+
+

रास्वपालाई निराश बनाउने इलाम २ को रुझान

एमालेले गाउँको मत जोगाउँदा सुहाङ नेम्वाङको अग्रता बढ्दै

सइन्द्र राई सइन्द्र राई
२०८१ वैशाख १६ गते २२:१५

१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।

आइतबार राति १० बजेसम्म गणना भएको मतमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् । फोकफाकथुम गाउँपालिकाको १ देखि ६ नम्बरसम्म गणना हुँदा पहिचान पक्षधरहरुका साझा उम्मेदवार थेगिमले ७८४ मत पाएका छन् ।

जितको स्पर्धामा देखिएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३७८३ र कांग्रेस उम्मेदवार डम्बर खड्काले २७८२ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले ५६१ मात्र पाएका छन् ।

यद्यपि गणना हुन बाँकी मत धेरै रहेकाले चुनावी नजिताबारे निष्कर्षमा पुग्न हतारो हुनेछ । तर प्रारम्भिक परिणामले केही स्पष्ट सन्देश दिइसकेको छ ।

ग्रामीण क्षेत्रको मतगणना भइरहँदा एमालेले पार्टी मत धेरै हदसम्म जोगाउन सकेको देखिन्छ भने माओवादी केन्द्रको समर्थनको लाभ समेत सुहाङलाई मिलेको छ ।

कांग्रेसले चाहिँ आमचुनाव २०७९ मा प्राप्त मत जोगाउन सकेको देखिँदैन ।

त्यसबेला एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले कांग्रेसका खड्का पराजित भएका थिए । त्यसबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ हुँदा ३० हजार २० मत ल्याएर सुवास नेम्वाङले जितेका थिए ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेस उम्मेदवार डम्बर खड्का ।

यो उपचुनावमा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ भने माओवादीको समर्थन एमालेलाई छ । त्यसैले कांग्रेस उम्मेदवार पछाडि पर्नु अस्वभाविक होइन ।

तर धेरै प्रचार भएको, अनि चासोका साथ हेरिएको रास्वपाले भने अपेक्षित मत पाइरहेको छैन । ८ हजार ६३ मत गणना हुँदा रास्वपाका मिलन लिम्बुले ५६१ मात्र पाएका छन् ।

यही प्रवृत्ति कायम रहे लिम्बुलाई जित्न गाह्रो छ । तर रास्वपाका नेताहरुले शहरी क्षेत्रबाट मतान्तर घटाएर जित्ने दाबी गरिरहेका छन् । इलाम नगरपालिकासहित तुलनात्मक शहरी क्षेत्रमा मिलनको मत बढ्ने उनीहरुको विश्वास छ ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्य भन्छन्, ‘घण्टीको मुख्य प्रभावस्थल रहेको अन्य ५ पालिकाको मत गणना गर्न बाँकी नै छ । अहिले नै कसैले खुशी मनाउने र कसैले दुःखी हुने कुरा ठीक हुँदैन ।’

गत वर्ष १० वैशाखको उपचुनावमा भने रास्वपाले गाउँशहर सबैतिरको मत पाएको थियो । सभापति रवि लामिछानेले चितवन–२ र स्वर्णिम वाग्लेले तनहुँ–१ बाट विशाल अन्तरले उपचुनाव जित्नुमा शहरी जनमत मात्र कारण थिएन ।

आमचुनाव–२०७९ मा शहरी क्षेत्रबाट अप्रत्यासित मत पाएको रास्वपा गत वर्षको उपचुनावबाट गाउँ छिरेको सन्देश गएको थियो । त्यो सन्देश इलामको उपचुनावबाट विस्तार गरेर आमचुनाव २०८४ मा एकल बहुमत ल्याउने उसको योजना थियो ।

त्यसैले इलामको उपचुनाव जित्न रास्वपाले असाध्यै ठूलो तागत खर्चिएको छ । उपचुनाव जित्न रास्वपाले मतदाताको रुची अध्ययन, मत सर्वेक्षणदेखि आकांक्षीहरुको निवेदन संकलन जस्तो प्रचार गरेका थिए ।


भलै आकांक्षीहरुको निवेदन नभएर सभापति लामिछानेकै चाहनामा मिलन लिम्बुलाई टिकट दिइयो । ४ चैतमै स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका लिम्बुलाई टिकट दिनुको पछाडि जसरी पनि उपचुनाव जित्ने रास्वपाको नीति कारण हो ।

१७ चैतमा मिलनको उम्मेदवारी घोषणा गरेपछि रास्वपा नेताहरुको भीड नै लागेको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियतमा रहेका लामिछाने आफैं ६ वटै पालिकामा घुमेर घरदैलो गरेका थिए भने सकेसम्म सभालाई सम्बोधन गरेका थिए । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा २४ घण्टे टोली परिचालन भयो ।

