+
+

फाइनलमा पपुवा न्युगिनीसँग नेपालको लज्जास्पद हार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १५:०६

३० फागुन, काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए ।

तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

कबुवा पहिलो खेलमा नेपालविरुद्ध खेलेका थिएनन् । गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स  अमिनबाट क्याच आउट भएपछि नेपाल ३७-४ को अवस्थामा पुगेको थियो ।

चाद सोपरको बलमा सन्दीप जोरा १७ रनमा बाउबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो ।

लगातार ८ बल डटपछि दबाबमा हाबामा ब्याट उठाएका विवेक यादव १ रनमा क्याच आउट भए ।

पहिलो खेल नखेलेका चाद सोपर र एली नाओले पनि उत्कृष्ट बलिङ गरे । चाद सोपर र सेसे बाउले २-२ विकेट लिए । एली नाओले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

पपुवा न्युगिनीको जितमा ओपनर टोनी उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए ।

तल्लोक्रममा नेली नाओले १० बलमा ३ छक्का र १ चौकासहित महत्वपूर्ण ३० रन जोडेका थिए । सेसे बाउ शून्य, असाद भाला र लेगा सियाका २-२ रनमा आउट भएका थिए ।

हिरि हिरि १५, हिला भारे १८, चाद सोपर १३, किप्लिङ डोरिगा १४ रनमा आउट भए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।

नेपाल दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल मल्ल जस्ता पहिलो रोजाईका टी-२० खेलाडी विना नै हङकङ भ्रमण गरेको थियो ।

प्रेन्डसिप कपमा हङकङसँग नेपाल ७३ रनले हारेको थियो ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा भने नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

नेपालले अब दुई सातापछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग दुई टी-२० खेल खेल्नेछ । त्यसपछि गुजरात र बरोडासँग त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न भारत जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?