+
+

लोककल्याणकारी राज्यका लागि यसो गरे कसो होला ?

समस्यामा परेका आफ्ना नागरिकलाई राज्य छ, सरकार छ अनि लोकतन्त्र पनि रहेछ भन्ने अनुभूति दिलाऊ । लोककल्याणकारी राज्यमा जनता बेसहारा हुँदैनन् । सबको सहारा सरकार हुन्छ, त्यो नै लोकतन्त्र हो ।

कृष्ण हुमागाईं कृष्ण हुमागाईं
२०८० चैत १ गते ९:१६

सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व बहन गरे मात्र लोककल्याणकारी राज्यको अनुभूति नागरिकले गर्न पाउँछन् । लोकतन्त्रमा आफ्ना नागरिकका प्रति राज्य उदासीन बन्न मिल्दैन । हो, हाम्रो मुलुक गरिब, पछौटे छ । तर यहींको स्रोत र साधनलाई न्यायोचित वितरण प्रणालीबाट व्यवस्थापन गर्न सकिन्छ ।

लोककल्याणकारी राज्यको रूपमा सरकारले दिंदै आएको वृद्धभत्ता, औषधि उपचार बीमा र सेवानिवृत्तलाई दिइने पेन्सन र उपदानलाई व्यवस्थित गर्न सकिन्छ । यी सुविधाहरूलाई आर्थिक वर्गका आधारमा स्वेच्छिक गर्न सकिन्छ । कसैले म यस्तो सुविधा लिन्न भन्यो भने त्यस्तो घोषणा गर्ने नागरिकलाई राज्यले स-सम्मान कदर पत्र प्रदान गर्नुपर्दछ । धनीहरूबाट स-सम्मान बढी कर लिएर गरिबहरूको हितमा खर्च गर्ने परिपाटीको विकास गर्नु आवश्यक छ ।

यहाँ स्वास्थ्य बीमा, वृद्धभत्ता, पेन्सनपट्टा, अवसर, नेतृत्व, व्यवस्था र अवस्था अनि गरिबलाई न्याय र राहतका विषयमा सामान्य चर्चा गरौं ।

(१) अनिवार्य स्वास्थ्य बीमा

गरिबका लागि वरदान सावित हुँदै गरेको स्वास्थ्य बीमालाई अनिवार्य गरिनुपर्दछ । स्वास्थ्य बीमालाई जन्मदर्ता, विवाह दर्ता, नागरिकता, जग्गा रजिष्ट्रेशन, सवारी साधन चालक अनुमतिपत्र र खरिद-बिक्री, बैंक खाता, पान नम्बर, भ्याट नम्बर दर्तार् राहदानी, लोकसेवा, सबै सरकारी सेवाका लागि धनी, गरिब सबैलाई अनिवार्य गरिनुपर्दछ । यसो भयो भने धनीहरू निजी अस्पताल र विदेशका महङ्गा अस्पतालमा उपचार गर्न गए भने पनि उनीहरूले बीमा गरेको पैसाले गरिबलाई निःशुल्क उपचार गर्न धेरै सहज हुन्छ ।

सबैलाई स्वास्थ्य बीमामा अनिवार्य गर्ने हो भने अहिलेको एक लाखसम्मको बमिा सुविधा रकममा वृद्धि गरेर १० लाखसम्मको पुर्‍याउन सकिन्छ । सबैले स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने कानुन बनाइनुपर्छ । कोही कसैले दिनको १० रुपैयाँ पनि बचत गर्न सक्दैन र एक वर्षको बीमा रकम ३५०० (तीन हजार पाँचसय) तिर्न सक्दैन भने सम्बन्धित वडा कार्यालयमा सार्वजनिक सूचना आहृवान गरेर निवेदन लिई सरकारले नै बीमा शुल्क तिरिदिनुपर्छ । यस्ता असहाय, विपन्न नागरिकलाई गाँस, बास र कपासको व्यवस्था पनि राज्यले नै गर्नुपर्छ ।

