+
+

लिङ्देनले भने : प्रधानमन्त्रीज्यू, यो जीवनको अन्तिम गल्ती नहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:०६

३० फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए । ‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, ‘देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’

‘सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो,’ उनले भने ।

अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे ।

उनले अगाडि भने, ‘यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’

मानिसले जीवनमा गल्ती गर्ने र त्यसलाई सच्याएर अगाडि बढ्ने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘कहिलेकाहीँ गल्ती यस्तो हुन्छ, फेरि सच्याउँछु भन्दा सच्याउने मौका हुँदैन । त्यस्तो नहोस् ।’

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने लिङ्देनले प्रष्ट पारे ।

कुनै दल वा नेता बदनाम होस् भन्ने आफूले नचाहेको तर, समाजमा नेताहरुप्रति विश्वास मर्दै गएको उनले सुनाए । कांग्रेसको १४औं महाधिवेशनका क्रममा आफ्नो अभिव्यक्तिलाई दिएर नेताहरु आफूमाथि आइलागेको भन्दै उनले भने, ‘हात हालाहाल गर्न मिल्ने भए त्यही व्यवस्था गर्न मिल्नेप्रति आक्रोस पोख्नुभयो । तर नेताहरुप्रति सोचमा परिर्वतन भएको छैन मात्र होइन, झन् क्षयीकरण भएको छ ।’

सत्तामा नमिल्नासाथ अछूत जस्तो गर्ने, मिलेपछि महान मान्ने प्रवृत्तिले यसलाई अझ बढाएको उनले बताए । कुनै गठबन्धन बन्दा वा छुट्दा पनि राजनीतिक कारण भए मात्र मानिसहरुले आश गर्नसक्ने भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कसैलाई आक्षेप लगाएर अब उम्कन पाइन्न । मेरो शुभकामना छ, राम्रो गर्नुस् ।’

अब कसैले पनि रोष्टममा उभिएर सुशासनको गफ दिँदैमा नपत्याउने उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘फोहोरको डंगुरमाथि बसेर शुद्धताको मन्त्रोचारण सुहाउँदैन ।’

‘अस्ति जे भयो–भयो, अब उप्रान्त हामी भ्रष्टाचार नगर्ने, न्यायाधीशलाई आफ्नोमा बोलाएर यस्तो फैसला गरिदिनुपरये नभन्ने भन्नुस् न’ उनले अगाडि भने, ‘तपाईंले न्यायाधीशलाई बोलाएर यति कर घटाइदेऊ, यति दण्ड घटाइदेऊ, यसलाई जिताइदेऊ भनेको थाहा छ । ठूलठूलो भ्रष्टाचार काण्डमा आफैं संलग्न हुनु भएको छ । त्यसैले यहाँ आएर ठूलो कुरा गर्दा कसैले पत्याउँदैन ।’

अब पूर्व राजा, धर्मलाई गाली गरेर वाहवाही नपाउने भन्दै उनले काम गरेर देखाउन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?