+
+

राष्ट्रिय सभा अध्यक्षका लागि नारायण दाहालको दौडधुप

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १३:४१
माओवादी नेता नारायणप्रसाद दाहाल ।

२७ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् ।

माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू झक्कुप्रसाद सुवेदी र नारायणप्रसाद दाहालले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् ।

उम्मेदवार चयन गर्नका लागि माओवादी केन्द्रले आइतबार साँझ ५ बजे पदाधिकारी बैठक बोलाएको छ । त्यसअघि सुवेदी र दाहालले आफू राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुनपर्ने भन्दै पदाधिकारीस्तरका नेताहरूसँग भेटघाट बाक्लो बनाएका छन् ।

माओवादीका एकजना पदाधिकारीका अनुसार सुवेदी भन्दा दाहालले तयारीलाई तीव्र बनाएका छन् ।

‘अहिलेसम्म झक्कु सुवेदी र नारायणप्रसाद दाहालले आफू हुनुपर्छ भनेर भन्नुभएको छ । दाहाल कमरेडले पदाधिकारी सबैसँग भेटेर आफू हुनुपर्ने भनिरहनुभएको छ’, ती पदाधिकारीले भने, ‘पदाधिकारी बैठक बस्दै छ । अध्यक्ष कमरेडले के प्रस्ताव गर्नुहुन्छ त्यहीअनुसार छलफल अघि बढ्छ ।’

माओवादी नेता झक्कुप्रसाद सुवेदी ।

माओवादी नेताहरूका अनुसार सुवेदी र दाहाल बाहेक राष्ट्रियसभाकी वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र सुरेश आले मगर पनि आकांक्षीका रूपमा हेरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय स्रोतका अनुसार नारायण दाहालले प्रचण्ड समक्षसमेत राष्ट्रियसभा अध्यक्षका लागि आफ्नो चाहना रहेको सन्देश पुर्‍ याएका छन् ।

‘राष्ट्रिय सभामा रहेका हरेक सांसदलाई अध्यक्ष हुने चाहना हुन्छ । त्यस अन्तर्गत उहाँ (नारायण दाहाल) को पनि चाहना रहेको भनी नेताहरुले कुरा ल्याउनु भएको छ’, प्रचण्ड निकट एक नेताले भने, ‘उहाँ(नारायण दाहाल) आफैंले पनि कुरा गर्नुभएको छ ।’

नाताले प्रधानमन्त्री प्रचण्डका भाइ समेत रहेका दाहाल २५ चैत २०७९ मा तत्कालीन राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित भएका थिए ।

राष्ट्रियसभामा उनको अवधि ४ वर्ष बाँकी छ । सुवेदी भने ११ माघ २०८० मा निर्वाचित भएकाले उनको कार्यकाल ६ वर्ष छ ।

दाहाल स्वयंले पनि यस विषयमा पार्टीका नेताहरूलाई जानकारी गराइसकेको बताए । ‘मैले उम्मेदवार हुन्छु भनेर सबै नेताहरूलाई भनेको छु । मेरो तर्फबाट त आफ्नो कुरा राख्ने मात्रै हो’, दाहालले भने, ‘कसलाई बनाउने भनेर साँझ ५ बजे पदाधिकारी बस्दै हुनुहुन्छ, उहाँहरूले टुंग्याउनु होला ।’

उनले पार्टीका नेताहरूले आफूलाई राष्ट्रिय सभा अध्यक्ष हुन सुझाव दिइरहेको भन्दै अवसर पाए नेतृत्व गर्न तयार रहेको बताए ।

दाहाल यसअघि १६ फागुनमा श्रीमतीको उपचारका लागि भारत गएका थिए । यता राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएपछि उनी केही दिनअघि काठमाडौँ फर्किएका हुन् ।

दाहालले अध्यक्ष प्रचण्डको नजिक भएकै कारण पटकपटक अवसर पाइरहेको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ । यसअघि माओवादी केन्द्रले नयाँ जिम्मेवारी तोक्दा दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णय उपमहासचिव जनार्दन शर्मालगायतको विरोधका कारण रोकिएको थियो । अहिले पुनः उनलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने तय भएपछि पार्टीभित्र विरोध सुरु भएको छ ।

अर्का आकांक्षी सुवेदीले पार्टीले अवसर दिए राष्ट्रियसभाको नेतृत्व गर्न तयार रहे पनि अहिलेसम्म आफूले यस विषयमा कुनै जानकारी नपाएको अनलाइनखबरलाई बताए ।

‘पार्टीले अवसर दिए राष्ट्रियसभाको नेतृत्व गर्नसक्छु । तर अहिलेसम्म नेतृत्वले औपचारिक आश्वासन दिएको छैन’, सुवेदीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?