स्वास्थ्य बीमामा पनि अति विपन्न, विपन्न र कमजोर आर्थिक अवस्था जस्तो गरी वर्गीकरण गरेर ‘क’ वर्गको सबै बीमा शुल्क, ‘ख’ वर्गको आधा र ‘ग’ वर्गको २५ प्रतिशत बीमा शुल्क राज्यले तिरिदिने र बीमाको भुक्तानी दाबीलाई बढाएर एक लाखबाट कम्तीमा दश लाख पुर्‍याइनुपर्दछ । अन्यलाई आफैं बीमा गर्ने र दश लाखको बीमा दाबी भुक्तानी व्यवस्थालाई कायम राखिनुपर्दछ । विपन्नको सुविधा लिएर बैंकबाट कर्जा लिनेलाई रोक लगाइनुपर्छ । विपन्न पनि हुँ भन्ने र बैंकबाट कर्जा पनि माग गर्ने सुहाउँदो कुरा भएन । गरिब हो भने गरिबीको सुविधामा बस्नु पर्‍यो, सक्षम हो भने आफ्नो बीमा आफैं गर्नुपर्‍यो ।

बीमाको नियमित औषधि सेवन गर्नेहरूलाई तीन महिनाको औषधि एकै पटक उपलब्ध गराएर हरेक तीन महिनामा स्वास्थ्य परीक्षण गरेर सम्बन्धित वडाको स्वास्थ्य कार्यकर्ता मार्फत औषधि उपलब्ध गराउने र औषधि खाने तरिकाका विषयमा सहजीकरणको प्रबन्ध मिलाइनुपर्दछ । जटिल प्रकृतिको रोग लागेमा आर्थिक वर्गका आधारमा औषधि उपचारको प्रबन्ध राज्यले मिलाउनुपर्दछ । आर्थिक रूपमा सक्षमले आफैं उपचार गरेर सभ्य नागरिकको परिचय दिइहाल्छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पतालहरूमा दिइने स्वास्थ्य सेवाले मात्र बिरामी निको हुने अवस्था नभएमा अहिले जस्तो रेफर लैजाने नियमलाई अन्त्य गरेर नेपालको जुनसुकै स्थानमा बीमा गरेको मानिसले देशको जुनसुकै अस्पतालमा बीमा कार्ड देखाएर निःशुल्क स्वास्थ्य सेवा पाउने नियम बनाइनुपर्दछ । यसमा निजी र सरकारी भन्ने कुरै आउँदैन । सबै अस्पतालहरूले बीमा गरेका बिरामीको औषधोपचार प्राथमिकताका साथ गर्नै पर्ने अन्यथा कारबाही हुने कानुनी प्रबन्ध तत्काल मिलाइनु पर्दछ ।

सबैलाई अनिवार्य स्वास्थ्य बीमामा समावेश गराएपछि देशका सबै अस्पतालमा बीमाबाट औषधि उपचारको प्रबन्ध मिलाउन सकिन्छ । किनकि सबै मानिस एकै पटक सामान्यतया बिमारी हुँदैनन्, महामारीको समस्यामा बाहेक । अनि स्वस्थ मानिस रोगी बनेर विना कारण औषधि खान पनि जाँदैन, चाहँदैन । औषधि खाएर आयु लम्ब्याउनु भनेको बाध्यतामा बाँच्नु हो । मानिस बाध्यताको आयु भन्दा सहज जीवन जिउन चाहन्छ । रोग नै लागेपछि वा दुर्घटना भएपछि त अस्पताल जानै पर्‍यो । उपचार गराउनै पर्‍यो ।

