+
+

यो साता उकालो लाग्यो सेयर बजार, साढे ५ प्रतिशत बढ्यो हाइड्रोपावर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १६:४३

२५ फागुन, काठमाडौं । अघिल्ला दुई साता घटेको सेयर बजारले यो साता भने उकालो लय समाएको छ । गत साता १.६४ प्रतिशत, अघिल्लो साता २.७६ प्रतिशत घटेको बजार परिसूचक यो साता २.९४ प्रतिशत उक्लियो ।

खासगरी सत्ता समीकरणको असर पनि बजारमा परेको छ । गत साता १९७२ अंकमा रहेको नेप्से यो साता ५८ ले बढेर २०३० अंकमा पुगेको छ । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.७८ अंक झरेको बजार सोमबार ११७ अंक बढ्यो । तीन पटक सर्किट ब्रेक लागेर सो दिन नेप्से २०७८ अंकमा पुगे पनि मंगलबार फेरि ७०.३१ अंक घटेर २००७ मा अडियो । बुधबार ९.३३ र बिहीबार १३.५१ अंक बढेपछि यो साता २०३० मा रहेर बन्द भयो ।

सेयर बजारको परिसूचक मात्रै उक्लिएको छैन । निरन्तरजसो ओरालो लागेको बैंकिङ सूचकले समेत यो साता बढ्दो गति लिएको छ । यो साताको पहिलो दिन आइतबार ४४ महिनाकै न्यूनतम विन्दु १०५४ अंकमा झरेको बैंकिङ समूह न्यूनतम विन्दुबाट बिहीबारसम्म ३.२२ प्रतिशत उक्लिसकेको छ । पुँजीकरणका आधारमा बैंकिङ बजारको सबैभन्दा शक्तिशाली समूह हो ।

आइतबार २ अर्ब ८ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ४ मिनेट मात्रै कारोबार भएपछि ३७ करोड ५२ लाखमा खुम्चियो । मंगलबार ४ अर्ब ११ करोड, बुधबार ३ अर्ब ४५ करोड र बिहीबार ३ अर्ब २० करोडको कारोबार भयो ।

कारोबार रकमका आधारमा यो साता सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, मोलुङ हाइड्रोपावर, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गोर्खाज फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

हाइड्रोपावरमा साढे ५ प्रतिशतको वृद्धि
यो साता हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै ५.५१ प्रतिशत बढ्यो । अघिल्ला दुई साता यहीं समूह उच्च दरले घटेका कारण यो साता यो समूह नै उच्च दरमा बढ्यो । अरु क्षेत्रका तुलनामा हाइड्रोपावर समूहको सूचक बढी चलायमान देखिन्छ । गत साता हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.०५ प्रतिशत घटेको थियो ।

अघिल्लो साता पनि यो समूह सबैभन्दा धेरै ५.१७ प्रतिशतले घटेको थियो । घट्दा पनि धेरै दरले घट्ने र बढ्दा पनि धेरै दरले बढ्ने समूहमा रुपमा हाइड्रोपावर चिनिँदै आएको छ । पुँजीगत लाभ लिनका लागि कारोबारीहरु सक्रिय हुन्छन्, यो समूह धेरै घटिसकेपछि फेरि यहीं समूहमा आकर्षण देखिनु स्वभाविक रहेको लगानीकर्ताको भनाइ छ ।

बैंकहरुको ब्याजदर घट्दै जाँदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च पनि घट्न मद्दत पुग्छ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा नउठ्ने समस्या, उत्पादन समूहका कम्पनीमा उधारो रकम उठाउने जस्ता समस्या रहेका बेला हाइड्रोपावर कम्पनीहरुले भने त्यस्ता समस्या भोग्नु पर्दैन ।

मूल्य बढेका धेरै कम्पनी नोक्सानीमा 
यो साता ७ कम्पनीको मूल्य १३ प्रतिशतभन्दा धेरै बढ्यो । १३ प्रतिशतभन्दा धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ कम्पनी नोक्सानीमा छन् । सीवाईसी लघुवित्त, स्वरोजगार लघुवित्त र पिपुल्स पावरबाहेक अरु ४ कम्पनी नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स, बलेफी हाइड्रोपावर र घोराही सिमेन्ट चालु आर्थिक वर्षको ६ महिनामा नोक्सानीमा छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ जम्मा ८७ रुपैयाँ ९३ पैसा छ । सोही अवधिमा सोनापुर सिमेन्ट १४ करोड ७८ लाख र घोराही सिमेन्ट ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा छ । बलेफी हाइड्रोपावर १६ करोड ७२ लाख नोक्सानीमा छ ।

यी कम्पनीको वित्तीय स्थितिभन्दा सेयर आपूर्तिको संख्यालाई ख्याल गर्दै छोटो अवधिमा धेरै पुँजीगत लाभ लिने उद्देश्यले कारोबारीले यी कम्पनीको मूल्य बढाएको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?