+
+

आधुनिकताको आधार रैथानेवाद

दैनिक उपभोग्य वस्तुमा चर्को कर र रेमिट्यान्समा अडिएको अर्थतन्त्र हावामा बनेको तासको घर जस्तै हो । जबसम्म सरकारले रैथाने ज्ञान–सीप, प्रविधि र संस्कृतिको संरक्षण, प्रवर्द्धन, विकास, उत्पादन र बजारीकरण गर्दैन, देशको अर्थतन्त्र बलियो हुनसक्दैन ।

डीबी नेपाली ‘दमु’ डीबी नेपाली ‘दमु’
२०८० चैत ४ गते १८:४०
भक्तपुरमा परम्परागत परिकार तयार गरिंदै ।

पछिल्लो समय देशमा रैथाने र रैथानेवाद बहस सुरु भएको छ । तीन वर्पअघि केही अभियन्ताहरू मिलेर रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानमा संगठित भएर यो बहस अगाडि बढाउने प्रयत्न गरेका थियौं । फलस्वरूप २०७९ चैत २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनार्थ एक अध्ययन समिति नै गठन भएपछि अझै चर्चा चुलिएको हो । अहिले रैथाने खाना, बाजा, हाटबजार, संस्कृति, भेषभूषा, सम्पदा पदयात्रा तथा सिकाइ केन्द्रहरू ब्रान्डकै रूपमा देशव्यापी प्रवद्र्धन भइरहेका छन् ।

रैथानेमा गर्व गरौं भन्ने कुरा चालु आर्थिक वर्षको बजेट शीर्षकहरू मध्ये एउटा मूल विषय नै थियो । तथापि यदाकदा केही लेखक, बुद्धिजीवी, प्राध्यापक, बौद्धिक एवम् प्राज्ञिकहरूले नै रैथानेवादले आधुनिकतालाई स्वीकार नगर्ने भनाइ आइरहेको सन्दर्भमा यो लेख लेखिएको हो ।

मुलुकको राष्ट्रिय शिक्षा नीति २०७६ मा नै यस्तो मौलिक विषय अध्यापन गर्ने विशिष्टकृत विश्वविद्यालय स्थापना गरिने कुरा उद्घोष गरिएको छ । त्यसैले मन्त्रालयले प्रस्तावित विश्वविद्यालयबारे अध्ययन गराई सोही प्रतिवेदनका आधारमा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समिति गठन भई हाल काम गरिरहेको छ । यो विषय समग्र नेपाल र नेपालीको सुखी, समृद्धि र प्रगतिसँग अभिन्न रूपमा गाँसिएको मेरो जिकिर छ ।

यस्ता रैथाने मौलिक ज्ञान परम्परामा आधारित विशिष्टीकृत विश्वविद्यालय भारत, पाकिस्तान, बंगलादेश, जापान, चीन, कोरिया, अमेरिका, क्यानडा र अफ्रिकी मुलुकहरूमा सञ्चालनमा छन् । ब्राह्मणवाद–हिन्दुवाद र मनुवादी संकीर्णतामा ज्ञान, शिक्षा र चेतना समेत पेवा ठानिने भएकोले स्वदेशी रैथाने ज्ञान ओझेलमा पर्‍यो । नेपालको आधारभूत र उच्चशिक्षा आयातित पाठ्यक्रमबाट थालनी भएको पाइन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना बालबालिकालाई अंग्रेजी पढाउने उद्देश्यले औपचारिक रूपमा प्राथमिक शिक्षाको सुरुवात गरे । त्यसलाई पछि दरबार हाईस्कूलमा परिणत गरियो ।

सन् १९१९ मा स्थापित पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसको पाठ्यक्रम कलकत्ता र पटना विश्वविद्यालयको लिइएको थियो । २०२८ सालको शिक्षा ऐन र पाठ्यक्रम हुबहु पश्चिमा प्रभाव रहेको विदितै छ । यसरी प्रारम्भदेखि नै रैथाने ज्ञान, शिक्षा र चेतनालाई उपेक्षा गर्नाले बेरोजगार उत्पादनसँगै मुलुकको दुर्गति भएको हो ।

