+
+

विष्णु पौडेलको अनिच्छाले महासेठलाई अवसर

तीन पटक अर्थमन्त्री भइसकेका विष्णु पौडेलले अरु मन्त्रालयमा जान अनिच्छा देखाएपछि एमालेले पदाधिकारी तहबाट नेतृत्व गरेर महासेठलाई पठाउने निर्णय गरेको हो ।

दिपेश शाही दिपेश शाही
२०८० फागुन २३ गते २०:१९

२३ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनको मन्त्रिपरिषद्मा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गरेका छन् । महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रसँग नयाँ गठबन्धन बनाउन भूमिका खेलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने अनुमान थियो । तर पौडेलले अनिच्छा देखाएसँगै सचिव महासेठले अवसर पाएका हुन् ।

‘उपाध्यक्ष विष्णु पौडेलले नै पदाधिकारी तहबाट अरूलाई पठाउनुपर्छ भनेपछि उहाँ (महासेठ) को नेतृत्वमा पठाउने निर्णय भएको हो’, एमाले नेता विष्णु रिजालले अनलाइनखबरसँग भने ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका एमाले र माओवादीबीच प्रधानमन्त्रीलाई सहज हुने गरी मन्त्रालय भागबण्डा गर्ने र मन्त्रीहरु पठाउने सहमति भएको छ । त्यसअनुसार माओवादी केन्द्रले अर्थ मन्त्रालय आफैंसँग राख्न चाह्यो ।

तीन पटक अर्थमन्त्री भइसकेका पौडेलले अरु मन्त्रालयमा जान अनिच्छा देखाएपछि एमालेले पदाधिकारी तहबाट नेतृत्व गरेर महासेठलाई पठाउने निर्णय गरेको हो ।

पदाधिकारीमा पनि महासेठलाई नै नेतृत्व दिनुमा अरु कारण पनि रहेका एमाले नेताहरु बताउँछन् ।

सरकारमा जान चाहने र पठाउन सकिने पदाधिकारीमध्ये महासेठ पार्टी अध्यक्ष ओलीका लागि अनुकुल पात्र हुन् ।पदाधिकारीमध्ये उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र महासेठ मात्र सांसदमा छन् । उनीहरुमध्ये महासेठ ओलीका लागि अनुकल पात्र हुन् ।

पार्टीभित्र महासेठ शक्ति र स्रोत सम्पन्न नेतामा पर्दछन् । महासेठको पारिवारिक सम्बन्ध पनि उस्तै छ । गैरआवासीय नेपाली व्यवसायी उपेन्द्र महतोका बहिनी–ज्वाइँ महासेठको आर्थिक हैसियत राम्रो छ ।

महासेठ छिमेकी मुलुक भारतससँग समेत राम्रो सम्बन्ध रहेका नेतामध्ये एक मानिन्छन् । भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेको एमालेका लागि महासेठ सरकारमा हुँदा सहज हुने देखेर पनि अध्यक्ष ओलीले उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएको हुनसक्ने विश्लेषण समेत भइरहेको छ ।

चलाख राजनीतिज्ञ, विवादास्पद छवि

एमालेले सचिव महासेठको नेतृत्वमा पदम गिरी, राजेन्द्र राई, ज्वालाकुमारी शाह, बलराम अधिकारी, दामोदार भण्डारी, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई सरकारमा पठाएको छ ।

महासेठ र अधिकारीबाहेक सबै गत वर्ष दुई महिना प्रचण्ड सरकारमै मन्त्री भएका थिए । यसअघि दुईपटक मन्त्री भइसकेका महासेठले पहिले भौतिक पूर्वाधार तथा यातायात र पछिल्लो पटक परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

महासेठ २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । तर कार्य सम्पादनमा चित्त नबुझेको भन्दै ओलीले ५ मंसिर २०७६ मा महासेठलाई जिम्मेवारीबाट हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाएका थिए । तर जेठ २०७८ मा दोस्रो पटक संसद विघटन गरेका ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रदीप ज्ञवालीलाई प्रतिस्थापन गरेर महासेठ मन्त्री बनाउनु अर्थपूर्ण थियो । ५ पुस २०७७ मा संसद विघटन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र महासेठ ओली इतर समूहतिर उभिएका थिए ।

माधवकुमार नेपालसँग नजिक उनी ओलीइतरका केही कार्यक्रममा समेत सहभागी भए । तर केही दिनमै ओलीलाई साथ दिएपछि १० पुस ०७७ मा महासेठ पत्नी जुली महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन् ।

एमालेका राजनीतिमा महासेठ लामो समय वामदेव गौतमसँग नजिक मानिन्थे । त्यसअघि २०५४ सालमा एमाले विभाजन हुँदा महासेठ मालेको केन्द्रीय सदस्य बनेका थिए ।

२०५८ सालमा वामदेवसँगै एमालेमा फर्किएका उनी २०५९ मा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने । आठौंमा महाधिवेशनमा ओली इतर समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार भएका उनी पराजित भएका थिए । २०७१ साउनमा सम्पन्न एमालेको नवौं महाधिवेशनमा ओलीको प्यानलबाट सचिव पदमा चुनाव लडेका महासेठ सचिव र केन्द्रीय सदस्य दुबै पदमा पराजित भएका थिए ।

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था थियो । यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो ।

तर महासेठ दुवै पदबाट पराजित भएका महासेठ र श्रीमती महतो २०७३ सालमा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएका थिए । नेकपा माओवादी केन्द्रसँग एमालेको एकीकरणपश्चात् बनेको नेकपामा स्थायी समिति सदस्य बनाइएका महासेठ त्यसपछि एमालेमा पनि स्थायी समिति सदस्य थिए भने चितवनमा सम्पन्न १०औँ महाविधेशनपछि सचिव बनेका हुन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?