(२) वृद्धभत्ता

६८ वर्ष पार गरेपछि उपलब्ध गराइने वृद्धभत्तालाई विभेदकारी बनाइनुहुँदैन । एकल महिला, पुरुषका हकमा जुन उमेरको भए पनि दिए हुन्छ । दोहोरो भार र मार राज्यलाई नपर्ने गरी यसको वितरण हुनुपर्छ । जस्तो कि २५ वर्षको हुँदा विधवा भत्ता पाएकोले ६८ भएपछि जुन भत्ता बढी हुन्छ, त्यो दिएर अर्को भत्ता कटौती गरिनु उचितै हुन्छ, तर एकाघर सगोल परिवारमा कोही पनि छैन सहारा भने यस्तो अवस्थाको एकललाई भत्ता यथावत् राखिनुपर्छ । सरकारी सेवा, सुविधा र निवृत्तिभरण लिनेको एकाघर परिवारलाई पनि वृद्धभत्ताको दायराबाट अलग गरिनुपर्दछ । एकै परिवारलाई राज्यको दोहोरो सुविधा दिनु उचित हुन्न । अहिले हाम्रो राज्यले यस्तो प्रकारको अनावश्यक आर्थिक भार थेग्न सक्दैन ।

वृद्धभत्ता पनि आर्थिक रूपमा विपन्नलाई मात्र दिए हुन्छ । तीन करोडको गाडी चढेर महिनाको चार हजार भत्ता थाप्न जानेलाई नै लाज लाग्नुपर्ने हो । यसका लागि ‘क’, ‘ख’, र ‘ग’ वर्गको वर्गीकरण गरेर भत्ता वितरण गरिनु उचित हुन्छ । ‘क’ अति विपन्न, ‘ख’ विपन्न र ‘ग’ आर्थिक कमजोर गरी तीन वर्ग बनाउन सकिन्छ । ‘क’ वर्गः जसको चल, अचल केही सम्पत्ति, रोजगारी केही नभएको नागरिक । ‘ख’ वर्गः बसोवाससम्म भएको रोजगारी नभएको । ‘ग’ वर्ग अचल सम्पत्ति भएको चल र रोजगारी नभएको । अर्थात् सम्पूर्ण सम्पत्ति एक करोड भन्दा कम भएकालाई माथि उल्लिखित तीन वर्गमा वर्गीकरण गरेर अन्यलाई वृद्ध भत्ता लिने वा नलिने स्वेच्छिक घोषणा र माग निवेदन लिएर वितरण प्रक्रिया थाल्नुपर्दछ । यस्तोमा ‘क’ वर्गलाई १० हजार, ‘ख’लाई ८ हजार र ‘ग’लाई मासिक ६ हजारका दरले उपलब्ध गराउन सकिन्छ । किनकि वर्गीकरण गर्नासाथ भत्ता लिने आधा जनसंख्या घटिहाल्छ ।

वृद्धभत्ता लिएको परिवारको एकाघर सगोलको परिवारको सदस्यले बैंकिङ कारोबार गर्दा कर्जा नपाउने नियम बनाइएमा उद्योग, व्यापार गर्नेहरूले राज्यबाट लिंदै आएको यस्तो सुविधा स्वतः कटौती भएर जान्थ्यो र राज्यलाई भार पर्ने थिएन । किनकि विपन्नले यस्तो सुविधा लिने हो । कर्जा त बैंकले सम्पत्ति हुनेलाई दिने हो । तसर्थ बैंकबाट धनी छु भनेर कर्जा लिने अनि राज्यलाई गरिब विपन्न छु भनेर सुविधा खानेहरू आफैं ठेगान लाग्नेथिए । यसमा भत्ता लिइरहेको अवस्थामा कोही कसैको चामत्कारिक आर्थिक प्रगति भएमा त्यस्तो व्यक्तिलाई पनि भत्ताको दायराबाट वर्गीकरण गरी अलग गरिनुपर्दछ ।
कसैले सम्पत्ति भएर पनि भत्तामा दाबी गरिरहन्छ भने सम्पूर्ण सम्पत्तिको कबुलियतनामा गराएर ढाँटे-छलेको छैन, यदि त्यस्तो गरेको ठहरिएमा राज्यले मेरो चल, अचल सम्पत्ति जफत गर्दा मञ्जुरी छ भन्ने फारम भराएर ठहरिएको खण्डमा जफत गर्ने प्रक्रियालाई द्रुत गतिमा अघि बढाइनुपर्दछ ।

