+
+

१२ वर्षपछि परराष्ट्र मन्त्रालय फर्किएका श्रेष्ठका १२ लक्ष्य

दिपेश शाही दिपेश शाही
२०८० फागुन २४ गते १९:४०

२४ फागुन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइपुगेका छन् । पहिलोपटक २०६८ सालमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले बुधबार दोस्रोपटक उक्त जिम्मेवारी सम्हालेका हुन् ।

श्रेष्ठ १२ वर्षपछि मन्त्रालयको नेतृत्वमा फर्किए पनि मुलुकको परराष्ट्र नीतिको हविगतमा भने तात्विक फरक आइसकेको छैन । बदलिंदो विश्व परिस्थिति र पेचिलो बन्दै गइरहेको भू-राजनीतिका कारण मुलुकको परराष्ट्र सम्बन्ध थप जटिल बन्दै गइरहेको छ । यद्यपि, चुनौतीसँगै अवसरका दायराहरू पनि खुकुलो बन्दै छन् । विश्व राजनीतिमा ध्रुवीकरणका अनेकौं दृश्यहरू देखापर्न थालेका छन् ।

आफ्नै दुई छिमेकी मुलुकहरूले आर्थिक उन्नतिमा विशाल फड्को मारेका छन् । यसलाई कसरी राष्ट्रको हितमा कसरी प्रयोग गर्ने भन्नेमा नेपालको ध्यान केन्द्रित हुनुपर्नेमा विज्ञहरूको जोड छ ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सिंगो परराष्ट्र मन्त्रालय त्यसमा केन्द्रित हुने बताए । १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किंदा फेरि आफ्नै परिवारमा आएकोजस्तो सुखद अनुभूति भएको भन्दै श्रेष्ठले देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवर्द्धनमा एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने भन्दै संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको नीति अन्तर्गत रहेर काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए ।

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहँदा कूटनीतिक दक्षता र श्रेष्ठताको आवश्यक्ता पर्ने भन्दै उनले आजको विश्वमा चलिरहेको ‘डिप्लोमेसी इज फर्स्ट’ भन्ने मान्यतालाइ पकड्नु पर्ने बताए ।

‘आजको विश्व परिस्थिति र हाम्रोजस्तो देशको भूराजनीति अवस्थितिले केही सकारात्मक पक्ष पनि हामीलाई अवसरका रुपमा दिएका छन् भने गम्भीर चुनौती पनि हाम्रा अगाडि छन’, उनले भने, ‘यो सकारात्मक अवसरलाई पकडन र चुनौतीलाई चिर्दै अगाडि बढ्न हामीले कूटनीतिक श्रेष्ठतामा ध्यान दिनै पर्नेछ ।’

उनले नेपालका दुई छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न अझ उन्नत बनाउने विषयलाई प्राथमिकता दिने र विश्वका सबै शक्तिशाली राष्ट्र तथा सबै मित्रहरूसँग मैत्रिपूर्ण सम्बन्ध विकास गर्न आफ्नो लक्ष्य रहेको समेत उनले बताए ।

मन्त्री श्रेष्ठले मन्त्रालयको सफलता नै आफ्नो सफलता हुने भन्दै आफूले पूरा गर्न राखेका १२ वटा लक्ष्य प्रस्तुत गरेका छन् ।

१. नेपालले बहुपक्षीय र क्षेत्रीय फोरमहरूमा सहभागिता जनाउन, राष्ट्रिय हितमा पक्षपोषण गर्न, राष्ट्रिय हित अनुकुलका निर्णय लिन लगाउन र बहुपक्षीय र क्षेत्रीय फोरममा सम्पूर्ण विश्व शान्ति, मानवतावाद र विश्वको समग्र मानव जातिको हितको पक्षमा क्षेत्रीय फोरममा आवाज उठाउने छौं ।

२. वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको हितको रक्षा गर्ने कुरालाई आफ्ना महत्वपूर्ण कार्यको अभिन्न अंग बनाउने छौं ।

३. अहिले देशको प्रमुख राष्ट्रिय कार्यभारलाई केन्द्रमा राखेर काम गर्नेछौं । आजको केन्द्रीय कार्यभार भनेको सामाजिक रुपान्तरण, विकास र समृद्धिमा फड्को मार्ने हो । त्यसका लागि मन्त्रालयले आर्थिक कूटनीतिलाई महत्वका साथ अगाडि बढाउने र परिचालन गर्ने छौं ।

