+
+

खरिद नियमावली संशोधनपछि निर्माण व्यवसायीलाई दिनुपर्ने थप दायित्व ४० अर्बमाथि

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहका अनुसार व्यवसायीले अब भुक्तानीका लागि पेस गर्ने तयारी गरिरहेको बिलको कुल रकम ४० अर्बभन्दा माथि जान्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० चैत १ गते १८:३१

१ चैत, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीमा गरेको १३औं संशोधनपछि निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी दायित्व ४० अर्ब रुपैयाँभन्दा माथि पुग्ने भएको छ ।

निर्माण व्यवसायीका अनुसार त्यसमध्ये सबैभन्दा ठूलो दायित्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छ । यसबाहेक सिँचाइ, खानेपानी मन्त्रालयबाट समेत ठूलो दायित्व सिर्जना हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहका अनुसार व्यवसायीले अब भुक्तानीका लागि पेस गर्ने तयारी गरिरहेको बिलको कुल रकम ४० अर्बभन्दा माथि जान्छ ।

यो सार्वजनिक खरिद नियमावलीले आयोजनाको म्याद थपको बाटो खुला गरेसँगै भुक्तानीको दाबी पुग्ने रकम भएको उनको भनाइ छ ।

अर्कातर्फ, चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा भएको कामको २० अर्ब हाराहारी भुक्तानी बाँकी रहेको समेत उनले जानकारी दिए । योसँगै एकसाथ ६० अर्ब रुपैयाँ बराबर दायित्व सरकारसमक्ष आउने देखिएको छ ।

चालुतर्फ भौतिक मन्त्रालयमा १० अर्ब र म्याद थप हुने आयोजनाबाट यस मन्त्रालयमा ३० अर्ब बराबर दायित्व आउने देखिएको निर्माण व्यवसायीको अनुमान छ ।

अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माका अनुसार म्याद थप गर्दा उत्पन्न हुन सक्ने दायित्व ४० अर्ब हाराहारी आउने अनुमान सरकारले गरेको छ ।

यो स्थानीय र प्रदेश सरकारबाट भएको कामको हुन सक्ने तर यसको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए ।

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले जाँदाजाँदै २ अर्ब ९७ करोड रुपैयाँ निर्माण व्यवसायीको दायित्व भुक्तानी निकासा दिएका थिए । त्यसबाहेकको दायित्व भने अब सरकारले तिर्नुपर्ने अवस्था छ ।

निर्माण व्यवसायीले म्याद थप र दायित्व भुक्तानी माग गर्दै लामो समय आन्दोलन गर्नुपरेको थियो । दसैंअघि नै म्याद थप निर्णय भएको भए व्यवसायीले भुक्तानी पाउने र त्यसले अर्थतन्त्र चलायमान बनाउने देखि पूँजीगत खर्च बढाउन समेत सहयोग पुग्ने अध्यक्ष सिंह बताउँछन् ।

‘अघिल्लो अर्थमन्त्रीज्यूको पालामा धेरै नै आलटाल भयो,’ उनी भन्छन्, ‘भएको कामको भुक्तानी नपाउँदा निर्माण व्यवसाय नै चलायमान हुन सकेन, यसले रोजगारी सिर्जना, राजस्व संकलन र अर्थतन्त्रमै असर गर्‍यो ।’

ढिला गरी म्याद थप हुँदा आर्थिक वर्षको अन्तिममा आयोजना तयारीमा लाग्नुपर्ने हुँदा पूँजीगत खर्च यस वर्षसमेत प्रभावित हुने देखिएको छ ।

यसअघि १४ फागुनको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीमा १३औं संशोधन गरेको थियो । उक्त संशोधनले आयोजनामा ठेकेदारले म्याद थप प्रस्ताव गर्ने र आयोजनाले औचित्यका आधारमा म्याद थप गर्न सक्ने गरी बाटो खोलेको थियो ।

यस संशोधनले म्याद सकिनु अगाडि २१ दिनभित्र निवेदन दिने म्याद थपका लागि कार्य सम्पादन जमानत, बीमा र पेस्कीसम्बन्धी जमानत समेत राख्नु नपर्ने भएको छ । म्याद सकिएका आयोजनाका हकमा ३० दिनको समय राखेर निवेदन दिन सकिने प्रावधान छ ।

विकासभन्दा ऋण तिर्न धेरै बजेट खर्च

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आव २०८०/८१ को आठ महिना (साउन–फागुन) अवधिमा ८१ अर्ब २१ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो लक्ष्यको तुलनामा २६.८९ प्रतिशत मात्र हो ।

चालु खर्च ५ खर्ब ८२ अर्ब रुपैयाँ भएको छ । यो लक्ष्यको तुलनामा ५०.९८ प्रतिशत हो । समग्र सार्वजनिक खर्च भने ८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजन लक्ष्यको तुलनामा ४५.०८ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

यस वर्ष फागुन मसान्तसम्म वित्तीय व्यवस्थामा १ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ४४.९७ प्रतिशत हो । यस वर्ष विकासमा भन्दा सार्वजनिक ऋण भुक्तानीमा धेरै बजेट खर्च गर्नुपर्ने देखिएको छ ।

अर्कातर्फ, राजस्वले मुस्किकले चालु खर्चमात्र धानिरहेको अवस्थामा सरकारले खर्च कटौती गर्दा समेत विकासकै बजेट काटिरहेको छ । सरकारले पूँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्र भने चुस्त छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?