(३) निवृत्तिभरण र उपदान

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीको संख्या दिनानुदिन बढ्दै गएको, तलब-भत्ता र निवृत्तिभरण पनि प्रत्येक वर्ष बढ्दै गएका कारण राज्यलाई थेग्न मुश्किल हुने गरी आर्थिक भार परिरहेको छ । सरकारी सेवामा रहँदा उचित, अनुचित अनेक ढङ्गले अकुत सम्पत्ति कमाएका धनाढ्य र सामान्य आर्थिक अवस्थाका सेवा निवृत्तलाई एकै प्रकारको निवृत्तिभरण हुनुहुँदैन । यसमा पनि योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम आर्थिक वर्गका आधारमा लागू गरिनु उचित हुन्छ । सेवा निवृत्त भएर पनि ठूल्ठूला उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरिरहेकालाई निवृत्तिभरणको दायित्वबाट अलग गरिनुपर्दछ । मलाई अब राज्यले निवृत्तिभरण दिनुपर्दैन भनेर स्वघोषणा गर्ने व्यक्तित्वलाई राज्यले सम्मान, कदर गर्नुपर्छ ।

उपदानको हकमा पनि उपदान लिएका बखतको भन्दा धेरै नै आर्थिक उपलब्धि र प्रगति भएकाहरूले स्वघोषणा मार्फत राज्यलाई उपदान फिर्ता गरेर देश र जनताको सेवा गर्ने अवसर राज्यले प्रदान गर्नुपर्दछ । बाँचुञ्जेलसम्मका लागि हो सम्पत्ति । कसैको सम्हालिनसक्नु र कसैको सम्हाल्नै नपाउनु अवस्था हुनुभएन लोकतन्त्रमा । राजा, राणा र पञ्चले हरिकङ्गाल बनाएर धनी र गरिबबीचको भयानक खाडल बनाएको हाम्रो मुलुकलाई समानतामा आधारित लोककल्याणकारी उन्नत लोकतान्त्रिक देश बनाउनु छ । यसमा सच्चा लोकतन्त्रवादीले उदार मनले गरिबको कल्याण हुने कार्यक्रम बनाउनै पर्दछ ।

(४) सर्वकालिक होइन, जनताप्रति वफादार आवधिक नेतृत्व आवश्यक

लोकतन्त्रमा जनताभन्दा शक्तिशाली अरू कोही हुँदैन । तर यहाँ त दलका शीर्ष नेताहरूको सिन्डिकेट नै सर्वशक्तिमान् भइदिंदा जनतामा लोकतन्त्रको मर्म विपरीतको भावना पैदा हुन थालेको छ । जनताले चाहेको, सोचेको लोकतन्त्र र नेताले भोगेको लोकतन्त्रमा ठूलो अन्तर देखिन थालेको छ । जनताको काम सरकारी अड्डाबाट सहज र सरल ढङ्गमा हुँदैन । घुस नखुवाई जनताको काम नबन्ने व्यवस्था त लोकतन्त्र हुनै सक्दैन । लोकतन्त्रमा त जनताले सास्ती, हैरानी पाउनै हुँदैन ।

यो जनताले ल्याएको जनताको व्यवस्था हो । यो कुनै राजा-महाराजा वा कुनै निरंकुश, अधिनायकवादी शासकको मर्जीको व्यवस्था होइन । त्यसैले जनतालाई रैती सम्झिएर शासन चलाउन खोज्नेको राजनैतिक अन्त्य लोकतन्त्रमा चाँडै हुन्छ । लोकतन्त्रमा जनतालाई लामो समय झुक्याउन सकिन्न, किनकि यहाँ हरेक पाँच-पाँच वर्षमा आवधिक निर्वाचन हुने गर्दछ ।

