+
+

कोशी प्रदेशमा रविलाई रोक्ने हर्क साम्पाङको संकेत

सइन्द्र राई सइन्द्र राई
२०८१ वैशाख १८ गते २२:१४

१८ वैशाख, काठमाडौं । इलाम–२ मा सम्पन्न प्रतिनिधिसभा उपचुनाव जितेको नेकपा एमालेले मंगलबार इलाम बजार चोकमा सभा गरेरै विजयोत्सवसहित मतदातालाई धन्यवाद दिएको छ । सुहाङ नेम्वाङले चुनाव जितेपछि सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली आफैं इलाम पुगेका थिए ।

उपचुनावका अरु प्रतिस्पर्धी दल र उम्मेदवारले पनि मतदातालाई धन्यवाद दिएका छन् । निकटतम प्रतिद्वन्द्वी बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सामाजिक सञ्जालमार्फत् विजेतालाई बधाइ दिँदै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपचुनावका उम्मेदवार मिलन लिम्बुले पनि पराजय स्वीकार्दै मतदातालाई धन्यवाद दिइसकेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठूलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर रास्वपालाई दोब्बर बढी अन्तरले पछाडि पार्दै तेस्रो स्थानमा मत पाएका उम्मेदवार डकेन्द्र थेगिमले मंगलबार रातिसम्म कुनै सार्वजनिक माध्यमबाट प्रतिक्रिया जनाएका छैनन् । पहिचान पक्षधरहरुका तर्फबाट साझा उम्मेदवार बनेका थेगिमले ११ हजार ४५७ मत पाउँदा आक्रामक प्रचारसहित चुनावमा होमिएको रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत मात्र पाएका छन् ।

यसको अर्थ थेगिमका तर्फबाट मतदातालाई धन्यवाद सन्देश नगएको भने होइन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मतदातालाई धन्यवाद दिएका छन् । ‘मुढा चिह्नमा स्वतन्त्रलाई मत दिनु हुने सबैलाई हार्दिक धन्यवाद ! लोकतान्त्रिक अभ्यासमा भाग लिने अन्य सबै मतदातालाई धन्यवाद ! जय लोकतन्त्र !’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

धरानमै रहेका मेयर साम्पाङले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै इलाम–२ को उपचुनावमा पाएको मतलाई जित नै सम्झने बताएका छन् । ‘म त आफूलाई जितेको सम्झन्छु, यो सम्मानजनक मत हो’, उनले भनेका छन् । उपचुनावको उम्मेदवारी दर्ता, प्रचार अवधि, मतदान र मतगणनासम्मका गतिविधि हेर्दा मेयर साम्पाङको यस्तो अभिव्यक्तिलाई संभवतः मतदाताले पनि थेगिमकै प्रतिनिधित्वका रुपमा सम्झेको हुनुपर्छ ।

किनकि थेगिमको उम्मेदवारीलाई आम रुपमा प्रचार गर्न मेयर साम्पाङले गरेको मेहनत हेर्दा उपचुनावमा आफैंले मत पाएजस्तो अभिव्यक्ति दिनु स्वभाविक देखिन्छ ।

मेयर साम्पाङले इलाम–२ मा पाएको मतको विश्लेषण समेत सुनाए । ‘यो देशको तेस्रो ठूलो शक्ति बनाउन सक्ने रहेछु भन्ने लाग्यो । हर्क साम्पाङ तेस्रो ठूलो शक्ति हो’, पत्रकारहरुसँग उनले भने, ‘मेरै उम्मेदवारी भए त लडाइन्थ्यो नि ।’

उनले चुनाव जित्ने एमाले र निकटतम प्रतिद्वन्द्वी कांग्रेसप्रति तुलनात्मक कम आक्रोश पोखे । जबकी २७ हजार ७७२ मत ल्याएर सुहाङले चुनाव जित्दा कांग्रेसका खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

मतपरिणामलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा स्वीकार्नुपर्ने निष्कर्षसहित चुनाव जितेका सुहाङ नेम्वाङलाई सहयोग गरेर जानुपर्ने उनले बताए । तर रास्वपालाई चाहिँ सच्चिन सुझाव दिन समेत छुटाएनन् । ‘धेरै गालीगलोज नगर्नुस्, मेरो गालीगलौज धेरै नगर्नुहोस्’, उनको सुझाव थियो ।

