+
+

माओवादीले पाएको राष्ट्रिय सभाको अध्यक्ष उर्मिलालाई भारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २२:१९

२७ फागुन, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यससँगै राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले भने राजीनामा दिनुपर्ने भएको छ । निकटवर्तीहरुका अनुसार मंगलबार अध्यक्षको निर्वाचन गराएपछि राजीनामा दिने अर्यालको तयारी छ ।

अर्याल उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्न चाहन्थिन् । १६ फागुनमा माओवादी स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि उनले लबिइङ पनि थालेकी थिइन् ।

त्यसअघि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला अध्यक्षको उम्मेदवार बन्ने तयारी थियो । प्रचण्डले वचन दिएपछि सिटौला राष्ट्रियसभा सदस्यमा चुनाव लड्न राजी भएका थिए । तर कांग्रेससँग खटपट बढेपछि प्रचण्डले स्थायी कमिटीबाट राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गर्‍यो ।

२१ फागुनमा माओवादीले एमालेसँग नयाँ गठबन्धन बनायो, जसमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो ।

त्यसपछि अर्यालसँगै नारायण दाहाल, झक्कु सुवेदी लगायतका नेताहरुको दौडधुप सुरु भयो । नेताहरुका अनुसार माओवादीभित्र राष्ट्रिय सभा अध्यक्षमा अर्याल सबभन्दा बलिया उम्मेदवार थिइन् । यसअघि उपाध्यक्ष भएर राष्ट्रिय सभामा काम गरेका कारणले समेत उनको दाबेदारी स्वभाविक थियो ।

१२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

तर आइतबार पदाधिकारी बैठकले प्रचण्डका भाइ नाता पर्ने दाहाल उम्मेदवार बनाएको छ । दाहाल २५ चैत २०७९ मा राष्ट्रपतिबाट मनोनित सांसद हुन् ।

अर्याल र दाहालको कार्यकाल समान चार वर्ष बाँकी छ । माओवादी केन्द्रमा ६ वर्ष कार्यकाल भएका सुवेदीलाई बनाउनुपर्ने मत पनि थियो । तर पदाधिकारी बैठकले अर्याल र सुवेदीलाई छाडेर दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कतिपय नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो विश्वास पात्र राष्ट्रिय सभाको नेतृत्वमा खोजेका छन् । ६ सदस्यीय संवैधानिक परिषदको सदस्य समेत हुने भएकाले राष्ट्रिय सभाको अध्यक्षमा प्रचण्डले आफू अनुकुल पात्र खोज्दा वर्तमान अर्यालले नेतृत्वको अवसर नपाउन भएकी हुन् ।

नारायण दाहाल २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रशासनिक सल्लाहाकार थिए । उनका छोरा समिर २०६६ देखि २०६९ सम्म प्रचण्डको स्वकीय सचिव थिए ।

२०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य भएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका उनी २०७० मा भने पराजित भएका थिए ।

यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रतिनिधि सभामा सभामुखको पद खाली हुँदा उपसभामुखमा रहेकी शिवमाया तुम्बाहाङ्फेले आफ्नो पद गुमाउनुपरेको थियो ।

संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यहार (पछि सर्वोच्च अदालतबाट सफाइ पाइसकेका छन्) को आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिए ।

त्यसपछि रिक्त सभामुखमा तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले चाहना राखेकी थिइन् । तर, तत्कालिन नेकपाको एउटा पक्ष (प्रचण्ड पक्ष)ले अग्नि सापकोटाको पक्षमा अडान दिए । तयसमा ओली सहमत भएपछि सापकोटालाई सभामुख बनाउन तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराइएको थियो ।

अहिले अर्यालले त्यही नियति भोगेकी छन् । पार्टीको निर्णयबारे उनको प्रतिक्रिया छ, ‘आजसम्म मैले कुनै कलंक बोकेको छैन । उपाध्यक्षको हैसियतले सभा सञ्चालनमा अनुभव लिएँ । यस्तो अवस्थामा पार्टीले प्रमोसन गर्नेपर्ने हो तर, भएको पद पनि खाइदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?