+
+

बझाङको रुझान : एमालेको निरन्तर अग्रता, दबाबमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २३:१५
कांग्रेस उम्मेदवार अभिषेक सिंह, एमाले उम्मेदवार दमन भण्डारी र माओवादी उम्मेदवार जनक बुढा ।

१६ वैशाख, बझाङ । सुदूरपश्चिम प्रदेशसभा सदस्यका लगि बझाङ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले निरन्तर अग्रता लिएका छन् । आइतबार दिउँसोबाट सुरु भएको मत गणनामा भण्डारीले यो समाचार तयार पार्दासम्म उनले ६०० भन्दा बढी मतको अग्रता लिएका हुन् ।

सदरमुकाम चैनपुरस्थित जिल्लम निर्वाचन अधिकृतको कार्यालयमा छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु भएको थियो । खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका वडा नम्बर ९ को मतगणना सम्पन्न हुँदा एमालेका दमन भण्डारीले ३ हजार ७४८, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार १ सय ८२, माओवादी केन्द्रका जनक बुढाले २ हजार ६, समाजवादीका दिलबहादुर सिंहले १ हजार १४०, राप्रपाका किशोर खड्काले ८५ मत पाएका छन् ।

गणना भएका १० हजार ४८९ मतमध्ये ३ हजार ७४८ भण्डारीले पाउँदा कांग्रेसका सिंहले ३ हजार १ सय ८२ मत मात्र पाए । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसबीचको मतान्तार ५६६ मतको रहेको छ ।

४ मंसिर २०७९ को आम चुनावमा कांग्रेस–माओवादी र प्रदेशसभा निर्वाचनमा कांग्रेस–माओवादी र एकीकृत समाजवादी मिलेर लडेका थिए । त्यसको सिधा असर एमालेलाई परेको थियो । तर पटक एक्लाएक्लै लड्दा यहाँ एमालेलाई सहज भएको देखिन्छ ।

कांग्रेस नेताहरु यो पालिकामा एमाले उम्मेदवारले अरु दलले भन्दा बढी मत पाउनु अग्रता स्वाभाविक भएको बताउँछन् । ‘तर हामीले सोचेभन्दा अलि बढी मत एमालेलाई गएको देखिन्छ’ कांग्रेस नेता ज्ञानबहादुर बोहराले सुनाए ।

कतिसम्म भने माओवादीका उम्मेदवार बुढाले समेत कांग्रेस उम्मेदवार सिंहलाई उछिनेका थिए । छबिसपाथिभेरा गाउँपालिका उसै पनि माओवादी उम्मेदवार बुढाको गृह पालिका हो । गृह पालिकामा यत्तिको मत खस्नुलाई माओवादीले सामान्य रुपमा लिएको माओवादी नेता देवराज रेग्मीले बताए ।

थलरा गाउँपालिकाको एउटा मात्र वडा, वडा नम्बर ९ मा पनि भण्डारीले मत थपे । कुल मतमध्ये एमाले उम्मेदवार भण्डारीले २८० पाउँदा कांग्रेसका सिंहले १६१ मात्र पाए । यसले एमालेको अग्रतालाई अझ मदत गरेको छ ।

खप्तडछान्ना गाउँपालिकामा प्रवेश गरेपछि कांग्रेस उम्मेदवार सिंहले माओवादीको बुढालाई उछिनेका छन् भने एमालेका भण्डारीसँग मत अन्तर केही कम गरेका छन् ।

तर यहाँ पाएको मतसँग कांग्रेस नेताहरु सन्तुुष्ट छैन । यो पालिकाको वडा नम्बर १ देखि ७ सम्म मतगणना गर्दा कांग्रेसले एमालेलेभन्दा २३३ मत बढी पाएको छ ।

४०० सम्म बढी मत पाउने अपेक्षा गरिएपनि त्यसो नभएको कांग्रेस नेता तिलक खड्का बताउँछन् । उनले भने, ‘हामीले खप्तडछान्नामा एमालेभन्दा २५० देखि ४०० बढी मत खस्यो होला भन्ने अनुमान गरेका थियौं तर सबै वडामा कम-कम खसेर जम्मा २३३ मत मात्र बढ पायौं । यसले गर्दा एमालेको अग्रता कायमै रह्यो । ’

अझै जयपृथ्वी नगरपालिकासहित सुर्मा, साइपाल, मष्टा, तल्कोट गाउँपालिकामा मतगणना हुन बाँकी छ । यसमध्ये एमालेले तल्कोट र मष्टाबाट केही आशा राखेको छ भने कांग्रेसले जयपृथ्वी नगरपालिकासहित सुर्मा र साइपालको आशा राखेको छ । एमालेले जित निश्चित हुन तल्कोट गाउँपालिकाबाट करिब एक हजार मत ल्याउन आवश्यक ठानेको छ ।

कांग्रेसले जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतमा अलि बढी आश गरेको छ । मष्टाका पालिका अध्यक्ष समेत रहेका ज्ञानबहादुर बोहरा भन्छन्, ‘त्यहाँको मत गणना गर्नुअघि एमालेले धेरै ठूलो अग्रता बनायो भने त हामीलाई गाह्रो पर्ला, नभए अहिले यसै भन्न सकिन्नँ ।’

तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङ १ (क) रिक्त भएको थियो । एमालेले उम्मेदवार फेरेर जिल्ला अध्यक्ष भण्डारीलाई टिकट दिँदा कांग्रेसले सिंहका छोरा अभिषेकलाई नै टिकट दियो ।

डेढ वर्षअघि भएको स्थानीय चुनावमा उनी वडाध्यक्षमा नै पराजित भएका थिए । तर उनले गत असारमा भएको सवारी दुर्घटनामा आमा बुबा दुबै गुमाएका थिए । सान्त्वना मत पनि आउने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको जोडबलमा उनलाई उम्मेदवार बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?