+
+

एउटा मान्छे, जसलाई कथाहरुले पछ्याइरहेका छन्

शिव मुखिया शिव मुखिया
२०८० चैत १ गते १८:४४

‘रंगी सारी गुलाबी चुनरिया रे

मोहे मारे नजरिया सांवरिया रे’

‘…………..अब सुन्नुहोस् अच्युत घिमिरेको वाचनमा कथा …..।’ यसरी नै प्रारम्भ हुने रेडियो कथा सुन्न प्रतिक्षित रहन्थे हजारौं-हजार स्रोता । उनी लयबद्ध आवाजमा कथा सुनाइरहन्थे । सुन्नेहरु मदमस्त भइदिन्थे । यो उपक्रम आजसम्म जारी छ, वितेको २४ वर्षदेखि ।

छोटो समय होइन यो । भर्खर जन्मिएको एउटा बालक युवा हुनेसम्मको उमेर हो । यत्तिका अवधि उनी अविश्राम कथा भनिरहका छन् । उही आवाजमा । उही लयमा । उत्तिकै सुरुचिपूर्ण । उत्तिकै सम्मोहित भावमा ।

साल २०५७ । वैशाखको महिना । एचबिसी एफएमको रात्रीकालिन प्रशारणमा एउटा पार्श्व–धुन बज्यो, ‘रंगी सारी गुलाबी’ । त्यो धुन क्रमस मत्थर हुँदै गयो र अर्को आवाजको गुरुत्वबलले श्रोतालाई तान्यो । सो आवाजले कथा भनिरहेको थियो । कथा थियो, चिताको ज्वाला । कथाकार, गुरुप्रसाद मैनाली ।

रातको खाना खाइसकेपछि मान्छेहरु सुत्ने तर्खरमा हुँदो हो । विश्रामको बखत रेडियो ट्युन गर्दा बजेको कथाले उनीहरुको स्नायुतन्त्रलाई अरु आरम दिलाए होलान् । त्यही भएर त उनीहरु एउटा कथा सकिनसाथ अर्को कथाको पर्खाइमा बस्न थाले, अधैर्यसाथ ।

त्यसो नहुँदो हो त अच्युत घिमिरेले जीवनको आधा हिस्सा कथा भनेरै गुजार्ने थिएनन् होला । जतिबेला उनी पहिलो पटक कथा भन्न स्टुडियोमा उपस्थित थिए, त्यसबेला २३ बर्षका लक्का जवान थिए । त्यसको दोब्बर बर्ष पार गरे आज । काय फेरियो । उमेर ढल्कियो । तर, लय उस्तै छ । दैनिकी उस्तै छ । चिनारी उही छ ।

‘अच्युत घिमिरे’ भन्नसाथ हरेकले स्वतस्फूर्त प्रश्न गर्छन्, ‘श्रुति संवेगमा कथा भन्ने मान्छे होइन ?’

सुरुवाती दिनमा उनको कथा पन्ध्र दिनमा एक पटक वाचन हुन्थ्यो । पछि यो क्रम सातामा झर्‍यो । त्यसपछि साताको दुई पटक ।

एकदिन प्राविधिकले उत्साहित हुँदै सुनाए, ‘दाई, आज एकसाथ ६ वटा रेडियोले कथा प्रसारण गर्दैछ ।’ त्यसपछि यो संख्या क्रमस बढ्दै गयो । उनी प्राविधिकलाई सोध्थे, ‘आज कति वटा रेडियोबाट बज्छ ?’ प्राविधिक संख्या बताउँदै जान्थे । पछि एकसाथ ५५ वटा रेडियोबाट कथा प्रशारण हुन थाल्यो । ‘अनि मैले संख्या सोध्न छाडें’ घिमिरे सुनाउँछन्, ‘किनभने यो नियमित प्रक्रिया जस्तै थियो ।’

