+
+

एमालेसँगको सहकार्यबारे प्रचण्ड : थाहै दिएन नभन्नुहोला

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन २७ गते २०:०२

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई नेकपा एमालेसँगको सहकार्य दीर्घकालीन रहेको ब्रिफिङ गरेका छन् ।

‘नेपालको आन्तरिक राजनीति र भूराजनीतिक अवस्था कम्युनिस्टहरुको प्रतिकुल छ यो कमरेडहरुले बुझ्नुभएकै छ । यो परिस्थितिमा एमालेसँगको सहकार्य जो भएको छ यो दीर्घकालीन रणनीति अन्तर्गत भएको हो’, शनिबार पार्टीको संसदीय दलको बैठकमा प्रचण्डले भनेका छन् ।

नेपाली कांग्रेससँगको सत्ता समीकरण बदलेर प्रचण्डले २१ फागुनमा नेकपा एमालेसहितको समीकरण बनाएका छन् ।

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘एक्कासी एमालेसँग निर्णय गरेको रुपमा नबुझिदिन’ आग्रह गरे । नेताहरुका अनुसार प्रचण्डले सांसदहरुलाई भनेका छन्, ‘कमरेडहरु, थाहै दिएन नभन्नुहोला । नयाँ समीकरण आवश्यकता र बाध्यता दुवै हो, यो बुझिदिनुहोला ।’

एमालेसँग एकता हुने वा मोर्चाबन्दीकै रुपमा अगाडि जाने विषयमा भने प्रचण्ड प्रष्ट खुलेका छैनन् । सहकार्यमा दुबै पार्टीबाट हुने व्यवहार र विगतको समीक्षाले धेरै विषय निर्क्योल गर्ने प्रचण्डको ब्रिफिङ छ ।

नेपालमा कम्युनिस्टहरु मिल्न नदिने राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति रहेकाले पनि नयाँ सत्ता समीकरणबारे शीर्ष तहमा भएको छलफललाई पार्टीको तल्लो तहसम्म नलगएिको प्रचण्डको प्रष्टीकरण छ ।

‘पुरानै सहकार्यलाई नयाँ ढंगको निरन्तरता’

नेताहरुका अनुसार प्रचण्डले समग्र राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति कम्युनिस्टलाई मिल्न नदिने रहेको बताए । यसकारण आन्तरिक ढंगले चतुर्‍याईंपूर्वक एमालेसँग सहकार्य गरेको हो’, उनले भने, ‘एकप्रकारले पुरानै सहकार्यलाई नयाँ ढंगले निरन्तरतामा दिएको हो । हल्ला गरेको भए यो हुदैनथ्यो ।’

माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माका अनुसार प्रचण्डले एमालेसँग माओवादी केन्द्रको नयाँ गठबन्धन गरेको नभई सहकार्य भएको बताएका छन् । उनका अनुसार प्रचण्डले भनेका छन्, ‘गठबन्धन परिस्थितिवश हुन्छ, विचार र सिद्धान्त मिल्नेसँग सहकार्य हुन्छ ।’

एमालेसँग एकता हुने वा मोर्चाबन्दीकै रुपमा अगाडि जाने विषयमा भने प्रचण्ड प्रष्ट खुलेका छैनन् । सहकार्यमा दुबै पार्टीबाट हुने व्यवहार र विगतको समीक्षाले धेरै विषय निर्क्योल गर्ने प्रचण्डको ब्रिफिङ छ ।

‘एमालेसँगको सहकार्य दीर्घकालीन भए पनि यसको भविष्य हामीहरुको व्यवहार र विगतको समीक्षाले तय गर्छ’, उनले भनेका छन्, ‘दुबै पार्टीबाट आत्मालोचना गर्नुपर्ने विषयहरु छन् । विगतको पार्टी (नेपाल कम्युनिस्ट पार्टी नेकपा) विघटनको विषय छ । संसद विघटन लगायतका कैयन विषयहरु छन्, जसमा दुई पार्टीको वैचारिक दृष्टिकोण फरक छ ।’

