+
+

शुक्लाफाँटाको चौधर नदीमा छाड्न घडियाल गोही पठाइयो

रासस रासस
२०८० चैत १ गते १३:५८
फाइल तस्वीर

१ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो ।

चौधर नदीमा लिखितरुपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् । तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गोही लिन आउनुभएका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोज ऐरले झण्डै ४० घण्टा लगाएर गोही लैजान लागेको बताए । शनिबार औपचारिक कार्यक्रम गरी नदीमा गोही छोडिने उनले बताए ।

निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो ।

कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ ।

यो नदी भारततर्फको महाकाली नदीमा गएर मिसिने उनले जानकारी दिए । चौधर नदीले शुक्लाफाँटा निकुञ्जलाई बीचबाट दुई भागमा विभाजन गरेको छ । यस वर्ष गोही प्रजनन केन्द्रबाट १० वटा गोही बाँकेको राप्ती नदीमा छोड्ने गरी पठाइएको थियो ।

प्रजनन केन्द्रमा हुर्काइएका थप ४० वटा गोही केही दिनमा राप्ती र नारायणी नदीमा छोड्ने योजना बनाइएको छ । हरेक वर्ष राप्ती र नारायणी नदीको बगरमा गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरली हुर्काउने गरिन्छ । प्रजनन केन्द्रमा समेत गोहीले पारेका अण्डाबाटसमेत कोरलिएको बच्चालाई यहाँ हुर्काउने गरिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?