उद्देश्य रास्वपा रोक्ने

गैरदलीय उम्मेदवारी दिएर धरानको मेयर जितेपछि सार्वजनिक परिचय बनाएका साम्पाङको बिगत रास्वपाविरुद्ध आक्रामक देखिन्छ । यो उपचुनावलाई पनि उनले रास्वपा रोक्नसक्ने सन्देश दिन उपयोग गरेको बुझ्न सकिन्छ ।

उपचुनाव हुने सूचना सार्वजनिक भएसँगै उनले आफ्नो समर्थन रहने उम्मेदवार खोज्न थालेका थिए । सुरुमा मिलन लिम्बुलाई नै उम्मेदवार बनाउने मनोविज्ञानमा थिए । स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका मिलनलाई भेटेका पनि थिए ।

मंगलबार पत्रकारहरुसँग भएको भेटमा उनले मिलनलाई नै उम्मेदवार बनाउनेबारे सोचेको स्वीकारे । ‘मैलै होल्डमा राख्दै थिएँ’, पत्रकारहरुको प्रश्नमा उनले यति भने ।

तर मिलनलाई रास्वपाले आफ्नो उम्मेदवार बनायो । यसपछि साम्पाङले पहिचान पक्षधरहरुका तर्फबाट अगाडि सारिएका थेगिमलाई आफ्नो उम्मेदवार भनेर चिनाए । थेगिमलाई पहिले ४१ वटा जातीय तथा सामाजिक संस्थाले साझा उम्मेदवार स्वीकारिसकेका थिए ।

प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तष्टहरुको नेतृत्व गरिरहेका थेगिम उम्मेदवार बन्दा मत आउने आकलन गरेरै मेयर साम्पाङले समर्थन गरेको बुझ्न गाह्रो पर्दैन । थेगिमले पनि मेयर साम्पाङलाई नेता स्वीकारे ।

यसपछि ठूला सभाहरुमा साम्पाङलाई प्रमुख अतिथि बनाएर थेगिमको चुनावी प्रचार भयो । गत १२ पुसमा आफ्नो कार्यकक्षमा यलम्बरको तस्वीर राखेर पहिचान पक्षधरको मन जितेकाले पनि मेयर साम्पाङलाई उनीहरुले नेता स्वीकारेका थिए ।

मेयर साम्पाङले भने इलाम–२ को उपचुनावमा एमाले–कांग्रेस जस्ता ठूला शक्तिभन्दा बढी रास्वपाप्रति आक्रोश पोखेका थिए । उनको अधिकांश भाषण रास्वपाप्रति केन्द्रित रह्यो । कतिसम्म भने रास्वपाका उम्मेदवार मिलनले समेत थेगिमलाई मत दिनुपर्ने बताउँथे । उनी भन्थे, रवि लामिछानेले मलाई राजनीतिक गुरु भन्छन्, त्यसो भनेपछि मिलनले थेगिमलाई भोट दिनु परेन !

सुहाङको चुनावी अभियानभर खटिएका एमालेका एक नेता त हर्क साम्पाङकै कारण रास्वपाको धेरै चिन्ता नलिएको बताउँछन् । ‘रास्वपाको चुनावी आधार खासै बलियो थिएन । त्यसमाथि हर्क साम्पाङले प्रमुख प्रतिस्पर्धी मानेर भाषण गरेपछि हामीले धेरै वास्ता गरेनौं’, ती नेता भन्छन् ।

अन्तिम मतपरिणाम आएपछि पत्रकारहरुसँग मेयर साम्पाङले दिएको अभिव्यक्ति सुन्दा पनि उनको मुख्य उद्देश्य नै रास्वपा रोक्नु रहेको प्रष्ट हुन्छ । किनकि उनले बारम्बार आफू तेस्रो शक्ति बनेको सन्तोष प्रकट गरेका छन् । ‘अहिले नै पनि तेस्रो ठूलो शक्ति रहेछ भन्ने सन्देश गयो । आगामी दिनमा एकताबद्ध भएर जाँदा सफल भइन्छ’, उनको निष्कर्ष छ ।

उपचुनावको नतिजालाई सामान्यीकरण गरेर आफूलाई तेस्रो राजनीतिक शक्ति भन्नुमा पनि रास्वपा लक्षित निष्कर्ष रहेकै पुष्टि हुन्छ । किनकि २०७९ को आमचुनावमा अप्रत्यासित मत पाएको रास्वपा कोशी प्रदेशमा पनि माओवादीसँग तेस्रो शक्तिको समान हैसियतमा छ ।

