+
+

देव खनालको शानदार शतकमा लुम्बिनीको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १८:४४

२६ फागुन, काठमाडौं । कप्तान देव खनालको शानदार शतकमा लुम्बिनी प्रदेशले कोशी प्रदेश ट्रफी टी-२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ७ विकेटले हराएको छ । लुम्बिनीको यो लगातार तेस्रो जित हो ।

१५४ रनको मध्यम लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा देव खनालले ५१ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनको अविजित शतकीय इनिङ खेले । विशाल विक्रम केसी २४ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । बागमतीका विपिन आचार्य, गौतम केसी र कृर्जन गुरुङले १–१ विकेट लिए ।

बैजनाथपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । बागमती प्रदेशका रित गौतमले ३३ बलमा ४ चौका र १ छक्कासहित ४३, ईशान पाण्डे २१, आशुतोष घिरैया २८ र उत्तम थापामगर २५ रनमा आउट भए । लुम्बिनीका निर्मल गुरुङ र कृष्ण कार्कीले २–२ विकेट लिए । राहुल चौहानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै अर्को खेलमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई ५१ रनले हराएको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । कर्णालीका अर्जुन घर्तीले ३४ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए । विपिन रावल ३६ बलमा २ चौका र ३ छक्कासहित ४२ र रविन्द्रजंग शाही ३५ रन बनाए ।

एपीएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर राउटेला र इर्शद अहमदले १–१ विकेट लिए । जितको लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ६ विकेट गुमाउँदै ११४ रन बनायो । अमर राउटेलाले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३७ र हिमान्शु दत्तले २५ रन बनाए । कर्णालीका दीपेन्द्र रावत र रवीन्द्र शाहीले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?