+
+

‘डिग्री माइला’को अग्रिम टिकट बिक्री सुरु, आक्रामक ओपनिङको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १६:५२

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुक्रबार प्रदर्शन तयारीमा छ । देशव्यापी रिलिज हुन दुई दिन बाँकी रहँदा एड्भान्स टिकट बिक्री खुला भएको छ ।

देशभरका हलले दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्मलाई उत्साहजनक शो दिएका छन् । क्यूएफएक्सले ६१ शो दिंदा आईएनआईले २१ शो दिएको छ । वान सिनेमाजले १६ शो दिएको छ ।

बिहीबार अपरान्हसम्म प्रारम्भिक शो संख्या १६० छ र यो संख्यामा वृद्धि हुने देखिन्छ । फिल्मको कुल शो संख्या २०० भन्दा माथि हुने देखिन्छ । जुन आफैंमा उत्साहजनक अवश्य हो । शो संख्या र हाइपलाई मूल्यांकन गर्दा फिल्मको ओपनिङ आक्रामक हुने निश्चित छ ।

शुक्रबार र शनिबार (वैशाख १) गते फिल्मको ओपनिङमा उछाल आउने अनुमान छ । ‘डिग्री माइला’को ओपनिङको प्रतिस्पर्धा बाँसुरी फिल्म्सकै अघिल्लो फिल्म ‘कबड्डी ४ ’सँग हुनेछ । जुन फिल्मको ओपनिङ २ करोड ९० लाख रुपैयाँ हाराहारीमा थियो ।

चलचित्र संघका महासचिव तथा आईएनआई हलका सञ्चालक सुरेन्द्र थापाले फिल्मले दुई दिनमा ४ करोडभन्दा माथिको कमाइ गर्न सक्ने प्रक्षेपण गरे । वितरक गोविन्द शाहीले ५ करोडको अनुमान गरे । जसले जे भनेपनि फिल्मको ओपनिङ बलियो हुने अनुमान छ ।

शुक्रबार बलिउड फिल्म ‘बडे मिया छोटे मिया’ रिलिज हुने टुंगो अहिलेसम्म छैन । जसको फाइदा चलिरहेका र रिलिज तयारीमा रहेका फिल्मको शो संख्या र कमाइमा स्पष्ट देखिनेछ ।

विदेशमा पनि आक्रामक ओपनिङको प्रक्षेपण

शुक्रबारदेखि नै अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई प्रमुख अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । सेभेन सिजनका रमेश ढकालका अनुसार मंगलबारदेखि मध्यपूर्वका यूएई, बहराइन र कतारका हलमा शो खुल्दैछ ।

अमेरिकामा ४० लोकेसनमा ७०० शो खुला भएको कम्पनीले जनाएको छ । अष्ट्रेलियामा पनि सबै राज्यमा एकसाथ रिलिज हुने जनाइएको छ । ‘कबड्डी ४’ कै तहमा ओपनिङ हुनसक्ने हाम्रो अनुमान छ,’ ढकालले भने । शैक्षिक बेरोजगारीको कथा पेश गर्ने यो फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ । यो फिल्मको रनटाइम २ घण्टा ३० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?