समानुपातिकतर्फ देशभर ११ लाख ३० हजार ३४४ मत सहित चौथो शक्ति बनेको रास्वपाले कोशी प्रदेशबाट २ लाख १४ हजार ८१९ मत पाएको छ । प्रत्यक्षतर्फ पनि रास्वपाका उम्मेदवारहरु धेरै ठाउँ सम्मानजनक मतसहित तेस्रो भएका थिए । संखुवासभा, इलाम–२, सुनसरी–३, झापा–१, ३, ४ र ५, मोरङ–१, २ र ६ निर्वाचन क्षेत्र गरी १० क्षेत्रमा रास्वपाका उम्मेदवारले तेस्रो धेरै मत ल्याएका थिए ।

यही मतका आधारमा रास्वपा रसभापति लामिछानेले इलाम २ को उपचुनावबाट कोशीमा जितको यात्रा थाल्न चाहन्थ्यो । त्यसका निम्ति लामिछाने आफैं इलाम–२ का ६ वटै पालिका घुमेका थिए भने तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले चुनावी क्षेत्रको कमाण्ड सम्हालेका थिए । संघीय सरकारका मन्त्री, सांसद र रास्वपाका नेताहरुको इलाममा भीड नै लागेको थियो । देशका अरु क्षेत्रका कार्यकर्ता/समर्थक समेत इलाम बोलाइएको थियो ।

रास्वपा सभापति लामिछाने सहितका नेताहरुको काउण्टरमा धरानका मेयर साम्पाङ पनि पटकपटक इलाम पुगेका थिए । माङ्सेबुङ, चुलाचुली, इलामबजार र पञ्चमीको सभामा प्रमुख अतिथि बनेरै मेयर साम्पाङले सम्बोधन गरेका थिए । माङ्सेबुङमा श्रमदान गरेको भिडियो बनाएर सार्वजनिक प्रचार समेत गरिएको थियो ।

नभन्दै सार्वजनिक सन्देश जानेगरी नै थेगिमले मत पनि पाए । ‘मतकै मात्र कुरा गर्ने हो भने पनि आजका मितिसम्मको कुनै पनि चुनावमा विशुद्ध पहिचानवादीले यति धेरै मत ल्याएको थिएन..’, कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सामाजिक सञ्जालमै लेखेका छन् ।

साम्पाङले रास्वपालाई समेत रोक्ने प्रयास थालेको भने आमचुनावबाटै हो । २०७९ मंसिरको आमचुनावमा कोशी प्रदेशमै रास्वपाको बलियो मत सुनसरी–१ मा आएको थियो । अधिकांश भूगोल धरान उपमहानगर पर्ने यो क्षेत्रमा रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार थिइन् ।

तर एमालेको समेत समर्थन पाएका जसपाका अशोक कुमार राईसँग उनी ४५३ मतको झिनोले अन्तरले पराजित भइन् । राईले १७ हजार ५९ मत पाएर जित्दा १६ हजार ६०६ मत सहित सरिन निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् ।

त्यो चुनावमा साम्पाङले सरिनलाई साथ दिएको भए जित पक्का थियो । तर साम्पाङका तर्फबाट तर्कबहादुर मगर उम्मेदवार बने । पानीको जार चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका मगरले ३ हजार ८१८ मत पाएका थिए ।

रास्वपा सभापति लामिछानेले साथ माग्दासमेत अलग्गै उम्मेदवार बनाउनुमा धरानका मेयर साम्पाङले अर्को चुनावपछि राजनीतिक दल खोल्न सक्ने अनुमान त्यसै बेला गरिएको थियो । कोशीमा पहिचानको आन्दोलन चर्किएपछि त मेयर साम्पाङले खुलेरै पक्षधरता देखाइरहेका छन् । आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राखेपछि उनले पहिचानवादीहरुको विश्वास समेत जितेका छन् ।

केही समय यता त उनी आफैंले दल खोल्ने तयारीबारे खुलेरै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । यदि उनले नयाँ दल खोले ठूला दलहरुप्रति निराश मत नै पाउने हुन् । अर्थात् रास्वपा र साम्पाङले पाउने मतको आधार एउटै हो । त्यसैले अहिलेदेखि नै उनले रास्वपालाई रोक्न खोजेको हुनुपर्छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?