प्राचीन समयदेखि आधुनिकताको थालनी नहुँदासम्म नेपालीले आफ्ना लागि आफैंले प्रयोग गर्ने अधिकांश सरसामग्री र घरायसी चीजवस्तुहरू आफैं उत्पादन गर्थे । जन्मदेखि मृत्युसम्म, बिहानदेखि बेलुकासम्म, खानेदेखि लगाउनेसम्म र सबैजसो दैनिक उपभोग्य सामग्रीहरूमा हामी आत्मनिर्भर थियौं । कपास खेतीदेखि लत्ताकपडा, तामा–फलाम खानी, भाँडाकुँडादेखि राडीपाखी, सुनदेखि नुनसम्म सबै स्वदेशमै उत्पादन भइरहेका थिए । यस्ता घरेलु उत्पादन र उद्योगधन्दा राणाशासनको आखिरी समयसम्म सञ्चालित थिए । यस्ता खानी र श्रमिकमाथि राणाहरूले चर्को कर लगाइदिनाले राणाशासनको अन्त्यसँगै बाहिरी सामानको आयात हुनथाल्यो ।

खानी र उत्पादन बन्द हुँदै जाँदा नेपालमा दलाल पूँजीवाद हुर्कियो र हामी आयातमा मात्रै भरपर्न थाल्यौं । नेपाली आत्मनिर्भर अर्थतन्त्र पूरै परनिर्भर बन्न गयो । रैथाने विश्वविद्यालयको स्थापनाको मूल उद्देश्य नै स्थानीय उत्पादनमा आधारित बलियो आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु रहेको छ । यसका साथै आयातलाई प्रतिस्थापन, उत्पादन र उद्यमशीलतामा आधारित उद्यमीहरूको विकास, स्वरोजगार सिर्जना, विदेश पलायनमा रोक, आनुवंशिक ज्ञानशास्त्रमा आधारित शिक्षण सिकाइ, बनाउँदै–कमाउँदै र रमाउँदै घर–घरमै उत्पादन र उद्यमीहरूको विकासबाट राष्ट्र समृद्धिको आधार तयार गर्ने विशिष्ट उद्देश्य रहेको छ ।

यो विश्वविद्यालय अरू विश्वविद्यालय जस्तो राज्यकोषबाट खर्च गरेर सेतो हात्ती पाले जस्तो व्ययभार गर्ने खालको हुँदैन । नेपालभित्र बसोबास गर्ने जुनसुकै जाति वा समुदायसँग परम्परागत मौलिक पुख्र्यौली ज्ञान–परम्परामा आधारित शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताका धनी छन् । त्यसमै आधारित भएर दैनिक रूपमा चाहिने उपभोग्यवस्तुहरूको उत्पादन पहिलो प्राथमिकतामा रहनेछ ।

यस विश्वविद्यालयको प्राध्यापकले कुनै विश्वविद्यालयको औपचारिक डिग्रीको उपाधि लिइरहनुपर्दैन । पुर्ख्याैली ज्ञान, सीपलाई नै डिग्रीको उपाधिसरह मान्यता प्रदान दिइनेछ । सम्बन्धित समुदायको शिल्पकला–हस्तकला उत्पादनमा वर्षौं वर्ष लागेका पोख्त व्यक्ति वा समूहहरूलाई नै प्राध्यापक वा प्रशिक्षकको रूपमा नियुक्ति गरिनेछ । तर यस विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम कस्तो हुनेछ ? भन्ने विषयमा प्रश्न उठ्ने गरेको छ । यो विश्वविद्यालयको पाठ्यक्रम अरू विश्वविद्यालयको जस्तो सैद्धान्तिक ज्ञान मात्रै दिने र तोकिएको निश्चित समयमा प्रश्नको उत्तर लेखेर उत्तीर्ण हुने खालको हुँदैन ।

