+
+

यस्तो रह्यो ग्याङस्टर फिल्म ‘रंगेली’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ११:४८

काठमाडौं । प्रदर्शन तयारीमा रहेको ग्याङस्टर-ड्रामा फिल्म ‘रंगेली’लाई काठमाडौंमा प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा बुधबार राति आयोजित प्रिमियरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई र मिरुना मगरसहित सेलिब्रेटी समेत सहभागी रहे ।

साउन्डको समस्या भएपछि प्रभावित बनेको प्रिमियर समारोह निकै ढिला सुरु भयो । मध्यरातसम्म चलेको प्रिमियरमा सहभागी हुन आगन्तुकको घुइँचो थियो ।

रुकुमपूर्वमा छायांकन भइरहेको ‘घरज्वाइँ’ रोकेर दयाहाङ र मिरुना काठमाडौं आइपुगेका थिए । स्क्रिनिङ पूर्वको मिडिया कुराकानीमा यी दुईले फिल्म उत्कृष्ट बनेको भन्दै निर्देशक र क्राफ्टको प्रशंसा गरे ।

अमेरिकी डायस्पोरामा नेपाली फिल्मको काम गर्दै आएका अर्जुन सुवेदीको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो । यो ग्याङस्टर ड्रामामा दयाहाङको शीर्ष भूमिका छ । परिवारको खुसीका लागि एक सामान्य पात्र कसरी ग्याङस्टर बन्छ भन्ने कथावस्तु वरपर फिल्म घुमेको छ ।

उक्त अवसरमा दयाहाङले भने, ‘हामी मंगलबार राति ११ बजेतिर मात्र रुकुमबाट हिंडेका थियौं । मिरुना दुई दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्या झेल्दै प्रिमियरकै लागि भनेर अनिंदो अवस्थामा आइपुगेका छौं । यो फिल्मबाट निकै आशा छ ।’

एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूलाई यसमा नयाँ चरित्रमा देख्ने भन्दै दयाहाङले आफूले सधैं पात्रको संवेदना र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए । ‘यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनका लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ,’ उनले भने ।

मिरुनाले फिल्म हेर्न थालेपछि निद्रा हराएको बताइन् । दयाहाङलाई भिन्न चरित्रमा देख्दा मजा आएको पनि उनले प्रतिक्रिया दिइन् । निर्देशक सुवेदीले आफूले फिल्ममा भन्न खोजेको कुरालाई अप्रत्यासित रुपमा प्रस्तुत गरेको बताए ।

यो फिल्ममा अभिनेता आर्यन सिग्देलको केमियो भूमिका छ । उनको यो छोटो भूमिका अनपेक्षित र अप्रत्यासित थियो, जसलाई निर्माण पक्षले लुकाइरहेको थियो ।

बुधबारदेखि नै फिल्मको एड्भान्स टिकट बिक्री भइसकेको छ । फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?