तर प्रारम्भिक नतिजा हेर्दा भने स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग तेस्रो स्थानका लागि रास्वपाको प्रतिस्पर्धा भइरहेको छ ।

यदि अन्तिमसम्म यही मत प्रवृत्ति कायमै रहे मिलन लिम्बुले पराजित हुने मात्र नभएर रास्वपाको पूर्वी नेपाल (कोशी प्रदेश) छिर्ने सपना समेत अधुरो हुनेछ ।

सँगै, गत वर्षको उपचुनावको नतिजालाई देखाइरहेका रास्वपा नेताहरु समेत मनोवैज्ञानिक दबावमा पर्नेछन् । किनकि चितवन र तनहुँको नतिजा देखाएर रास्वपाका नेताहरुले पार्टीको आकर्षण बढिरहेको सन्देश दिइरहेका छन् । जबकी तनहुँ र चितवनमा आमचुनावमै रास्वपाको प्रभाव राम्रो थियो ।

स्वर्णिम वाग्ले जिताएर सिट संख्या बढाएको तनहुँमा रास्वपाका उम्मेदवार आमचुनावमै सम्मानजनक मत पाएका थिए । तनहुँ–१ बाट रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए ।

पौडेल राष्ट्रपति बनेपछि भएको उपचुनावमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनायो । कांग्रेसबाट टिकट नपाएका स्वर्णिम रास्वपाबाट उम्मेदवार बने । कांग्रेसबाट योजना आयोगका उपाध्यक्षसहित लाभको पद लिइसकेका र अर्थशास्त्रीको परिचय बनाएका वाग्लेले व्यक्तिगत मत थपे ।

अर्कातिर एमालेले कमजोर उम्मेदवार उठायो । काठमाडौं–६ मा नराम्रो पराजय ब्यहोरेका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई तनहुँको उम्मेदवार बनाउँदा धेरै एमाले कार्यकर्ताले पनि मत हालेनन् । २०७९ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याएकोमा खनालले उपचुनावमा ८ हजार ४८८ मात्रै पाए । अर्थात् एमालेले साढे एघार हजार मत गुमाएको थियो ।

कांग्रेसका भट्टराईले २० हजार १२२ मत ल्याएर पार्टी मत जोगाउँदा स्वर्णीमले ३४ हजार ९१९ मत ल्याएर जिते । चितवनमा सभापति लामिछानेले आमचुनावमा भन्दा बढाएर उपचुनावमा मत पाए । यो उपचुनावको त्यो नतिजाबाट उत्साहित रास्वपाका नेताहरुले इलामको उपचुनावबाट सिट संख्या २२ पुग्ने दाबी गरिरहेका छन् ।

यद्यपि विपक्षीहरुले चाहिँ इलाममा रास्वपाको अवस्था बारा–२ कै जस्तै हुने टिप्पणी गरेका थिए । चितवन र तनहुँसँगै बारामा भएको उपचुनावमा रास्वपाबाट पूर्वप्रहरी रमेश खरेल उम्मेदवार थिए । तर जसपाका उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याएर जित्दा रास्वपाका खरेलले जमानत जोगाउन सकेका थिएनन् । २ हजार ८२४ मत ल्याएर चौथौ बनेका थिए ।

दोस्रोमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ र एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका थिए । बारामा पनि रास्वपाको प्रभाव कमजोर थियो, उपचुनाव पनि जित्न नसकेपछि मधेश छिर्ने अवसरबाट बञ्चित भयो ।

इलाममा पनि रास्वपाको पृष्ठभूमि बलियो छैन । २०७९ को आमचुनावमा इलाम–२ मा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले जम्मा १३८० मत मात्र पाएर जमानत जोगाउन सकेका थिएनन् । रास्ववाको समानुपातिक प्रणाली तर्फको मतचाहिँ प्रत्यक्षतर्फ भन्दा राम्रो थियो । यद्यपि एमाले र कांग्रेससँग प्रतिस्पर्धी भने होइन ।

यो क्षेत्रमा एमालेले समानुपातिक मत २६ हजार ५६३ र कांग्रेसले २२ हजार ३३ मत पाउँदा रास्वपाले ४ हजार ६८६ मत पाएको छ । यो क्षेत्रमा माओवादीको मत ५ हजार १५३ छ । तर ठूला दलहरुकै मत तानेर कोशी प्रदेशमा प्रवेश गर्ने रास्वपाको लक्ष्यमा प्रारम्भिक नतिजा बाधक बनेको छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?