+
+

सरकारमा गएसँगै राजविराज घटनामा एमालेको फेरियो बोली

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १९:२६
मंगलबारको मधेश प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर ।

४ वैशाख, जनकपुरधाम । मंगलबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक जनमत पार्टीले अवरुद्ध गर्‍यो ।

जनमत प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक चन्दन सिंहले सप्तरीको राजविराजमा ८ माघमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको छानबिन समिति गठन गर्न माग गरे ।

त्यस दिन तत्कालीन मधेश प्रदेशका शिक्षामन्त्री महेश प्रसाद यादवमाथि आक्रमण भएकाले छानबिन समिति गठन गर्नुपर्ने जनमतको माग छ ।

‘फागुन ६ गते मुख्यमन्त्री विश्वासको मत लिने दिन सदनमै यो घटनाको लागि उच्चस्तरीय छानबिन समित गठन नै गर्ने सहमति भएको थियो । त्यो गठन नै भएको छैन । पटक पटक वेवास्ता गरेकाले सहमति अनुसार छानविन समित गठन र मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न दिन्नौ’ सिंहले यति भनेसंगै जनमतका सबै सांसद उठे ।

लगत्तै नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उठेर जनमतका नेतामाथि भएको उक्त आक्रमण व्यक्तिगत घटना भएको र सदन अवरुद्ध गर्न नमिल्ने भन्दै प्रतिवाद गरे ।

‘जनमतका नेता महेश प्रसाद यादवमाथि भएको घटना व्यक्तिगत हो । व्यक्तिगत घटना ल्याएर सदन अवरुद्ध गर्न मिल्दैन । एउटा दलको सदन होइन यो, ठाकुरले यति भनेपछि प्रतिपक्षी जनमत र नेपाली कांग्रेसका सांसद उठेर नाराबाजी सुरु गरेका थिए । नाराबाजी र सांसदहरुबीचको चर्काचर्कीले प्रदेशसभा बैठकस्थल तनावग्रस्त बनेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे ।

पहिले राजविराज घटनाको छानबिन माग गरेको एमालेले मधेशमा सत्तारुढ दल भएसँगै आफ्नो बोली फेरेको छ ।

माघ ८ गते भएको राजविराज घटनाको दुई दिनपछि १० माघमा एमाले मधेश प्रदेश समितिका अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीकै अगाडि शिक्षामन्त्री यादव लगायतमाथि भएको कुटपिट भएको भन्दै घटनाको भत्र्सना र सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको थियो ।

‘हाम्रो पार्टी मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइतेहरूको उपचारका लागि सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ’, प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

तर अहिले सत्तापक्षमा पुगेपछि भने एमालेले राजविराज घटना जनमतका सांसदको व्यक्तिगत विषय भन्दै छानबिन आवश्यक नभएको धारणा राखेको छ ।

जनमतको विरोधको बाबजुद माघ ८ गते कृषिविश्व विद्यालयको भवनको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्ने बेला विरोको क्रममा प्रहरीको बल प्रयोगबाट तत्कालीन शिक्षामन्त्री महेश यादव लगायत केही सांसद र नेता कार्यकर्ता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?