केही बर्षपछि थाहा पाए, उनको आवाजमा प्रसारण हुने कथा देशभरका एक सयभन्दा बढी रेडियोबाट प्रसारण भइरहेको रहेछ । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको सर्वेक्षणमा के पाइयो भने २०७२ सालयता सर्वाधिक एफएम च्यानलले प्रसारण गर्ने कार्यक्रममध्ये ‘श्रृति संवेग’ नम्बर एकमा छ ।

कथा भनिरहे, आफूलाई लुकाइरहे

एक समय यस्तो थियो, अच्युत घिमिरेको आवाजलाई मान्छेले प्रष्ट ठिम्याउन सक्थे । तर, उनको सग्लो अनुहार चिन्दैनथे । उनले आफूलाई चिनाएनन् पनि । फोटो खिच्न दिएनन् । सार्वजनिक गरेनन् । सभा–समारोहमा गएनन् । कतै प्रकट भएनन् । आफैलाई लुकाइरहे ।

उनी कस्ता छन् ? को हुन् ? अग्लो, होचो, कालो, गोरो, मोटो, दुब्लो ?

आवाजकै भरमा धेरैले अड्कल काट्थे, ‘अच्युत घिमिरे यस्तो होला, उस्तो होला ।’ जसले जसरी बुझे, त्यसरी नै उनको आकृति बनाए । आफूलाई यसरी अदृश्य राख्नुको पनि छुटै स्वाद छ ।

‘मेरो आवाज सुनेर श्रोताहरुले मेरो सक्कलबारे आ–आफ्नै किसिमको धारणा बनाए होलान्’ हालैको एक मध्यान्ह उनले सुनाए, ‘त्यस्तो अवस्थामा मैले आफूलाई चिनाउँदा वा देखाउँदा उनीहरुको कल्पना विपरित पनि हुनसक्थ्यो । त्यसैले म डराएँ ।’

जबकि पहिलो पटक समाचार वाचन गरेर रेडियो स्टेशनबाट बाहिरिदै गर्दा उनलाई त्यस्तो लागेको थिएन । तत्कालिन राजा वीरेन्द्र शाहको जन्मदिन थियो त्यो बेला । उनले राजाकै जन्मदिनबारे समाचार वाचन गरेका थिए । जसै रेडियोमा समाचार प्रशारण भयो, उनलाई लाग्यो ‘आज दुनियाँले मलाई सुने होलान् । मलाई चिने होलान् ।’

मख्ख परेर स्टेशनबाट निस्कदै गर्दा सबैले आफूलाई नै हेरिरहेका छन् कि जस्तो लागेको थियो । ‘त्यो मेरो भ्रम थियो’ उनी भन्छन्, ‘किनभने रेडियो कति मान्छेले नै सुनेका हुन्छन् ? रेडियोमा बोल्नेको आवाज कतिले नै ख्याल गरेका हुन्छन् ?’

आवाजको जादू र हप्तामा दुई बोरा चिठी

रेडियोमा कथा वाचन गर्न थालेको केही समय वितेको थियो । भैरव अर्यालको ‘भुँडी पुराण’सहित ७–८ वटा कथा प्रसारण भइसकेको थियो । आफूले सुनाएको कथा श्रोताले कति चाख मान्छन् ? कति धीरतापूर्वक सुन्छन् ? उनलाई थाहापत्तो थिएन ।

किनभने त्यो फेसबुकको समय थिएन, न मोवाइलकै । श्रोताको नाडी छाम्ने एउटै माध्याम थियो, चिठी । केही समय गुज्रिसक्दा पनि चिठी आउने चालचुल थिएन ।

एक साँझ उनको नाममा एउटा चिठी भेटियो, प्रेसक शोभा मैनाली । हतार-हतार उनले चिठी पढे । साहित्यिक शैलीमा लेखिएको थियो । यो उनको लागि चिठी मात्र थिएन, उपहार थियो । हौसला थियो । पछि पनि सोही नामबाट निरन्तर चिठी आइरह्यो ।

