+
+

‘डिग्री माइला’को तीनदिने कमाइबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १४:०९
अमेरिकाको लस एन्जलसमा आयोजित स्क्रिनिङमा अभिनेता बुद्धि तामाङ

काठमाडौं । सुरुवाती तीन दिनमा ‘डिग्री माइला’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी ३ करोड ८२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

कार्यकारी निर्माता मणिराम पोखरेलले काठमाडौं उपत्यका र बाहिरका १४० हलबाट उक्त कमाइ भएको जनाए । फिल्मले विकडेजमा ४ करोड ग्रसको आँकडा पार गर्ने पोखरेलको भनाइ छ ।

कुल कलेक्सनमा ४५ प्रतिशत उपत्यकाबाहिर र ५५ प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको रहेको जनाइएको छ । ‘भ्यालीभन्दा बाहिर बढी शो छ । पूर्वका सहरमा राम्रो कमाइ छ,’ पोखरेलले भने ।

राम्रो कमाइ भएका पूर्वका सहरमा फिल्मको टोली प्रवर्द्धन अभियान लिएर जाँदैछ । ‘हामी पूर्वका दर्शकलाई धन्यवाद भन्न जाँदैछौं,’ पोखरेलले भने । विदेशमा समेत उत्कृष्ट कमाइ भइरहेको पोखरेलले बताए ।

अष्ट्रेलिया, युरोप र अमेरिकामा शो संख्यामा वृद्धि भएको र मंगलबारदेखि मध्यपूर्वमा एड्भान्स टिकट बिक्री सुरु हुने जनाइएको छ । यो फिल्मलाई विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

अमेरिकाको बोस्टनमा पहिलोपटक बक्स अफिसमा नेपाली फिल्म रिलिज भएको जनाइएको छ । अभिनेता बुद्धि तामाङ यतिबेला अमेरिका प्रवर्द्धनका लागि दौडधुपमा व्यस्त छन् । लस एन्जलसबाट सुरु भएको उनको अमेरिका दौडाहा न्युयोर्कमा आएर टुंगिनेछ । ‘एकदम राम्रो प्रतिक्रिया छ । रमाइलो लागिरहेको छ,’ अमेरिकामा रहेका तामाङले भने ।

रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राईले डिग्री माइला नामक चरित्र निर्वाह गरेका छन् । सोसल-ड्रामा जनरामा राखिएको यो फिल्मले शैक्षिक बेरोजगारीको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?