ्याइरहिन् । किनकी उनलाई विश्वास थियो, ‘मेरा खसम खसेका छैनन् । एकदिन मलाई सम्झिएर जरुर फर्किनेछन् ।’

तत्कालीन विश्वयुद्धमा कामी गुरुङले ‘वीरगति’ प्राप्त गरेको खबर रातो डोरीले बाँधिएको चिठीमा आएको थियो । त्यतिबेला कलाकार झविन्द्रका बुवाको जन्मै भएको थिएन । उनका वुबा नानीको कोखमै थिए ।

झविन्द्र अहिले आफैं अधवैंशे भइसकेका छन् । तर, उनले आफ्नो खसमको पखाईमा जीवन बिताएकी हजुरआमाको अनुहार बिर्सन सकेका छैनन् । रातो डोरी बाँधेर हजुरआमाहरुलाई युद्धको बेला आउने चिठीका सम्झनाहरुले पनि उनलाई छोडेको छैन ।

हजुरआमाको सम्झनासँग जोडिएको आफूभित्रको त्यही दुस्वप्नमाथि झविन्द्रले एउटा चित्र कोरेका छन् । ‘युद्धबाट आएका गोलीहरु’ शीर्षकमा बनाएको उनको सिर्जनामा रातो डोरीले बाँधिएको खाम छ । तर, खामभित्र पत्र छैन, गोली छ ।

खामभित्र किन गोलीको छर्रा राखियो त ?

‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोली समान हुने रहेछन्’, भविन्द्रको तर्क छ, ‘युद्धमा वीरगतिको खबरले पनि गोलीको काम गर्दोरहेछ । युद्धमा धेरै हजुरआमा रातो डोरी बाँधिएको चिठीले घाइते हुनुभयो ।’

हजुरआमा जीवनको अन्तिम समयमा समाजका अगाडि ‘पागल’ करार भएको झविन्द्र सुनाउँछन् । ‘उनी पागल भएकी थिइनन् । जीवनको अन्तिम क्षणसम्म एकपटक श्रीमान भेट्ने हरसम्भव आश र कोसिस गरेकी थिइन्’, भन्छन् ।

झविन्द्रले कुनै व्यक्तिको मृत्युको खबरले उसको परिवारलाई मानसिक रुपमा कति असर गर्छ भन्ने देखाउन खोजेको बताए । उनले भने, ‘मृत्युको खबर गोली लाग्दाजस्तै दुख्छ, गोली लाग्दा जस्तै मर्छ भन्ने तुलना गरेर न्याय दिने कोसिस गरेको छु ।’

आज विश्वयुद्ध छैन । नानी गुरुङ र कामी गुरुङ पनि यो संसारमा छैनन् । भलै, अहिले तत्कालीन समयमाजस्तो रातो डोरीले बाँधेर चिठी आफन्तको हातमा नआइपुग्ला ! तर, आज पनि नानी र उनका कथाहरु कुनै न कुनै माध्यमबाट पुनरावृत्त भइरहेका छन् ।

‘देशको फोहोरी राजनीति र भ्रष्टाचारको मारले देशका सबैभन्दा स्वस्थ र दक्ष युवाहरु विदेशमा बेचिएका छन्’, भविन्द्र भन्छन्, ‘अरुको देश बनाउँदा बनाउँदै, लड्दालड्दै मरेका छन् । नानीका जस्तै कथाहरु अझै बन्दैछन् ।’

झविन्द्रले बनाएको ‘इन्स्टलेसन आर्ट’ चित्र पोखरा आर्ट ग्यालरीमा आयोजित पहिलो गण्डकी प्रादेशिक ललितकला प्रदर्शनीमा राखिएको थियो । उनको चित्रलाई दर्शकले खुबै रुचाएका थिए । फागुन १९ गतेबाट सुरु भएको उक्त प्रदर्शनी बुधबार सकिएको छ । प्रदर्शनी नयाँबजारस्थित क्षेत्री समाज घरको अस्थायी आर्ट ग्यालरीमा गरिएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ललितकला प्रदर्शनीमा ७३ जना कलाकारको कला प्रदर्शनीमा राखिएको थियो ।

जसबाट ३५ वटा चित्र काठमाडौंमा जेठ १५ गते हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा पनि प्रदर्शनीका लागि छनोट गरिएका छन् ।

यसअघि ललित कला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा मात्रै राष्ट्रिय ललित कला प्रदर्शनी गर्दै आइरहेको थियो । तर, यस वर्षदेखि ७ वटै प्रदेशलाई समेट्ने गरी सबै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी छनोट सुरु गरेको हो ।

प्रदर्शनी समापनमा पोखराका मेयरसँग खुला अन्तरक्रिया पनि गरिएको थियो । जसमा कलाकारले पोखरा आर्ट ग्यालरी कहिले बन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा मेयर आचार्यले पोखरा पृथ्वीचोकमा १० करोड लगानीमा सुविधासम्पन्न आर्ट ग्यालरी बनाउन प्रक्रिया सुरु भइसकेको र १८ महिनाभित्र बनिसक्ने जानकारी दिए ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?