+
+

अर्थमन्त्रीसँग अमेरिकी राजदूतको आग्रह : एमसीसी परियोजना समयमै सकियोस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १५:३६

२७ फागुन, काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् ।

भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ,’ राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।

भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले एमसीसी परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए ।

जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए ।

यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?