+
+

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तीन आकांक्षी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन १७ गते २०:३०

१७ फागुन, काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेसँगै आकांक्षी सांसदहरुले सक्रियता बढाएका छन् ।

नेताहरुका अनुसार राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालसँगै राष्ट्रियसभा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहाल अध्यक्षका आकांक्षी हुन् ।

बुधबार माओवादी स्थायी समितिले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

नेताहरुका अनुसार माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउँदा अर्याल सबभन्दा बलियो उम्मेदवार हुन् ।

१२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

अर्याल सर्वस्वीकार्य हुनसक्ने भएकाले उनलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीमा बलियो छ । उनलाई उम्मेदवार बनाउँदा विवाद नगर्ने भनेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत वचन दिएका छन् ।

तर केहीले भने उनको कार्यकाल चार वर्ष मात्र भएकाले झक्कुप्रसाद सुवेदीलाई विकल्पका रुपमा अघि सारेका छन् ।

सुवेदी ११ माघ २०७९ मा भएको राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । २१ फागुनमा सपथ लिने उनको कार्यकाल ६ वर्ष हुनेछ ।

सुवेदी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका थिए । यसपटक उनी राष्ट्रिय सभामा आएका हुन् ।

सुवेदीलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लविइङ गरेका नेताहरुले उर्मिला अर्याललाई मन्त्री बन्न प्रस्ताव राखेका छन् । माओवादीले अध्यक्ष लिँदा उपाध्यक्ष छाड्नुपर्छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा फरक/फरक दलको हुनुपर्छ ।

उपाध्यक्ष अर्याललाई राजीनामा गराएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनुपर्ने नेताहरुको तर्क छ । अर्याल, झलनाथ खनाल नेतृत्वको एमाले–माओवादी नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

तर अहिले अर्याल मन्त्री लिएर उपाध्यक्ष छाड्न तयार नभएको नेताहरु बताउँछन् । अर्याल आफैं भने नेतृत्वले गर्ने निर्णय आफ्नो पनि निर्णय हुने बताउँछिन् । ‘गठबन्धन छ, त्यहाँ निर्णय होला । त्यसपछि पार्टी छ, नेतृत्व छ’ उनी भन्छिन्, ‘सबैतिरबाट विवेकसम्मत निर्णय आउँछ भन्ने विश्वास मलाई छ ।’

माओवादी नेताहरुका अनुसार राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल पनि अध्यक्षका आकांक्षी छन् । २५ चैत २०७९ मा तत्कालीन राष्ट्रपतिबाट मनोनित सांसद दाहाल, प्रधानमन्त्री प्रचण्डका नाताले भाइ हुन् ।

माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि अरु केही नेताको नाम पनि चर्चामा छ ।

स्रोतका अनुसार नेताहरुबीच भएका कतिपय छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विकल्प पनि आएको थियो । यसले राष्ट्रियसभा अध्यक्ष बन्न नपाएका नेपाली कांग्रेसका कृष्ण सिटौलालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने बाटो खुल्ने उनीहरुको तर्क थियो ।

तर श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमै राष्ट्रिय सभा अध्यक्ष बन्न अस्वीकार गरेकाले यो पटक उनीसम्म कसैले प्रस्ताव नै लगेनन् ।

बरु श्रेष्ठले गंगा बेलवासेको नाम लिएका छन् । बेलवासे २०७६ सालमा भएको चुनावमा बागमती प्रदेशबाट बेलवासे राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । उनको कार्यकाल दुई वर्ष मात्र बाँकी रहेकाले सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

माओवादीमा नेता सुरेश आले मगरलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने मत पनि छ ।

आले आफैं भने गठबन्धनमा निर्णय भएपछि मात्र नेतृत्वले उम्मेदवार टुंगो लगाउने बताउँछन् ।

राष्ट्रियसभाको ठूलो दल भएको र प्रधानमन्त्री पद छाडेका दिन संवैधानिक परिषदमा माओवादीको उपस्थिति शून्य हुने भएर राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेको भन्दै उनले भने, ‘गठबन्धनबिना निर्णय कार्यान्वयन हुँदैन । गठबन्धनले निर्णय गरेको खण्डमा एकसेएक योग्य सांसदहरु हुनुहुन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?