+
+
मधेश सरकार :

सरकारमा बस्न चाहन्छ कांग्रेस, हटाउने मुख्यमन्त्रीको तयारी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० फागुन २८ गते २१:२५
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।

२८ फागुन, जनकपुरधाम । सातमध्ये ६ प्रदेशमा सरकार भत्काउने र टिकाउने दौडधुप चलिरहेको छ ।

नेपाली कांग्रेसले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सरकार जोगाउन कोशिस गरिरहेको छ भने नयाँ गठबन्धन त्यहाँ सरकार बनाउने प्रयासमा छ । तर मधेश प्रदेश सरकार अहिलेसम्म स्थिर छ ।

मधेश प्रदेश सरकारमा कांग्रेस पनि छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवले पनि मन्त्रीहरुको राजीनामा मागेका छैनन् । तर यो धेरै समय नरहने नयाँ सत्ता गठबन्धनका नेताहरु बताउँछन् ।

पर्ख र हेरको अवस्थामा कांग्रेस

जसपा संसदीय दलका नेता यादव नेतृत्वको सरकार बन्दा दोस्रो ठूलो दल कांग्रेस (२२) प्रतिपक्षमा थियो । तर केन्द्रमा गठबन्धन फेरिएसँगै एमाले सरकारबाट बाहिरियो भने कांग्रेस सरकारमा गएको थियो । २१ फागुनमा केन्द्रमा माओवादीले फेरि एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस बाहिरिएको छ ।

मधेशमा भने कांग्रेसले वर्तमान समिकरणलाई निरन्तरता दिन चाहेको नेताहरु बताउँछन् । ‘केन्द्रमा जेजस्तो समीकरण भएपनि मधेशमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने हाम्रो चाहना छ’ कांग्रेस प्रमुख सचेतक कुमारकान्त झा भन्छन्, ‘गठबन्धन राख्न चाहनुहुन्छ कि हुन्न मुख्यमन्त्रीमाथि निर्भर रहन्छ ।’

उनका अनुसार अहिलेसम्म मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिनुस् भनेका छैनन् । पार्टीको केन्द्रबाट पनि सरकारबाट हट्नु वा समर्थन फिर्ता लिन निर्देशन दिएको छैन । उनले भने, ‘हामी अहिले पर्ख र हेरको स्थितिमा छौं ।’

तर सरकारको नेतृत्व गरिरहेको जसपा भने कांग्रेसलाई सरकारमा राख्ने पक्षमा देखिएको छैन । अगामी बुधबार (केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन) सम्म मात्र प्रदेश सरकारमा कुनै निर्णय नलिने जसपाको रणनीति छ ।

त्यसलगत्तै एमाले, माओवादी र एकीकृत समाजवादीलाई समेटेर सरकार पुनर्गठन गर्ने तयारी छ ।

जसपा केन्द्रीय सदस्य योगेन्द्र यादव मधेश प्रदेशको पार्टीको नेतृत्वलाई निरन्तरता दिने बटमलाइन भएको बताउँछन् । ‘मधेशमा जसपा सरकार निरन्तर रहन्छ । गठबन्धनमा अब हैसियत अनुसार मन्त्रालयको ससम्मान भागवण्डा छलफल गरेर टुंगिन्छ’, उनले अगाडि भने ‘मुख्यमन्त्रीजी काठमाडौंमै हुनुहुन्छ । एकदुई दिनमै मधेश सरकारबाट कांग्रेसलाई हटाएर पुनर्गठन हुन्छ ।’

तर प्रदेशको सबभन्दा ठूलो दल एमालेसँगै माओवादी केन्द्र भने मुख्यमन्त्री दाबी गर्न थालिसकेको छ ।

आइतबार रौतहटको चन्द्र निगाहपुरमा बसेको एमाले मधेश प्रदेश समितिको बैठकले मधेश सरकारको नेतृत्व दाबी गरेको छ । ‘एमाले मधेश प्रदेशसभाको सबभन्दा ठूलो दल हो । त्यसआधारमा एमालेले मुख्यन्त्री पाउनु पर्ने पार्टीको निर्णय प्रदेश कमिटी बैठकबाट भएको हो’, प्रदेश सांसद शारदा देवी थापाले भनिन् । प्रदेश सभामा एमालेको सभामुखसहित २४ सिट छ ।

माओवादीले पनि सरकारको दाबी छाडेको छैन । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार तेस्रो पटक फागुन ६ गते मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुअघि नै संसदीय दलको बैठकको यस्तो निर्णय गरेको हो ।

‘विगतमा भएको आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्वको दावी अब माओवादीले गर्ने निर्णय हामीले दलको बैठकबाट गरेका छौं । हाम्रो दावी यथावत छ’ नेता साहले भने, ‘माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउन विकल्प खुला राखेको छ ।’

१०७ सिटको प्रदेशसभामा नयाँ गठबन्धनमा रहेको एमालेको सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?