कम्युनिस्टहरुबीचको ध्रुवीकरण र एकताका लागि माओवादीले परिस्थिति सम्हालेर जानुपर्ने भन्दै प्रचण्डले थपेका छन्, ‘एमालेसँग गठबन्धन नभनौं । सहकार्य भनेर जाँदा सैद्धान्तिक रुपमै नजिकै रहेको भाव जान्छ । यसले दुवै पार्टीका आम कार्यकर्ता समेतलाई सकारात्मक सन्देश प्रवाह गर्छ ।’

माओवादी संसदीय दलको फाइल तस्वीर ।

यति समयभित्र एमालेसँग यो अवस्था बन्छ भनेर भन्न नसकिए पनि सरकारमा रहेर काम गरिरहँदा सबैका बीचमा नजिकपना हुने र त्यसले नयाँ अवस्थाको सिर्जना गर्ने प्रचण्डको भनाइ छ ।

‘हल्ला गरेपछि फुटाइदिन्छन्, त्यसकारण हामी सरकारको नेतृत्वमा रहँदाकै अवस्थामा एमालेसँग तुषहरु मेटाउने, विरोधका स्वरहरु कमजोर बनाउने र फेरि एक पटक सहकार्य गरौं भन्ने भावनाको विकास गर्ने हो’, उनले भने, ‘यसरी कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइ दिनसक्छौं ।’

यसमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि माओवादी केन्द्रसँगै हुने पनि प्रचण्डको दाबी छ । ‘माधव नेपाल नेतृत्वको पार्टीसँग एकप्रकारको सम्बन्ध र मोर्चा छँदैछ । यसपटक नयाँ परिस्थितिमा एमाले र स्वयं माधव कमरेड हाम्रै कारणले कन्भिन्स भएको हो’, प्रचण्डले भने, ‘यदाकदाको विरोध नसुनेरै हामी अगाडि बढ्छौं र निश्चित समयपछि समीक्षा गर्छौं र आगामी सहकार्यको निधो गर्छौं ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटा पनि एमालेसँग माओवादीको सहकार्य एकीकृत समाजवादीलाई समेटेर समाजवादी र वामपन्थीहरुबीचको धु्रवीकरण गर्ने दीर्घकालीन रणनीति रहेको ब्रिफिङ प्रचण्डले गरेको बताउँछन् ।

भन्छन्, ‘नेपालमा कम्युनिस्टहरुबीचको सहकार्यका लागि पटक–पटक प्रयास भएको छ । यसपटक मूर्त रुप दिन सकिन्छ कि भन्नेमा प्रचण्डको संकल्प देखिन्छ ।’

दुई वर्षमा परिणाम दिने प्रतिवद्धता

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धनमा रहेर काम गर्न नसकेको बताएका छन् । ‘एक वर्षमा एउटा कानुन बन्ने अवस्था भोग्यौं । जति पहल गर्दा पनि गति नआएपछि यसै बदनाम त्यसै बदनाम भनियो र नयाँ ढंगले सोचविचार गरेरै नयाँ परिस्थितिमा गइएको हो’, प्रचण्डले भनेका छन्, ‘कानुन निर्माणलाई समेत गति दिन नसक्दाको अवस्थामा कि सरकार छाडेर हिँड्ने कि नयाँ परिस्थिति बनाउने भन्ने दुईटा विकल्प थियो । हामीले दोस्रो विकल्प रोजेका हौं ।’

अब नयाँ सत्ता समीकरणमा रहेर आफूले निश्चित समयभित्र जनतामा आशा जगाउने गरी परिणाम दिन प्रयत्न गर्ने र सफल हुने उनको विश्वास छ । ‘कम्तीमा दुई वर्षभित्र हामी संघीयता कार्यान्वयनमा रिजल्ट देखिने ठाउँमा पुग्छौं । जनजीविकाको सवालमा केही न केही नयाँ अवस्था बन्छ’, प्रचण्डको विश्वास छ ।

नेताहरुका अनुसार प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने कुरा भएको बताएका छन् । कति समय कसले नेतृत्व गर्ने भनी खुलाएका छैनन् ।

माओवादीकै एक सांसद भन्छन्, ‘दुई वर्षभित्र सरकारको नेतृत्वमा रहेर रिजल्ट दिने र माओवादी सरकारको नेतेत्वमा रहँदाको एमालेसँगको सहकार्यले आगामी सहकार्य तय गर्ने प्रचण्डको ब्रिफिङले माओवादी र एमालेका बीचमा दुई÷दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको अड्कल गर्न सकिन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?