यो विश्वविद्यालयको पाठ्यक्रम सैद्धान्तिक कम, प्रयोगात्मक र उत्पादन ज्ञानलाई आधार मानेर उत्तीर्णाङ्क वा पास गराइने विधि र प्रक्रिया अवलम्बन गरिनेछ । जस्तो सैद्धान्तिक वा प्राध्यापन विधि २० अङ्कको गरियो भने ४०–४० अंकलाई प्रयोगात्मक र उत्पादनको मूल्याङ्कन गरिनेछ । उदाहरणका लागि पूर्वी भोजपुरको भोजपुरे खुकुरी, उच्चपहाडी भेगमा फलाइने बुङको आलु, पूर्वमै प्रचलित किराँतीहरूको बिनायो, कामीको प्रमुखबाजा मुर्चुङ्गा, अल्लो, अर्गेली, केरा र गाँजाको रेसाबाट बन्ने कपडा, नेपालमा मात्रै पाइने चुलेसी, काठमाडौं उपत्यकाको माटाका भाँडा, यमोरी, हाँकुपटासी, डम्फू, गण्डकी–लुम्बिनीमा उत्पादन गरिने राडीपाखी, भाङ्ग्रा, परम्परागत जुत्ताको आनुवंशिक ज्ञानशास्त्रका आधारमा छुट्टाछुट्टै पाठ्यक्रम बनाई लागू गरिनेछ । स्वरोजगार सिर्जना र उत्पादन पाठ्यक्रम यस्तै हुन्छन् । बन्द कक्षाकोठामा पढाइने विषय मात्र पाठ्यक्रम भन्ने हाम्रो बुझाइ बदल्नै पर्छ ।

यस्ता शिल्पकला–हस्तकला उत्पादन र सिकाइ परम्परामा आधुनिकतालाई मिश्रित गरिनेछ । यसरी रैथाने विश्वविद्यालयबाट उत्पादन भएका सम्पूर्ण उत्पादित चीजवस्तुहरूलाई स्थायी र राष्ट्रिय रूपमा खपत र प्रयोग गरिनेछ । उत्पादित सामग्रीलाई दीर्घकालीन रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा बजारीकरण र व्यापारका लागि राष्ट्रिय शिल्पकला–हस्तकला बैंक स्थापना गरिनेछ । यस्तो बैंक देशभरका मुख्य–मुख्य शहर, औद्योगिक क्षेत्र आसपास र पर्यटकीय स्थलहरूमा सञ्चालन गरिनेछ । स्तरीय उत्पादनलाई विश्वबजारसँग जोड्न तीनै तहका सरकारको पहलमा अगाडि बढाइनेछ ।

यो विश्वविद्यालयको मूल ध्येय नै पुख्र्यौली मौलिक आनुवंशिक ज्ञानशास्त्रलाई उत्पादनसँग जोडेर व्यावहारिक शिक्षामा रूपान्तरण गर्नु हो । बेरोजगार उत्पादन गर्ने प्रमाणपत्रमुखी शिक्षालाई विस्थापित गरी उत्पादन र कर्ममुखी शिक्षालाई स्थापित गर्दै बेरोजगारी अन्त्य गरिनु रहेको छ ।

त्यसैले सरकारको दूरदर्शिता भएमा रैथाने विश्वविद्यालयलाई जति छिटो स्थापना गर्न सक्यो, त्यति नै छिटो देशको परनिर्भरता कम हुँदै जानेछ । नेपाली सत्तामुखी चटके स्वार्थी राजनीतिले स्वदेशी उत्पादन र संभावनालाई नदेख्ने, नदेखाउने १२ कक्षा पास हुनासाथ विदेश कुद्ने सामाजिक कुलतबाट मुक्त गराउन सकिन्छ ।

रैथाने र रैथानेवाद

रैथाने भनेको कुनै निश्चित स्थानमा आदिमकालमा मौलिक रूपमा विकास भएको भन्ने बुझिन्छ । रैथाने समुदाय भन्नाले त्यस भूगोल वा क्षेत्रमा आदिमकालदेखि बस्दै आएको जाति वा समुदायलाई जनाउँछ भनिएको छ । अर्थात् जुन जाति, समुदाय जो जहाँ बसोबास गरिरहेका छन्, तिनीहरूलाई नै रैथाने जाति, समुदाय वा मूलवासी भनिन्छ । नेपालमा बसोबास तिथिमितिका आधारमा नभई अनुहारका आधारमा आदिवासी र गैरआदिवासी समूह तोकिएको छ । यो विधि वैज्ञानिक र न्यायसंगत नरहेको मेरो मत छ ।

शारीरिक अनुहार होइन, तिथिमितिलाई आधार मान्दा सबै नेपाली आदिवासी र आप्रवासीमा समाहित हुन्छन् । राष्ट्रको सिमाना खुला राखेर सिमानाबाट को आयो, को गयो भन्ने कुनै तथ्यांक नराख्ने देशमा आदिवासी र गैरआदिवासी कसलाई भन्ने ?

