+

आईसीसी ‘प्लेयर अफ द मन्थ’ का लागि अभिषेक, शुभमन र राजा मनोनयनमा

२०८३ असोज  २० गते १२:२८ २०८३ असोज २० गते १२:२८

२० असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सेप्टेम्बर २०२६ का लागि पुरुषतर्फको ‘प्लेयर अफ द मन्थ’ अवार्डका लागि भारतका अभिषेक शर्मा र शुभमन गिल तथा जिम्बाबेका सिकन्दर रजालाई मनोनयनमा राखेको छ ।

अभिषेकले अफगानिस्तानविरुद्धको टी–२०आई शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दिल्लीमा भएको पहिलो खेलमा उनले ३२ बलमा ८२ रन बनाए । उनले २२ बलमै अर्धशतक पूरा गरेका थिए । भारतले १५७ रनको लक्ष्य ३८ बल बाँकी छँदै पूरा गर्दा अभिषेक प्लेयर अफ द म्याच बने ।

दोस्रो खेलमा १९ बलमा ३९ रन बनाएका अभिषेकले तेस्रो खेलमा ४५ बलमा १०८ रनको शतकीय इनिङ्स खेले । उनले ३० बलमै शतक पूरा गर्दै पूर्ण सदस्य राष्ट्रका खेलाडीमध्ये टी–२०आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाए ।

उनको १०८ रनको इनिङ्समा ११ छक्का थिए । भारतले पावरप्लेमा १०० रन बनाउँदा अभिषेकले सञ्जु सामसनसँग महत्वपूर्ण साझेदारी गरेका थिए । उनी शृंखलाको प्लेयर अफ द सिरिजसमेत बने ।

तीन खेलमा अभिषेकले ७६.३३ को औसतमा २२९ रन बनाए।

यस्तै जिम्बाबेका सिकन्दर रजाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा ब्याट र बल दुवैतर्फ प्रभावशाली प्रदर्शन गरे ।

पहिलो खेलमा जिम्बाबे चार विकेट गुमाएर दबाबमा रहेका बेला उनले ५७ रन बनाए । क्रेग एर्विनसँग ९८ रनको साझेदारी गर्दै उनले टोलीलाई लक्ष्यतर्फ अघि बढाएका थिए ।

दोस्रो खेलमा उनले ४५ बलमा ४५ रन बनाए । अन्तिम खेलमा भने उनले ७२ बलमा अविजित ८१ रन बनाएर जिम्बाबेको स्कोर २७१ रनसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले ।

बलिङतर्फ पनि उनले अन्तिम खेलमा ओलिभर पिक र शतक बनाएका जोस इङ्लिसको विकेट लिए ।

भारतका कप्तान तथा विश्व वरीयताका नम्बर एक एकदिवसीय ब्याटर शुभमन गिलले सेप्टेम्बरमा उत्कृष्ट प्रदर्शन गर्दै मनोनयनमा स्थान बनाएका हुन् ।

वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा उनले १०८ बलमा ११० रन बनाए । यो उनको एकदिवसीय करिअरको १०औं शतक थियो ।

गुवाहाटीमा भएको दोस्रो खेलमा भने गिलले कीर्तिमानी दोहोरो शतक बनाए । ४०६ रनको लक्ष्य पछ्याएको भारतले ४३.३ ओभरमै लक्ष्य पूरा गर्दा गिल १३३ बलमा २२३ रनमा अविजित रहे ।

उनको इनिङ्समा २६ चौका र आठ छक्का थिए । उनले ६२ बलमै शतक पूरा गरेका थिए भने ११७ बलमा दोहोरो शतक पूरा गरे ।

गिलको २२३ रन सफल एकदिवसीय रन पछ्याउने क्रममा बनेको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनेको छ । सेप्टेम्बरमा एक शतक र एक कीर्तिमानी दोहोरो शतकसहितको प्रदर्शनले उनलाई प्लेयर अफ द मन्थको बलियो दाबेदार बनाएको छ ।

आईसीसी आईसीसी प्लेयर अफ द मन्थ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय