+
+

अझ बलियो भएर आउने प्रितीको चाहना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन २५ गते १५:२४

२४ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्‍यो ।

फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बने पनि वाफ वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रिती राईले भविष्यको स्टार बन्ने संकेत देखाएकी छन् ।

उमेर समूहका लागि खेल्दै राष्ट्रिय टिमको यात्रा तय गरेकी प्रिती अहिले नेपाली सिनियर टिमकै महत्वपूर्ण सदस्य बनिसकेकी छिन् ।

वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डन विरुद्ध अग्रता लिइरहेको बेला प्रिती घाइते भइन् र उनी मैदान बाहिर रहेको अवस्थामा जोर्डनले बराबरी गोल फर्काएको थियो । घुँडाको चोटको कारण प्रिती फेरि मैदान फर्कन सकिनन् ।

‘हामीले राम्रो खेल्यौँ तर फाइनल जित्न सकेनौँ, अलि नराम्रो लाग्यो’,  घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी प्रितीले अनलाइनखबरसँग भनिन् । शल्यक्रियाका कारण उनी तीन महिना मैदानबाहिर रहनुपर्नेछ ।

त्यसपछि अझ बलियो भएर फर्कने उनको चाहना छ । नेपालले आगामी अक्टोबर-नोभेम्बरमा साफ वुमन्स च्याम्पियनसिप खेल्दैछ । त्यसअघि केही मैत्रीपूर्ण खेलहरु पनि खेल्ने तालिका छ ।

लास्ट मिनेट गोल

वाफमा प्रितीले चर्चा पाउनुको अर्को कारण उनले सेमिफाइनलमा गरेको गोल पनि थियो । लेबनानविरुद्ध सेमिफाइनलमा इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा प्रितीले गोल गर्दै नेपाललाई जिताइन् ।

एक गोलले पछि परेको अवस्थामा सावित्रा भण्डारीले नेपालको लागि बराबरी गोल फर्काएकी थिइन् र प्रितीले अन्तिम समयमा गरेको त्यही गोलले नै नेपाल विजयी हुँदै फाइनल पुगेको हो ।

विमला चौधरीको कर्नरमा लेवनानी खेलाडीले बक्समा हेडमार्फत बल क्लियर गरेका थिए । तर हेड गरेको बल बक्स आहिर आइपुग्यो र एक बाउन्स भएर प्रितीको खुट्टा नजिक आएपछि उनले लो भली प्रहारमा सिधै गोल गरिन् ।

‘त्यो बेला म पछाडि बसेको थिएँ । रिबाउन्ड बल आयो भने हान्छु नभए बल डिफेन्ड गर्छु भन्ने सोच थियो’, प्रितीले गोल गर्दाको क्षणबारे सुनाइन्, ‘बल रिबाउन्ड भएर आयो । टाइमिङ पनि मिल्यो अवसर थियो । मैले हानेँ गोल भयो ।’

नेपालको सिनियर टिमको लागि प्रितीको यो केबल दोस्रो गोल हो । मिडफिल्डमा खेल्ने भएकोले गोल गर्ने भन्दा पनि फरवार्डलाई बल सप्लाई गर्ने र मिडफिल्डमा बल होल्ड गर्ने उनको मुख्य काम हो ।

अर्जेन्टिनाका स्टार लिओनल मेसी र स्पानिस मिडफिल्डर जाभीको जस्तै गोल गरेको भन्दै होचो कदकी प्रितीको गोलको भिडियो क्लिप सबैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

 १६ वर्षमै डेब्यू

प्रितीले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् । २०७८ भदौमा नेपालमै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा सिनियर टिममा डेब्यू गरेकी उनले त्यही खेलमा डेब्यू गोल पनि गरिन् ।

यस अर्थमा राष्ट्रिय टिममा उनको डेब्यू शानदार रह्यो । अझ उनलाई विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले डेब्यू गराएका थिए ।

