+
+

कोशी ट्रफी : देव, सुभाष, वीर, दीपेशको राम्रो प्रदर्शन, पवन र हरिशंकर गोल्डेन डक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:२८

२४ फागुन, काठमाडौं । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा नेपालबाट खेलेका युवा ब्याटर देव खनाल, यू–१९ क्रिकेटका दुई स्पिनर सुभाष भण्डारी र दीपेश कँडेलले राम्रो प्रदर्शन गर्दा पवन सर्राफ भने गोल्डेन डक आउट भएका छन् ।

बुधबार लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।  लुम्बिनीले गण्डकीलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पार्‍यो ।

जितको लागि पाएको ९१ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीको जितमा देव खनालले २७ बलमा ३ चौका र २ छक्कासहित ३४, आकाश त्रिपाठी २९ र प्रज्वल थापा ८ रनमा आउट भए । विशाल विक्रम केसी १६ बलमा ९ रनमा नट आउट रहे ।

गण्डकीका सुभाष भण्डारीले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । सन्दीप पराजुलीले १ विकेट लिए ।

त्यसअघि बैजनाथपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी १७.१ ओभरमा ९० रनमा अल आउट भयो ।

नेपालबाट यू–१९ क्रिकेट खेली सकेका दीपक डुम्रेले ३० बलमा ३ चौकासहित २८, ईश्वर क्षेत्री १८ र समिर कंडेलले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका तीव्र गतिका बलर वीर मगरले ३.१ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । कृष्ण कार्की र निर्मल गुरुङले २–२ विकेट लिए । दुर्गेश गुप्ता र राहुल चौहानले १–१ विकेट लिए ।

त्यस्तै अर्को खेलमा मधेशले घरेलु टोली कोशीलाई ३ विकेटले हरायो । जितको लागि पाएको ११८ रनको लक्ष्य मधेशले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मधेशको जितमा मयन यादवले २८ बलमा ३ चौका र १ छक्कासहित २५, अरनिको यादव २७, अभिषेक तिवारी १८, विशाल शुश्लिङ १३, साहिल पटेल १७ रनको योगदान दिए ।

सिनियर टोलीबाट खेलेका पवन सरार्फ र कप्तान हरिशंकर शाह दुबै गोल्डेन डक आउट भए ।

कोशीका नेपालबाट यू-१९ क्रिकेट खेली सकेका दीपेश कँडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

फिर्दोस अन्सारी, भुपाल लुँइटेल र अंकित सुवेदीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोशी १९.४ ओभरमा ११७ रनमा अल आउट भयो ।

कोशीका ओपनर फिर्दोस अन्सारीले २२, अंकित सुवेदी १०, सुजन थपलिया १६, श्रवण यादव २३, दीपेश कँडेल २१ र भुपाल लुँइटेलले १५ रन बनाए ।

मधेशका रञ्जित कुमार र अभिषेक तिवारीले ३–३ विकेट लिए । राजेश यादव र हरिशंकर शाहले २–२ विकेट लिए ।

प्रतियोगिता समूह ए मा एपीएफ, आर्मी, मधेश, कोशी र कर्णाली छन् । समूह बी मा पुलिस, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?