+
+

कलामार्फत ‘अनिच्च’को सार बुझाउँदै ८ अन्तर्राष्ट्रिय कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १३:५३

काठमाडौं । संसार अनित्य र परिवर्तनशील छ । कुनै कुराको अस्तित्व आज छ, भोलि हुँदैन । ब्रह्माण्डको यो नियमलाई बुझाउने एउटा शब्द बौद्ध दर्शनमा छ- अनिच्च । यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा ।

संसारका आठ चर्चित कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाउन खोज्दैछन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको यो भाव प्रस्तुत गर्दैछन् ।

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट चलिरहेको छ । चैत ११ देखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तरक्रियात्मक सत्र समावेश छन् । विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरु खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

क्युरेटर क्रो प्रदर्शनीमा प्राप्त प्रतिक्रियालाई लिएर उत्साहित सुनिइन् । ‘प्रियजनको मृत्यु, ऋतुहरुमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिति, विश्वव्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया विम्ब हुन्,’ क्रो भन्छिन्, ‘मलाई आशा छ यो प्रदर्शनीले विविध कलाको सम्मिश्रणमार्फत जीवन र जगतको जटिलतालाई सरल अभिव्यक्तिमा बताइदिनेछ ।’

प्रदर्शनी आयोजना गरिएको लिच्छवि हाउस आफैंमा क्युरेसनको अंश भएको उनको भनाइ छ । प्रदर्शनी आयोजना गरिएको स्थलको महत्व दर्शाउँदै क्रो भन्छिन्, ‘कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ । जहाँ अलि पहिले एक हिप्पी रेष्टुरेन्ट थियो । चाँडै अब समकालीन संस्कृतिको केन्द्र बन्दैछ ।’

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित रहेको बताइन् । ‘यहाँ समावेश हुने प्रत्येक कलाकृतिले जीवन सधैं कसरी परिवर्तन भइरहेको हुन्छ भनेर गहन र व्यापक रुपमा प्रस्तुत पनि गरेको छ,’ उनले भनिन् ।

कहाँबाट को कलाकार आएका छन् ?

फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

भ्रमादेव पुष्पा बहुमुखी कलाकार हुन् जो एकैसाथ फिल्म निर्माण, गार्मेन्ट डिजाइन र फोटोग्राफी शिल्पमा प्रसिद्ध छिन् । उनका सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर फिल्म, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्बित गर्छ ।

रोड आइल्याण्ड स्कुल अफ डिजाइनबाट औद्योगिक डिजाइन तथा कला र वास्तुकलामा स्नातक चार्वेई साई फ्रान्सको राजधानी पेरिसमा बस्छिन् र त्यहाँ क्रियाशील छिन् । भौगोलिक, सामाजिक र आध्यात्मिक आकृतिहरु उनको सिर्जनाका मूल विशेषता हुन् । उनले हालै रिइम्याजिन आर्ट नाउ, न्युयोर्कको रुबिन आर्ट म्युजियम, ग्वाङ्जु बिएनाले लगायतमा कला प्रदर्शनी गरेकी छन् ।

डायलाइस्ट एक चिनियाँ ग्राफिटी कलाकार हुन्, जसले सहरी कलामा आफ्नो ठाउँ भेट्टाए । अहिले नेपालमा बसेर उनले ग्राफिटीमार्फत कलाको अन्वेषण गरिरहेका छन् ।

प्रदर्शनीकी क्युरेटर समेत रहेकी एमिली एभरी योशिको क्रो अमेरिकाको कोलोराडोमा जन्मिएकी कलाकार हुन् । उनी पानीरङ, प्राकृतिक मूर्तिकला, कपडा, एनिमेसन र फिल्म निर्माण डिजाइनमा काम गर्छिन् । उनको कला धार्मिक मूर्तिकलासँग सम्बन्धित छ, जसले वर्तमान समयमा मिथक र रहस्यमय कल्पनालाई पुनर्परिभाषित गर्छ ।

खिन्से नोर्बुका फिल्महरु ‘हेमा हेमा’, डाकिनी, पिग एट द क्रसिङमा उनी आर्ट डिजाइनरको रुपमा थिइन् ।

भारतीय कलाकार गौरी गिलले भारत र अन्तर्राष्ट्रिय रुपमा प्रशस्तै कला प्रदर्शनी गरिरहेकी छन् । भुटानका कर्मा वाङ्चुक कलाकारको साथै स्वतन्त्र फिल्म निर्माता पनि हुन् । उनको प्रयोगात्मक छोटो फिल्म ‘द मंक इन द फरेस्ट’ सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।

लण्डनलाई कर्मथलो बनाएकी लुसिन्डा कामेन दृश्य कलाकार हुन् । काठमाडौंमा जन्मिएकी महिमा सिंह दृश्य कलाकारसँगै कला शिक्षक समेत हुन् । भिजुअल र प्रदर्शनी कलामार्फत सामाजिक रीतिरिवाजलाई चुनौती दिने प्रयत्नमा उनी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?