रैथानेलाई पुख्र्यौली वा आदिवासी ज्ञानसँग जोडेर हेर्ने गरिन्छ । त्यो के हो भने जुन जाति, समुदायसँग अन्त कतै नपाइने, उनीहरूले प्रकृति र पुर्खाहरूबाट सिक्दै र अभ्यास गरिंदै आएका प्रविधि वा आविष्कार, सिर्जना र उत्पादन गर्दै आएका शिल्पकला–हस्तकलाको चिनारी वा पहिचान छन् भने उनीहरू रैथाने हुन् । यस्तो आनुवंशिक ज्ञानशास्त्र (जेनेटिक इपिस्टिमोलोजी) बाट सिकेको शिक्षण सिकाइ प्रभावकारी र दिगो हुने विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

यस्ता आनुवंशिक ज्ञानशास्त्रलाई आधार मानेर शैक्षिक पाठ्यक्रम एक होइन, हजारौं बन्न सक्छन् । नेपालको शैक्षिक पाठ्यक्रम नै खाए खा नखाए घिच् भन्ने खालका छन् । अर्थात् सिंह, बाघलाई घाँस, पशुवस्तुलाई मासु आहारा दिए जस्तै ! आफ्नो मातृभाषाको स्वरवर्ण र व्यञ्जनवर्ण नै पृथक् भएको समुदायले अंग्रेजी र नेपाली भाषाको शैक्षिक पाठ्यक्रममा पढेर कसरी प्रगति गर्न सक्छ ?

यस प्रसंगमा हाम्रोसामु कोरिया, चीन र जापान उदाहरण छन् । यी देशले विज्ञान, प्रविधि र आविष्कारमा आफ्नै मातृभाषाको प्रयोग गरेर चमत्कार गरेका छन् ।

यस दृष्टिकोणबाट हेर्दा नेपालका जनजाति, शिल्पी र तराईका विभिन्न जातीय (मूलवासी) समूहहरूले हजारौं वर्षअघिबाट नेपालकै माटो, प्रकृति, हावापानी र वातावरणमा आधारित आविष्कार, सिर्जना र उत्पादन भएका आनुवंशिक ज्ञानशास्त्रहरू छन् । नेपालका सबै रैथाने समुदायहरू र विशेषगरी शिल्पी र आदिवासी समुदायको हकमा तीन आधार–अस्तित्व, इतिहास र पहिचान र चार सिद्धान्त–शिल्पकला, संस्कृति, सम्पदा र सभ्यतालाई आधार मान्न सकिन्छ ।

स्मरणीय के छ भने शिल्पी समुदाय शिल्प (मानव) सभ्यताका आधारशिला भएकाले गर्दा समग्र समाज र विशेषगरी आदिवासी जनजाति समूहको सांस्कृतिक (बाजागाजा, गरगहना, पोशाक निर्माण) र जातीय पहिचानका मूल आधारशिला समुदाय हुन् ।

जानकार भनिएका कथित बुद्धिजीवीहरूले नै शिल्पी समुदायलाई कसैबाट झरेको, खसेको, वर्णसङ्कर समुदायको भाष्य निर्माण गरिएको छ । आदिम कविला गणराज्यकालमा भारतका दर्जनौं स्थान र नेपालको पश्चिम, कर्णाली–भेरी र तराईका शक्तिशाली राजवंश, भूमिपति, संस्कृति र सभ्यताका मूलधार रहेको इतिहास मेटाइएको छ । समाजमा अस्तित्व स्वीकार्य भए मात्र लिखित इतिहास बाँच्दोरहेछ ।

जीवित इतिहास भएमा नै पहिचान स्थापित हुँदोरहेछ । आजसम्म रैथाने शिल्पी समुदायको पृथक् अस्तित्व स्वीकार गरिएको देखिंदैन । नेपालका जनजाति र शिल्पी समुदाय करिब–करिब यी तीनवटै कुराबाट वञ्चित हुँँदैआएको समूह हो । अर्थात् लिखित इतिहास दुवै समूहसँग कमै छन् । किनकि जित्नेहरूले मात्र आफ्नो इतिहास बढाइँचढाइ गरेर लेखेका छन् । तर शासित समुदायका बूढापाका पुर्खाहरूमा सीमित श्रुति–स्मृति, किंवदन्ती र मौखिक लोककाव्य गाथा परम्परामा केही बचेखुचेको बाहेक अरू धेरै बाँकी छैनन् ।