त्यसबेला एचबिसीबाट तामाङ भाषाको एउटा कार्यक्रम दिनहुँ प्रशारण हुन्थ्यो, जसलाई हप्तामा पाँच बोरा जति चिठी आउथ्यो । पछि अच्युत घिमिरेको कार्यक्रममा चिठीको चाङ लाग्न थाल्यो । यसरी आउने चिठीहरु सातामा एक बोरा जति हुन्थ्यो ।

‘सुरुको चिठी दोहोर्‍याएर पनि धीत मर्दैनथ्यो, पटक पटक पढिन्थ्यो’ उनी सम्झन्छन्, ‘पछि त चिठी खोल्न पनि फुर्सद नहुने ।’ त्यसबेला आएका चिठीहरुमा प्रशंसासँगै कथा, कविता वाचन गरिदिन आग्रह हुन्थ्यो । कतिले कथा पठाउँथे । त्यसमध्ये केही फरक, रमाइलो चिठीहरु अहिलेपनि उनले जतनसाथ राखेका छन् ।

लेखकले थाहा नपाई उपन्यास हिट भएपछि

सुरुसुरुका दिनमा कथा वाचनका लागि कथा नै हुँदैनथ्यो । न हुन्थ्यो किताब किन्ने पैसा । क्याम्पस आउजाउ गर्न बुवाले दिनहुँ २० रुपैयाँ पकेट खर्च दिन्थे । त्यही पैसा बचाएर बेलामौकामा पुस्तक प्रदर्शनी पुग्थे । आफूलाई चित्त परेको एक–दुई थान किताब उठाउथे । सोही क्रममा हात परेको थियो, अन्त्यहिन अन्त्य ।

उनले सो उपन्यासलाई चार भाग लगाएर वाचन गर्न थाले । यो उपन्यास श्रोताले निकै रुचीपूर्वक सुने । प्रतिक्रिया पठाउन थाले । श्रुति संवेगमा उपन्यास ‘हिट’ भयो । जबकि त्यसबेलासम्म उपन्यासकार शोभा भट्टराई र घिमिरेवीच भेटघाट भएको थिएन । न त चिनापर्ची नै । ‘उनी क्यानडमा बसोबास गर्ने’ घिमिरे सुनाउँछन्, ‘पछि नेपाल आउँदा मेरो सोधीखोजी भएछ । अनि बल्ल भेट भयो ।’

सुरुमा किताब किन्ने पुग्दो पैसा हुँदैनथ्यो । सस्तो किताब खोजीखोजी किन्नुपर्ने । तर, पछि अवस्था के भइदियो भने लेखक–प्रकाशकले किताब पठाउन थाले । ‘मेरो कथा पढिदिनु’ भन्दै आउनेहरु कति भए कति । किताबको चाङ लाग्न थाल्यो । त्यतीका धेरै किताब पढ्ने फुर्सद कसरी निकाल्ने ?

२०६० साल यता उनले एउटा पनि पुस्तक किन्न पैसा तिर्नुपरेको छैन । बरु आफूसँग भएको किताब व्यवस्थापन गर्न पुस्तकालयलाई दिने गरेका छन् ।

श्रोतामा बस्यो कथा सुन्ने लत

नरेन्द्र न्यौपानेको उपन्यास ‘दरबारबाहिरकी महारानी’ छापिएको तीन बर्ष भएको थियो । तर, त्यसबारे बजारमा कुनै चालचुल थिएन । जब श्रृति संवेगमा सो उपन्यास वाचन हुन थाले, पाठकहरु पुस्तक खोज्दै पसल–पसल चाहर्न लागे । अन्ततः यो उपत्यासको माग यति धेरै हुन थाल्यो कि अहिले बर्षमा दुई–तीन हजार थान बिक्री भइरहेको उनी बताउँछन् ।

कृष्ण धरावासीको कथासंग्रह ‘झोला’ २०५२ सालतिर प्रकाशित भयो । तर, अपेक्षित चर्चा पाएन । पाँच बर्षपछि अच्युत घिमिरेले यो उपन्यास वाचन गर्न थाले । जति–जति यो शृंखला अगाडि बढ्दै गयो, पाठकको रुची र उत्सुकता पनि बढ्न थाल्यो । उसैगरी बढ्दै गयो, बजारमा उपन्यास खोज्नेहरु पनि ।

