+

सुत्दा घुर्ने समस्याले दम्पतीको सम्बन्धमा कति असर गर्छ ?

२०८० चैत  १ गते १६:४४ २०८० चैत १ गते १६:४४
सुत्दा घुर्ने समस्याले दम्पतीको सम्बन्धमा कति असर गर्छ ?

सुन्दा सामान्य लाग्नसक्छ । तर राति सुत्दा घुर्ने समस्याले कहिलेकाहीं सम्बन्धमै चिसोपन ल्याउँछ, खासगरी दम्पतीको हकमा ।

चिकित्सकहरु भन्छन्, ‘चर्को घुर्ने बानी आफैंमा रोग हो । यसलाई मेडिकल भाषामा ‘अब्सट्रक्टिभ स्ली एप्निया’ भन्छ । विज्ञका अनुसार यस स्थितिमा सास फेर्ने क्रममा अवरोध आउँछ । यो रोगको कारण गलाको मांसपेशी खुल्ने र खुम्चिने हुन्छ । यसले गर्दा सामान्य रुपले सास फेर्न असहज हुन्छ । र, शरीरमा अक्सिजन प्रवाह कम हुन्छ ।

स्लीप एप्नियाको लक्षण एकनास भने हुँदैन । यो आशिंक, मध्यम र गम्भीर किसिमको हुन्छ । धेरैजसो समयक्रममा गम्भीर हुँदै जान्छ । यदि समयमै उपचार गरिएन भने घुर्ने समस्याले शारीरिक र मानसिक समस्या निम्त्याउँछ । खासगरी आफ्नो पार्टनरलाई यसले असहज बनाउँछ ।

स्वास्थ्य समस्या

अब्सट्रक्टिभ स्लीप एप्नियाले स्वास्थ्यसम्बन्धी अरु समस्या पनि निम्त्याउँछ । विशेषज्ञको चेतावनी छ- यसको कारण रगतमा अचानक अक्सिजनको कमी हुनसक्छ र उच्च रक्तचाप बढ्न सक्छ ।

कतिपय अध्ययनमा के पाइएको छ भने घुर्ने समस्याले मुटुरोग र हृदयघातको जोखिम उच्च बनाइदिन्छ । अर्कोतर्फ यसले दम्पतीको सम्बन्धमा पनि तगारो ल्याउने गरेको छ । श्रीमान् वा श्रीमतीमध्ये एकजना चर्को घुर्ने गर्छन् भने पार्टनरले राम्ररी सुत्न वा निद्रा लिन सक्दैनन् । एकसाथ सुत्न कठिन हुन्छ । यसले निद्रा बिथोलिने त छँदैछ, दम्पतीबीच कलह पनि पैदा गर्न सक्छ ।

घुर्ने समस्याकै कारण कतिपय दम्पती अलग–अलग सुत्ने गरेको पाइन्छ ।

गम्भीर समस्या

ब्रिटिश स्नोरिङ एण्ड स्लीप एप्निया एसोसिएसनका अनुसार बेलायतमा डेढ करोड मानिस चर्को स्वरमा घुर्ने गर्छन् । यसले तीन करोड व्यक्ति घुर्ने समस्याको झन्झन्ट झेलिरहेका छन् । हालैको एक सर्वेक्षणअनुसार यसरी घुर्नेमा पुरुषको संख्या बढी छ र त्यसबाट उत्पन्न असर महिलामा बढी छ ।

अमेरिका र बेलायतमा घुर्ने समस्याकै कारण कतिले सम्बन्ध विच्छेद पनि गरेका छन् । यद्यपि यसको तथ्यांक पाउन भने कठिन छ । बेलायतमा रहने एक पारिवारिक वकिलका अनुसार हाल उनले हेरिरहेको मुद्दामध्ये केही मुद्दा घुर्ने समस्यासम्बन्धी छ ।

उनका अनुसार दम्पतीबीच हुने कलहमा घुर्ने कारण पनि समावेश छ । सामान्य लागे पनि यो समस्याले दम्पतीलाई एकसाथ सुत्न अवरोध गर्छ । सुत्ने ओछ्यान मात्र होइन, कोठा नै अलग-अलग बनाउनुपर्ने बाध्यता हुन्छ ।

यो समस्याबाट कसरी छुटकारा पाउने ?

स्लिप एप्नियाबाट बच्नका लागि सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो, जीवनशैलीमा सुधार ।

-तौल नियन्त्रण गर्ने

-चुरोट तान्न छाड्ने

-रक्सीको मात्रा घटाउने वा सकेसम्म नपिउने

कतिपयलाई भने यतिले मात्र पुग्दैन, यन्त्रकै सहारा लिनुपर्ने हुनसक्छ । यस्तो यन्त्रले सुत्ने समयमा एक किसिमको मास्क लगाइन्छ, जसको मद्दतले सास फेर्ने क्रममा अवरोध हुन दिंदैन । विज्ञहरुको सुझाव छ- यदि घुर्ने समस्याले असहज बनाएको छ भने चिकित्सकको सल्लाह लिन र उचित उपचार गर्न जरुरी छ ।

बीबीसीबाट

घुर्ने समस्या दाम्पत्य जीवन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय