+
+
उपनिर्वाचन :

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते ५:२३

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।

उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन । तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्ति उत्साहित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?