(५) पटक-पटकको अवसरमा बन्देज आवश्यक

राजनैतिक पार्टी सत्ता र शासकीय सत्तामा एकै व्यक्ति वा परिवार बारम्बार दोहोरिएर टाँसिइरहने प्रवृत्तिले लोकतन्त्रको सुन्दरतामा धब्बा लागेको छ । एक व्यक्ति, एक पद र एक पटकको स्वेच्छिक नीति लागू गरेमा धेरै समस्याको हल हुने देखिन्छ ।

चुनावमा उम्मेदवार हुँदा नै म एक पटकको लागि मात्र यो पदको उम्मेदवार हो भन्ने स्वेच्छिक कबुलियतनामा गराउने हो भने जनताले पटक-पटक पदमा जान चाहनेहरूलाई पहिलो पटकमै चुनावको मैदानमै ठेगान लगाइदिने थिए । राष्ट्रिय आवश्यकताका आधारमा कोही कतै एकाध व्यक्तिहरू दोहोरिन पनि सक्छन् । यसका लागि स्वेच्छिक एकपटक र अनिवार्य चाहिं दुई पटकभन्दा बढी एउटै पदमा उम्मेदवार हुन नपाउने प्रावधान संविधानमै व्यवस्था गरिनुपर्दछ । त्यसो भयो भने राजनीतिलाई कमाइखाने भाँडो बनाउने र भ्रष्टीकरण गराउनेहरू व्यापार व्यवसाय गरेर वैधानिक तवरमै धनआर्जन गर्ने बाटोतिर लाग्नेछन् । यो संसदीय राजनीतिमा मात्र होइन, सामाजिक संघ-संस्थादेखि राजनैतिक दलहरूका सबै तह र निकायमा लागू हुनुपर्दछ । यसो हुनसकेमा मात्र विधिको शासनको सही पालना र कार्यान्वयन हुनेछ ।

जनताबाट चुनाव जितेर गएका प्रतिनिधि सभाका विधायकले विधि-विधान बनाउने, ऐन, कानुन, नीति, नियम तर्जुमा गर्ने काममा लाग्नुपर्दछ । प्रधानमन्त्री चुनिसकेपछि मन्त्रिमण्डलचाहिं सांसद भन्दा बाहिरबाट विषयका विज्ञहरूबाट छानेर गठन गर्ने परिपाटीको नीतिगत व्यवस्था गर्न सकेको खण्डमा सांसद बन्नका लागि करोडौं-करोड खर्च गर्न इच्छुकहरू त्यो पैसालाई उद्योग-व्यापार-व्यवसायतर्फ लगानी गर्न आकषिर्त हुनेछन् । र पैसा नहुने गरिबहरूको पनि संसदीय राजनीतिमा सहज प्रवेश हुनेथियो । नत्र त खर्चिलो चुनाव आर्थिक रूपमा कमजोरहरूका लागि पहुँचभन्दा बाहिरको विषय हुँदै आएकै छ ।

संसदीय फाँटका तीनवटै तहको सरकारका सबै निकायमा एक पदमा दुईपटक भन्दा बढी जिते पनि, हारे पनि उम्मेदवार हुन नपाउने अनिवार्य व्यवस्था गर्ने हो भने राजनीतिमा एकाधिकार जमाएर बसेका मठाधीशहरू स्वतः पलायन भएर जानेथिए र त्यो स्थानमा नयाँ अनुहारले मौका पाउने थिए । नत्र युवा वर्गको राजनीतिप्रति जुन अरुचि बढ्दो छ, त्यो वितृष्णामा बदलिन सक्छ ।

