+
+

बैंकको कार्यालय राख्न पनि गाउँपालिकाको हस्तक्षेप

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १७:४२
भच्केकस्थित राष्ट्रिय वाणिज्य बैंकको कार्यालय रहेको घर ।

२७ फागुन, गोरखा । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सार्ने विषयमा गाउँपालिकाले हस्तक्षेप गरेको छ । हाल कार्यालय रहेको घर साँघुरो भएको भन्दै बैंकले घर परिवर्तन गर्न खोजेको छ ।

त्यसका लागि स्थानीय रामबहादुर गुरुङको घरमा कार्यालय सञ्चालन गर्ने भन्दै बैंकले सम्झौता गरिसकेको छ । तर पालिकाले हस्तक्षेप गरेर आफ्नो घरमा आउन नदिएको उनको भनाइ छ ।

‘यही फागुन १ गतेबाट मेरो घरमा कार्यालय सर्ने भनेर बैकसँग सम्झौता भएको थियो, तर उहाँहरु आउनुभएन’, गुरुङले भने, ‘किन नआएको भनेर सोध्दा पालिकाबाटै अवरोध आयो भन्नुभयो ।’

आफू फरक राजनीतिक दलमा भएका कारण गाउँपालिका अध्यक्ष र उपाध्यक्षले बैंकको कार्यालय आफ्नो घरमा नराख्न दबाब दिएको गुरुङको भनाइ छ ।

कार्यालय सार्नका लागि बैंकले दुई पटकसम्म सार्वजनिक सूचना निकालेको थियो । पहिलो पटक गुरुङको मात्र आवेदन परेपछि पुनः सूचना निकालिएको हो ।

दोस्रो पटक गुरुङ, कृष्णकुमार श्रेष्ठ र धनबहादुर धितालको आवेदन परेको थियो । सूचनामा तोकेको सबै मापदण्ड पूरा भएको र कार्यालय सञ्चालन गर्न उपयुक्त देखिएको भन्दै बैंकले गुरुङको घर छनोट गर्‍यो ।

गत माघ ७ गते घरबहालमा दिनका लागि आवश्यक पूर्वाधार तयार गर्न भन्दै बैंकले गुरुङलाई पत्र पठाएको थियो । पत्रमा ढुकुटी कोठा, भुईंमा टायल, रंगरोगन, जेनेरेटर राख्ने स्थान, सुरक्षाकर्मी बस्ने कोठा, पार्किङस्थल, शौचालय र एटीएम मेसिन राख्ने ठाउँ बनाउन भनिएको थियो ।

घरधनी गुरुङले बैंकले भनेअनुसार संरचना बनाएपछि २१ माघमा गुरुङ र बैकबीच मासिक २८ हजार रुपैयाँ लिने गरी १० वर्षका लागि करार सम्झौता भएको छ ।

१ फागुनबाट कार्यालय सर्ने भन्ने सम्झौतामा उल्लेख भएपनि पालिकाकै हस्तक्षेपका कारण बैंक आफ्नो घरमा नसरेको गुरुङले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख प्रमोद अधिकारीले पनि गाउँपालिकाले अवरोध गरेको पुष्टि गरे । ‘सर्नलाई तयार भइसकेका थियौं पालिकाले हामीसँग समन्वय गरेर मात्र अघि बढ्नु भनेर पत्र लेख्यो’, उनले भने, ‘हामीसँग समन्वय नगरी गर्नुभयो भने हामी कारोबार नै गर्दैनौं समेत भन्नुभयो ।’ स्थानीय स्तरमा द्वन्द्व गरेर कारोबार गर्न नसक्ने उनले बताए ।

साँघुरो भएको भन्दै यसअघि पनि कार्यालय अन्यत्र सार्न खोजिएको तर असहयोग भएको उनले जानकारी दिए । ‘अहिले कार्यालय रहेको भवन पुरानो छ, स्पेस कम छ । पार्किङ पनि समस्या । अलि धेरै ग्राहक भएका बेला सडकमै लाइन बस्नुपर्ने अवस्था छ । त्यही भएर अलि स्पेस भएको ठाउँमा सर्न खोजेका थियौं तर पालिकाले नै सहयोग गरेन’, अधिकारीले भने । गाउँपालिका आफैंले भवन बनाएर कार्यालय संचालन गर्न दिए सहज हुने उनले बताए ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटा भने बैंकलाई घर सार्न अवरोध नगरेको दाबी गर्छन् । ‘अहिले कार्यालय रहेको घरबेटीसँग केही लेनदेनको बिषय रहेछ, त्यो सल्टाएर जानुस् भनेका हौं’, उनले भने ।

देवकोटाले अहिले बैंक रहेको र सर्न खोजेको घर उस्तै रहेको पनि जिकिर गरे । यद्यपि बैंकलाई सहज हुने गरी समस्या समाधान गर्न आफूहरु तयार रहेको उनको भनाइ छ ।

घरबेटी गुरुङले भने पालिकाकै हस्तक्षेपका कारण आफ्नो घरमा बैंक नआएको आरोप लगाए । ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर ३ का अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैंकको पोखरा कार्यालयमा पत्राचार गरेका रहेछन्, के कारणले रोकेको भनेर जवाफ माग्दै मैले पालिकामा निवदेन हालेको छु,’ उनले भने । व्यक्ति र संस्था बीचमा भएको सम्झौतामा पालिकाले अनावश्यक हस्तक्षेप गरेको गुरुङले आरोप लगाए ।

२०३९ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा तत्कालिन सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको थियो । त्यसपछि २०६५ सालमा शाखा पुनर्स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?