यी दुवै समूह प्रकृति र कुलपितृ पूजक, मन्त्रतन्त्र, बोन परम्परामा आधारित संस्कारमा अभ्यस्त भएको पाइन्छ । भनिन्छ– जुन जाति, समुदायसँग पुख्र्यौली शिल्पकलाको ज्ञान र सीपको भण्डार रहेको हुन्छ उनीहरू नै संस्कृति, सम्पदा र सभ्यताका मुख्य हकदार हुन्छन् ।

यहाँ स्मरणीय के छ भने शिल्पी समुदाय शिल्प (मानव) सभ्यताका आधारशिला भएकाले गर्दा समग्र समाज र विशेषगरी आदिवासी जनजाति समूहको सांस्कृतिक (बाजागाजा, गरगहना, पोशाक निर्माण) र जातीय पहिचानका मूल आधारशिला समुदाय हुन् । हामीले बुझ्नैपर्ने कुरा के छ भने शिल्पकलाको आविष्कार, सिर्जना, विकास र लामो संक्रमणपछि संस्कृतिको विकास हुने गर्दछ । संस्कृतिको विकास, परिष्कार र संक्रमणपछि सम्पदाको रूपमा परिणत हुने गर्दछ । त्यही सम्पदाको क्रमिक विकास र लामो समयको संक्रमणपछि सभ्यताको रूपमा परिणत हुने गर्दछ ।

यी तीन आधार र चार सिद्धान्तका मुख्य परिचालक जाति, समुदाय मूलतः रैथाने वा रैथानेवादका चालकशक्ति हुन् । त्यसैले गर्दा रैथाने र रैथानेवादले विश्वविद्यालयधरतालाई स्वीकार्दैन, इतिहास चिन्दैन भन्नु न्यायसंगत हुँदैन । रैथाने वा रैथानेवाद नै वर्तमान आधुनिकताको आधारस्तम्भ हो ।

रैथानेवादलाई घुमन्तेफिरन्ते (हन्टिङ–ग्यादरिङ) कै रूपमा मात्र हेरिनु सही मान्न सकिंदैन । रैथानेवादको जगमा उभिएर नै आधुनिकताको विकास भएको तथ्यलाई चटक्कै बिर्सन मिल्दैन । यसका केही उदाहरणलाई हेरौं ।

जस्तै– परम्परागत ढुंगा, माटो, खर, पराल, थाकल र काठले बनेको घर रैथाने रूप हो । त्यसलाई नै आधुनिकस्वरूप दिन नसकिने होइन तर ढलान घरले विस्थापित गर्‍यो । आधुनिक सिटामोलको रैथाने रूप तितेपाती हो । जो टाउको दुख्दा खाने, सुँघ्ने गरिन्थ्यो । शरीरमा घाउ, चोट लाग्दा, कतै काट्दा लगाइने आधुनिक मलमको रैथाने रूप वनमारा झार हो । जो ट्याप्प टिपी माडेर रस निकालेर लगाइन्थ्यो । घरको छानामा राखिने दर्सिङ ढुंगा र त्रिशूल हो । जसले चट्याङलाई नियन्त्रण गर्ने तथ्य प्रमाणित छ । आधुनिक पोशाकको विकासपूर्वको रैथाने रूप धोती, कछाड, लँगौटी हो ।

आधुनिक मानवले घरमा बस्न थाल्नुअघिको रैथाने रूप गुफा, ओडार हो । आधुनिक पिनासको औषधि बन्नु अघिको रैथाने कच्चा रूप क्यामुनाको डाली हो । जसको पातलाई पोलेर वा मसिनो धूलो नस बनाई सुँघ्नाले पिनास र टाउको दुःखेको निको हुन्छ ।

आकाशवेलीले चट्याङ प्रतिरोधी र कपाल झर्न रोक्छ, रायो, सर्सिउँको धूलो घर वरिपरि छर्नाले सर्प, बिच्छी भाग्छन् । यो तथ्य शिल्पी झाँक्रीले मन्त्रतन्त्रमा फलाक्छन् । आधुनिक अस्पताल र एलोपेथिक औषधि बन्नु अघिको रैथाने उपचारविधि धामीझाँक्री लोकदर्शन मन्त्रतन्त्र, स्थानीय जडीबुटी उपचार विधि हो ।