४. गैरआवासीय नेपालीहरूको भौतिक र बौद्धिक पुँजीलाई नेपालको विकासका निम्ति परिचालन गर्न प्रोत्साहित गर्नेछौं । गैर आवासिय नेपालीका ‘जेन्युन कन्सर्न’ लाई सम्बोधन गर्न ध्यान दिनेछौं ।

५. मैले पहिले पनि कूटनीतिक आचारसंहिताको पालनामा जोड दिएको थिएँ । यसलाई कूटनीतिक आचार संहिताका रुपमा मात्रै हेर्नु हुँदैन । यसको प्रश्न हाम्रो देशको राष्ट्रिय सुरक्षासँग पनि जोडिएको छ । यसैले कूटनीतिक आचार संहितालाई पालना गर्न हामी दृढतापूर्वक अगाडि बढ्ने छौँ ।

६. राष्ट्रिय महत्वका विषयहरूमा सबै सरकारी निकायहरूसँग प्रभावकारी समन्वयका साथ अगाडि बढ्ने छौं । हाम्रो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)लाई संस्थागत क्षमता विकास गर्न र मानवीय पुँजीलाई अझ विकास गर्न त्यसको सुपरिचालनमा ध्यान दिनेछौं । यसलाई थिंक टयांकका रुपमा विकास गर्न अझ बढी मेहनत गर्नेछौं ।

७. नेपालको राष्ट्रिय हित अनुकुल हुने वैदेशिक सहयोग आमन्त्रण गर्नेछौं र स्वीकार गर्नेछौं । यसो गर्दा राष्ट्रिय हितमा कुनै सम्झौता गरिने छैन । हामी सबै वैदेशिक सहयोगहरूलाई नेपालको बजेटरी प्रणालीभित्र ल्याउने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं ।

८. राजदूतहरुको नियुक्तिको मापदण्डलाई उद्देश्यगत बनाउन र मूल्यांकन नियमित गर्न ध्यान दिनेछौं ।

९. देशको राष्ट्रिय विकासका लागि वैदेशिक सहायतालाई आमन्त्रण गर्न हामीले भूमिका खेल्नु पर्नेछ । त्यसो गर्दा हामी अहिले जहाँ छौं, त्यो पर्याप्त छैन । विश्वका नविनतम चुनौती सम्भावनालाई पकडने गरी हाम्रो अध्ययन गर्नुपर्ने छ र क्षमता विकास गनुपर्ने आवश्यक्ता छ । त्यसो हुँदा मात्रै हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न सक्ने छौं । त्यसमा विशेष ध्यान दिने छौं ।

१०. कूटनीतिक आचरणको पालना मन्त्रालयका स्टाफले गर्नुपर्छ । अरुको लागि बसिदिने मात्रै होइन, आफ्नो आचरणलाई राष्ट्रको गरिमा र मर्यादा अनुकुल प्रदर्शन गर्न सक्नुपर्छ । त्यसमा ध्यान दिनेछौं ।

११. समय पालना गर्ने सन्दर्भमा कुनै सम्झौता गर्दिनँ ।

१२. अहिलेका मुख्य चारवटा राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालयलाई प्रभावकारी बनाइने छ । जसमा

  • राष्ट्रिय स्वाधिनताको रक्षा
  •  संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको कार्यन्वयन र रक्षा
  •  शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न वातावरण बनाउने
  •  अहिलेको राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक, आर्थिक रुपान्तरण र विकास तथा समृद्धिमा फड्को मार्ने

र अन्तिममा उपप्रधानमन्त्री श्रेष्ठले योगालाई पनि विश्वव्यापी बनाउन पहल गर्ने बताए । ‘मैले अहिले योगाको अभियान चलाइरहेको छु । गृहमन्त्रालयमा मैले पहिले १५ मिनेट ध्यान गर्नुस् अनि काम गर्नुस् भनेको छु’, उनले भने, ‘अब परराष्ट्र मन्त्रालयले पनि मन्त्रालयसँगै र सबै मिसनमा समेत ध्यान सुरु गर्नेछ ।’

उनले ध्यान नेपालको प्ररम्परागत चिन्तन र संस्कृति भएको भन्दै केही समयअघि संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमणमा आउँदा समेत आफूले यस विषयमा अवगत गराएको बताए । उनले ध्यानलाई अब संयुक्त राष्ट्र संघबाट बुद्धको कुनै तीथिसँग जोडेर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ घोषणा गर्न लगाउने समेत बताए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?