(६) व्यवस्था भन्दा अवस्थाप्रतिको असन्तुष्टि

अहिले युवा वर्गको राजनीति र देशबाटै जुन पलायन छ, त्यो व्यवस्थाप्रतिको वितृष्णा भन्दा अवस्थाप्रतिको असन्तुष्टि हो । केही पूर्वपञ्च र राप्रपाका मान्छेहरूले जात र धर्मका आधारमा नेपालीहरूमा विखण्डन ल्याउन खोजे पनि आजको देश-विदेश बुझेका सूचना र प्रविधिमा पहुँच भएका युवा वर्गले लोकतन्त्रको विकल्प तानाशाही, निरंकुश अधिनायकवाद रोज्दैनन्, खोज्दैनन् । उनीहरू योभन्दा उन्नत लोककल्याणकारी राज्य व्यवस्था भएको लोकतन्त्रको खोजीमा भौंतारिएका छन् ।

पश्चिमा लोकतान्त्रिक देशको जस्तो स्वतन्त्रता र सुविधा यहीं पाउने हो भने कोही पनि नेपाली आमाको न्यानो काख छोडेर लालाबालालाई रुवाउँदै परदेशिन चाहँदैन । परदेश गएकाहरू पनि एकदलीय अधिनायकवादी कम्युनिस्ट शासन भएका मुलुक वा तानाशाही अधिनायकवादी देशहरूमा गइरहेका छैनन् । लोकतान्त्रिक अर्को देशमै आफ्नो भाग्य र भविष्य खोजिरहेछन् युवाहरू । त्यसैले युवाले लोकतान्त्रिक व्यवस्था नरुचाएको होइन, लोकतन्त्रको मर्म अनुसार चल्न नसकेको देशको वर्तमान अवस्था भने नरुचाएकै हुन् । अनि यी बुढा नेताले यहाँभन्दा अघि देशलाई लैजान सक्दैनन् भन्ने आम नेपालीको स्पष्ट ठम्याइ बाहिरिइसक्यो ।

परिवर्तनका लागि फासिस्ट पञ्चायती व्यवस्था र राजाहरूसँग जे-जति संघर्ष गर्नुभयो त्यसका लागि धन्यवाद, अब पालो युवाको । युवालाई हरेक क्षेत्रमा अगाडि बढाएर आफू पछि बसेर मार्गनिर्देश गरेर देशको हितमा सोचिदिन ज्येष्ठ नेतृत्वलाई हार्दिक अनुरोध छ ।

(७) गरिबलाई राहत र न्याय देऊ

किसान, मजदुर लगायत गरिखाने श्रमजीवी वर्गलाई राज्यले विशेष सुविधाको व्यवस्था गर्नुपर्छ । गरिबीको रेखामुनिको जनसंख्यालाई विपन्नको कार्ड बनाएर सहकारी पसल मार्फत सहुलियतमा खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री परिवार संख्याका आधारमा उपलब्ध गराउने व्यवस्था तत्काल लागू गर्नुपर्दछ । अहिले चिसो मौसम सकिएर गर्मी सुरु हुँदैछ । चिसो बढेसँगै गरिबको झुपडीमा जाडो भित्रिन्छ भने गर्मीमा मच्छड र पसिनाको खोलो । धनी, पूँजीपतिहरूकोमा त तातो चिसो दुवै बनाउने अनेक प्रकारका विद्युतीय उपकरणहरू हुन्छन् । गरिबको घरमा न्यानोका लागि दाउरा पनि हुँदैन भने चिसो भनेको रूखको सयल र माटोको घैलाको पानीकै भर त हो ।

ओढ्ने-ओछ्याउने पनि पातलो, च्याङ्लो मात्र हुने भएकाले जाडोयाममा ठिही र शीतलहरका कारण गरिब परिवारका ज्येष्ठ नागरिक, बालबालिका मात्र होइन वस्यकहरू पनि अति प्रभावित हुने गरेका छन् भने गर्मीमा पनि हप्याक, हप्याक भएर बस्नु परेको हुन्छ सुत्केरी र बालबालिकाले समेत बर्सेनि । कतिपय अवस्थामा त जाडोका कारण न्यानो लुगा र इन्धन, ऊर्जा नपाएर गरिबले प्राण त्याग गर्नु परेको छ भने गर्मीमा मच्छड र विषालु सर्पको टोकाइबाट कतिले अकालमै ज्यान गुमाउनु परिरहेको छ । विगत वर्षहरूमा त्यसैले तीन तहकै सरकारले विपन्नहरूका लागि जाडो गर्मीबाट बचाउन, आगो बाल्ने दाउरा, लगाउने, ओढ्ने, ओछ्याउने न्यानो कपडाका साथै पंखा, फ्रिज, झुल वितरणको प्रबन्ध बेलैमा गर्नुपर्दछ ।