पेट दुख्दा खाने आधुनिक पेनकिलर ट्याब्लेट आउनुअघि टिमुर पानी उमालेर खाने रैथाने तरिका थियो । आधुनिक कुटानी, पिसानी, मिलको विकासपूर्वको रैथाने ज्ञान, सीप, कलाप्रविधि ढिकी, जाँतो, ओखल, तुइन र पानीघट्ट आदि हुन् । आधुनिक यातायातको विकासअघि रैथाने ज्ञान, प्रविधि ठेलागाडा, गोरुगाडा, टाँगा र साइकल हो ।

प्लाष्टिकका भाँडा आउनुअघि धातुका भाँडाकुँडा, ठेको, ठेकी, कठुवा, हर्पे उत्पादन रैथाने रूप हो । यस्ता काठका भाँडामा खाना वर्षौंसम्म राख्न सकिन्छ र स्वास्थ्यका लागि उस्तै लाभदायक हुन्छन् । बहुराष्ट्रिय कम्पनीका मादकपदार्थ आउनुअघि जनजाति, शिल्पी पुर्खाका महिलाहरूले जंगली जडीबुटी र कोदोको पीठोबाट मर्चा बनाई जाँड, रक्सी उत्पादन गरिनु रैथाने ज्ञान, प्रविधि र सीप हो । आधुनिक बाजा र संगीत विकासको जग नै रैथाने बाजा उत्पादक र वाद्यवादकहरू हुन् । यसको आदिम रूप गुफा र जंगली युगमा भएको मानिन्छ ।

गुफा युगमा माटोको र जंगली युगमा रूखको डुँडमा जनावरको छाला सुकाउँदा बाजाको विकास भएको तथ्य पाइन्छ । डम्फु लगायत कतिपय बाजाहरूमा फलामको काँटी नभई बासको सिन्को र छालाको प्रयोग गरिने हुनाले ती कति पुराना थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ । माटो र काठ दुवै टिकाउ नभएकोले धातुयुगपछि धातुका बाजा बनाउन थालिएको हो ।

यी तथ्यप्रमाणहरू एवम् अकाट्य आधारहरूलाई गहिरो रूपमा चिन्तन, मनन् र विश्लेषण गर्दा रैथाने र रैथानेवाद विनाको आधुनिकताको बखान अधुरो र अपुरो हुन्छ । अरू विकसित देशका दूरदर्शी नेतृत्वले रैथाने ज्ञान, सीप, प्रविधिलाई यथेष्ट पूँजी, प्रविधिले विकसित बनाए । खोज अनुसन्धान, उद्यमशीलता, उत्पादन र बजारीकरण गरेर मुलुक समृद्ध बनाए ।

तर नेपालमा परम्परागत रैथाने शिल्पकला–हस्तकलाका ज्ञानसीप, प्रविधि भएका जाति, समुदायहरूलाई उत्पादन गर्न प्रोत्साहन गरिएन । दलाल पूँजीवादी आधुनिकताको नाम र आवरणमा तिनै अपहेलित जाति, समुदायको मौलिक पुर्ख्याैली ज्ञान–परम्परा, सीप प्रविधि खोसिएको छ । मुलुक भ्रष्टाचार, अपराधमा विश्वप्रथम हुने दौडमा छ । स्वदेशी रैथाने ज्ञानसीप, प्रविधिका धनी समुदायलाई उचित वातावरण र सम्मान नदिंदा आज धातु, गरगहना, कपडाका लाखौं कालिगड बाहिरबाट ल्याउनु परेको छ ।

जबसम्म सरकारले रैथाने ज्ञान–सीप, प्रविधि र संस्कृतिको संरक्षण, प्रवर्द्धन, विकास, उत्पादन र बजारीकरण गर्दैन, देशको अर्थतन्त्र बलियो हुनसक्दैन । दैनिक उपभोग्य वस्तुमा चर्को कर र रेमिट्यान्समा अडिएको अर्थतन्त्र हावामा बनेको तासको घर जस्तै हो । त्यसैले सरकारले उद्यमशीलता र उत्पादनमा आधारित अर्थतन्त्रको विकासको लागि रैथाने उत्पादनलाई प्राथमिकता दिनैपर्छ र रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अपरिहार्य आवश्यकता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?