+
+

मिटरब्याज पीडितको आन्दोलन अब बालुवाटार केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते २२:०२

२३ फागुन, काठमाडौं । २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै अब बालुवाटार केन्द्रित आन्दोलन सुरु गर्ने बताएका छन् ।

बुधबार मिटरब्याज पीडितहरु भृकुटीमण्डपबाट नारा जुलुस गर्दै बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अवरोध गरेको छ । दिउँसो १२ बजेसम्म प्रहरीले उनीहरुलाई भृकुटीमण्डपमै रोकेको थियो । बालुवाटारतर्फ मिटरब्याज पीडितको समूह अघि बढेपछिे मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित २० जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि मिटरब्याज पीडितहरुले नक्साल पीपलबोट नजिकै सडकमा प्रदर्शन गरे । भृकुटीमण्डपमा गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि अब बालुवाटार केन्द्रित आन्दोलन गर्न खोजेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीन बताउँछन् ।

‘कष्टपूर्ण यात्रा गरेर आएको १५ दिन बित्दा पनि सरकारले हाम्रो माग सुनेको छैन’, उनले भने, ‘सरकारले माग सुनोस् भनेर अहिलेसम्म शान्तिपूर्ण आन्दोलनमै थियौं तर अब आन्दोलन थप चर्काउने अवस्थामा पुगेका छौं ।’

सरकारले माग सम्बोधन नगरेसम्म मिटरब्याज पीडितहरु घर नफर्किने उनले बताए । ‘जबसम्म सरकारले मिटरब्याज पीडितको कुरा सुन्दैन, हामीहरु घर फर्कदैनौं, आन्दोलन थप चर्काउदै जानेछौं ।’

साहुले खेत खान लागिसके

२३ दिन हिडेर काठमाडौं आएका धनुषाका रामलोचन पासमारी १५ दिनयता यता काठमाडौंमै छन् । आठ हजार ऋण लिँदा डेढ लाख मागेर हिटरब्याजी साहुले मुद्दा हालेपछि उनी न्याय माग काठमाडौं आएका हुन् । ‘साहुले जाली तमसुक बनाएर ममाथि नै मुद्दा हाले, घर खेत खाइदिन लागेपछि म रुदै न्याय माग्न आएँ’, रामलोचन भन्छन् ।

साहुले फर्जी कागजात देखाएर घरखेत नै खान थालेपछि उनी जिल्ला प्रशासनदेखि स्थानीय तहसम्म धाए । तर साहुले बनाएको जाली तमसुकका कारण स्थानीय प्रशासनले पनि केही गर्न नसक्ने बतायो ।

त्यसपछि उनी न्याय पाउने आशाले आफूजस्तै अरु मिटरब्याज पीडितहरुसँग काठमाडौं आएका हुन् । गत फागुन ११ गते उनीहरुले मिटर ब्याजी पीडितहरुसँग विरोध भद्रकालीमा पुगेर सिंहदरबार अगाडि आन्दोलन गरे । ‘गाउँको सिंहदरबारले कुरा नसुनेपछि कुरा सुनाउन सिंहदरबार आयौं’ उनले भने, ‘तर यहाँ आएर आन्दोलन गर्दा पनि सुनेन ।’

मिटर ब्याजीले जग्गा खाइदिएपछि निर्मलादेवी चौधरी पनि आफूजस्तै पीडितहरुसँगै सुनसरीदेखि काठमाडौंसम्म हिडेर आएकी थिइन् । १६ हजार ऋणको बदला १ कठ्टा जमिन नै साहुले हडपेपछि उनी न्याय माग्न आएकी हुन् ।

‘मिटरब्याजी साहुले खेत खाइदिएपछि भोकै प्यासै हिँडेर आएँ’ उनले भनिन्, ‘यहाँ आएपछि न्याय पाइन्छ भन्ने आश थियो ।’

तर सरकारले अहिलेसम्म आफूहरुलाई चासो नदिएको भन्दै उनी निराश देखिइन् । ‘यहाँ आएको यतिका दिन हुँदा पनि सरकारले हाम्रो कुरा सुनेको छैन’, निर्मलादेवीले भनिन् । मिटर ब्याजीले खाइदिएको जग्गा फिर्ता नगरेसम्म घर नफर्किने उनको अडान छ ।

पूर्वमेचीदेखि पश्चिम महाकालीबाट २३ दिन लामो पैदल यात्रा गरेर गत फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु काठमाडौंको भृकृटीमण्डपमा पाल टागेर बसिरहेका छन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?