आर्थिक रूपमा विपन्न हुनु भनेको कुनै अपराध गरेको होइन । राज्य लोककल्याणकारी भएन, राज्य व्यवस्था समाजवादी भएन भने मानिसहरू गरिब हुन्छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका प्रति राज्यले पूर्ण उत्तरदायित्व बहन गरेको अवस्थामा कोही पनि गरिब, भीखमाग्ने हुँदैन । सबैले पढ्न पाउँछन्, बिरामी हुँदा ओखतिमुलो पाउँछन् र रोजगारी गरेर खानेछन् । रोजगारी नपाए तिनको खाने-बस्नेको प्रबन्ध राज्यले नै गरिदिन्छ । त्यसैले लोकतान्त्रिक व्यवस्थालाई संसारकै उत्कृष्ट र सभ्य शासन प्रणाली भनिएको, मानिएको हो ।

हामीकहाँ त लोकतन्त्र छ । लोकतन्त्रसँगै विकराल भोकतन्त्र पनि छ । लोकतन्त्रमा कोही युरोपियन स्तरमा त कोही संसारको सबैभन्दा गरिब ? यस्तो पनि विभेद हुनुहुन्छ त ? यस्तो दारुण चित्रले हाम्रो लोकतन्त्र, हाम्रो शासन प्रणालीलाई गिज्याउँदैन ? देशको नेतृत्व गर्ने र सरकारमा बसिसकेका दलका नेताहरूलाई लाज लाग्नुपर्ने हो ।

धनी र गरिब त युरोप अमेरिकामा पनि होला । सबै समान आर्थिक हैसियतका पक्कै पनि छैनन् । तर त्यहाँ खान, लाउन नपाएर, औषधि-उपचार नपाएर, बास नपाएर कोही मर्दैन । राज्य आफ्ना नागरिकहरूप्रति उत्तरदायी हुन्छ । लोकतन्त्रमा राज्य सञ्चालकहरू देश र जनताप्रति उत्तरदायी, जवाफदेही हुनै पर्छ । नत्र त्यो लोकतन्त्र हुँदैन, होइन ।

हामीकहाँ निरंकुश राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्थाले गरिबलाई झन् गरिब बनाएर उठिबास लगायो, बसाइँ हिंडायो । तर बहुदल प्राप्तिका तीन दशकसम्मा पनि गरिबी निवारण नहुनु र राज्य लोककल्याणकारी बन्न नसक्नुले लोकतन्त्रका प्रति जनतामा भरोसा कम हुँदै जान सक्छ । यसले देश र जनताको दुर्भाग्यका दिन निम्त्याउन सक्छ ।

जनताका मनमा बढिरहेको निराशा, कुण्ठा, संशय र विपत्तिपनालाई बेलैमा सम्बोधन गर । त्यसभन्दा पहिला झुपडीका गरिबहरूलाई तीनै तहका सरकारले संयुक्त कार्ययोजना बनाएर जाडो, गर्मी, झरी, बादल, हावा, हुरीमा आवश्यक राहत सामग्री प्रदान गर । समस्यामा परेका आफ्ना नागरिकलाई राज्य छ, सरकार छ अनि लोकतन्त्र पनि रहेछ भन्ने अनुभूति दिलाऊ । लोककल्याणकारी राज्यमा जनता बेसहारा हुँदैनन् । सबको सहारा सरकार हुन्छ, त्यो नै लोकतन्त्र हो ।

(लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?