त्यही खेलमा सविता राना, सिर्जना सिंह र रश्मिकुमारी घिसिङले डेब्यू गरेका थिए । पहिलो रोजाईँमा खेल्ने अवसर पाएका प्रिती र सविताले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अनि खेलमा प्रिती नै ‘प्लेयर अफ द म्याच’ भइन्  ।

त्यसअघि नै उनी २०१९ मा विराटनगरमा भएको साफ महिला च्याम्पियनसिप र नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि क्याम्पमा परेका थिए । तर अन्तिम टिममा पर्न भने असफल भइन् ।

राष्ट्रिय टिममा खेल्न थालेको ३ वर्षमै यति धेरै चर्चा भइसकेकी प्रितीले आफूले लामो समयदेखि गरेको मिहिनेत अहिले देखिएको बताइन् । ‘मैले राष्ट्रिय टिममा खेलेको थोरै समय भए पनि यसका लागि लामो समयदेखि मिहिनेत गरेकी थिएँ । त्यसैको नतिजा देखिँदैछ ।’

त्यसअघि उनले नेपालको यू-१५ टिमबाट खेलेकी थिइन् । साफ यू-१५ वुमन्स च्याम्पियनसिपमा नेपालको कप्तानी पनि गरेकी थिइन् ।

१६ वर्षमै राष्ट्रिय टिममा डेब्यू गरेपछि उनले साफ यू-१८ र साफ यू-२० मा नेपालको कप्तानी गरिसकेकी थिइन् । उमेर समूहमा सबै टिमबाट खेलिसकेकी उनी घरेलु फुटबल एपीएफ क्लबबाट खेल्दै आएकी छन् ।

अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने प्रितीको उचाइ ४ फिट १० इन्च छ । तर मैदानमा उनको प्रदर्शन र खेल कलाको उचाइ भने अग्लो छ । उनको ‘फुटवर्क’ र ‘ड्रिब्लिङ’ राम्रो छ ।

उनले डेब्यू तथा नेपालका लागि एसियन कप छनोट, साफ च्याम्पियनसिप, एसियन गेम्स र वाफ वुमन्स च्याम्पियनसिप खेलिसकेकी छन् ।

पुर्ख्यौली घर सोलुखुम्बी भए पनि प्रिती हाल काठमाडौंको कपनमा बस्दै आएकी छन् । ६-७ वर्षको उमेरदेखि नै उनले फुटबल खेल्न थालेकी हुन् । शारीरिक रुपमा होचो प्रितीलाई उनको परिवारले फिजिकल फिटनेसका लागि खेल्न पठाएका थिए ।

तर उनी यसैमा पोख्त भइन् र नेपालकै लागि प्रतिनिधित्व गर्न पुगिन् । उनले फुटबल आउनुअ३ फुटसल पनि खेलिन् । उनी ११ वर्षकै हुँदा नेपाल युथ प्रोग्राम क्लबमा सामेल हुँदै प्रशिक्षण गरेकी थिइन् र त्यसपछि फुटबल खेललाई निरन्तरता दिइन् ।

नेपालको टिममा पर्नअघि उनले कोकाकोला कप अन्तरविद्यालय फुटबल खेलेकी थिइन् । त्यसपछि उनले काठमाडौं जिल्लाबाट उपमेयर कप खेलिन् । अनी घरेलु फुटबलको बलियो टोली एपीएफमा आबद्ध हुँदै राष्ट्रिय महिला लिगको उपाधि समेत जितिसकिन् ।

वाफ वुमन्स च्याम्पियनसिपअघि प्रितीले भारतमा भइरहेको इन्डियन वुमन्स लिगमा किकस्टार्सबाट खेलेकी थिइन् । तर वाफमा घाइते भएपछि उनले इन्डियन वुमन्स लिगको बाँकी खेल गुमाउने भएकी छन् । उनीसँगै भारतमा खेलेकी अर्का मिडफिल्डर दीपा शाही भने नेपाल फर्केर फेरि भारतमा लिग खेल्न गइसकेकी छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?