+
+

कांग्रेसको प्रश्न : आफैं आरोपित गृहमन्त्रीले उस्तै प्रकृतिका दोषीलाई कसरी कारबाही गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते ११:५०

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सुरुमै उठेर कांग्रेसका सांसदहरु उठे । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका हुन् ।

‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने ।

गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न रहेको उनले दोहोर्‍याए । सहकारी पीडितहरु आन्दोलनमा रहेको उल्लेख गर्दै उनले सहकारी पीडितको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।

उपप्रधानमन्त्री लामिछानेलाई उनको प्रश्न छ, ‘सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ ?’

लामिछानेलाई रक्षाकवच बनाएर अन्य भ्रष्टाचारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका पनि उनले गरे । सांसद पाण्डे थप्छन्, ‘कतै तपाईंको पोजिशनलाई रक्षाकवच बनाएर एक/दुई करोड मात्रको अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौं अबौंको माछाहरु उम्काने प्रपन्चको तपाईं हतियार त बनिरहनुभएको त छैन ? मित्र रवि लामिछानेलाई यो सुझाव दिनु मितवत कर्तव्य नै ठान्दछु ।’

यी समग्र विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसको माग छ । गत फागुन ६ गतेदेखि १८ गतेसम्म तत्कालीन प्रतिपक्षीले उठाएका संगीन प्रश्नको जवाफ दिन २१ गते सदनमा आउनुपर्ने भनी सभामुखबाट रुलिङ भएको पनि सांसद पाण्डेले स्मरण गरे ।

तर, प्रधानमन्त्री फागुन २४ गते नयाँ सत्ता समीकरणसहित संसदमा प्रकट भएको भन्दै उनले भने, ‘विवादको घेरा र अनुसन्धानको दायरामा रहेका मन्त्रीहरुलाई बर्हिगमन गर्नकै निम्ति मन्त्रिपरिषद् पुनर्गगठन गर्नुपरेको प्रधानमन्त्रीको जवाफलाई हामीले सूक्ष्मतापूर्वक नियालेका थियौं । प्रधानमन्त्रीबाट सगौरव स्थापित यस सिद्धान्तले संसदीय व्यवस्थालाई बल पुर्‍याउँछ कि भन्ने शंकाको लाभ पनि दिएका थियौं ।’

तर, आफूहरुले दिएको शंकाको लाभ अनुसार प्रधानमन्त्रीले व्यवहार नगरेको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्रीको पोर्टफोलियोसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका माननीयलाई सुम्पेपछि उहाँप्रतिको झिानो आशा धुजा धुजा भएको छ ।’

फेरि पनि प्रधानमन्त्रीको जवाप चाहिने उनले बताए । उनले भने, ‘यस जायज प्रश्नलाई प्रधानमन्त्रले कसरी जवाफ दिनुहुन्छ ? दूधको दूध पानीको पानी छुट्याएर पीडितलाई न्याय दिने अविभारा र विवादास्पद नियुक्तिको विरोधाभासमा प्रधानमन्त्रीको धारणा के हो ? यसको जवाफ नेपाली कांग्रेसले खोजिरहेको छ भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सभामुखलाई यस सम्बन्धमा जवाफका लागि प्रधानमन्त्रीलाई यथाशीघ्र रुलिङ गर्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?