कृष्ण धरावासीकै उपन्यास ‘राधा’ वाचन गरिरहेको बेला यसले मदन पुरस्कार पायो । ‘अहिले आफ्नो कुनैपनि पुस्तक प्रकाशन हुनसाथ कृष्ण दाईले मलाई फोन गर्छन्’ घिमिरे सुनाउँछन् ।

प्रकाशन भएर पसलका र्‍याकमै थन्किएका अनगिन्ती पुस्तक छन्, जो श्रृति संवेग र बुलबुलमा वाचन भएपछि पाठकको हातमा पुगेको । पाँच सय प्रति पनि बिक्री नभएको किताब श्रृति संवेगमा वाचन भएपछि बजारमा हजारौं थान माग भएका छन् । त्यसैले त अहिले कति साहित्यकार आफ्नो रचना श्रृति संवेगमा वाचन होस् भन्ने अपेक्षा गर्छन् ।

अहिले धेरैले किताब पठाउँछन्, वाचन गरिदिन भन्दै । तर, कति किताब त पढ्दा पढ्दै यति अल्छीलाग्दो हुने कि, उनले बीचमै सकाइदिएका छन् । उनमा गहिरो छाप छाडेको पुस्तक चाहिँ मदनमणि दीक्षितको ‘मेरी निलिमा’, बिपीको ‘बुवा आमा र छोरा’, ‘तीन घुम्ती’, पारिजातको ‘परिभाषित आँखाहरु’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, अमर न्यौपानेको ‘पानीको घाम’ हुन् । कृष्ण धरावासीको ‘आधा बाटो’ पढ्दा भने उनको आँखा रसाएको छ, थुप्रै पटक ।

कथामा चाख राख्नेहरु तर पुस्तक पढ्न नपाएकाहरुलाई त काइदा थियो, श्रृति संवेग । कथा-साहित्यमा खासै रुची नभएकाहरुलाई पनि यसले कथा सुन्ने लत बसाइदियो ।

अनि रेडियोमा जोडिए

स्कुले साथी थियो, साहित्यमा खुब रुची राख्ने । कथा लेख्थे, कविता लेख्थे । ‘अनि उनको कविता चाहिँ मैले पढिदिनुपर्ने’ उनी सम्झन्छन्, ‘सायद मेरो आवाज उसलाई मन परेको थियो ।’

पछि उनी विद्यार्थीलाई ट्युसन पढाउन थाले, गणित र विज्ञान । सोही बखत एक जना विद्यार्थीले उक्साए, ‘तपाईंको स्वर कति मीठो छ रेडियोमा आवेदन दिनु न ।’ एचबिसी एफएमले कर्मचारीका लागि आवेदन खुला गरेको बेला थियो त्यो । विद्यार्थीकै जोडबलमा अच्युत घिमिरेले फर्म भरे ।

सयौं प्रतिस्पर्धीलाई उछिन्दै उनीसहित तीन जना छनौट भए, कुवेर चालिसे र देवेन्द्र गौतम । सुरुमा अडियो लाइब्रेरीमा काम गर्नुपर्ने । वर्षदिनपछि बल्ल समाचार वाचन गर्ने मौका मिल्यो । समाचार वाचन गर्ने क्रम बाक्लिदै गयो ।

त्यसपछि उनले सुरु गरेका हुन्, कथा वाचन । एचबीसी हुँदै उज्यालो रेडियो नेटवर्कसम्म आइपुग्दा उनलाई यसैले पच्छ्याइरह्यो । स्टेशन फरक थियो तर प्रारुप उही । समयक्रममा त्यही नै उनको परिचय बन्यो, जीवनको धुन पनि । आज उनी कथाहरुको यो आलोकबाट भाग्न सक्दैनन् ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?