+
+
चिनियाँ फिल्म निर्देशक एवं प्राध्यापक सेई फेईसँग वार्ता :

‘चिनियाँ इन्टरनेट प्लाटफर्म नेपाली फिल्मलाई ठूलो बजार बन्नसक्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १८:४७

काठमाडौं । चिनियाँ फिल्म निर्देशक, निर्माता, पटकथा लेखक एवं प्राध्यापक सेई फेई यतिबेला नेपालमा छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रमुख जुरी समेत रहेका उनी यतिबेला बेइजिङ फिल्म एकेडेमीका प्राध्यापक समेत हुन् । चौथो पुस्ताका चिनियाँ निर्देशक रहेका उनी ८० को दशकका हिट फिल्म निर्देशक हुन् । ब्ल्याक स्नो, अ गर्ल फ्रम हुनान, सङ अफ तिब्बत, वुमन सिसेम आयल मेकर उनका हिट फिल्म हुन् ।

‘वुमन सिसेम आयल मेकर’ले सन् १९९३ मा बर्लिनमा गोल्डेन बियर अवार्ड पनि जित्यो । सन् २००० मा ‘सङ अफ तिब्बत’ले स्पेसल जुरी अवार्ड समेत जित्यो । नयाँ पुस्तालाई फिल्ममेकिङमा आउन हौस्याउने उनले चिनियाँ बजारमा प्रवेश पाउने हो भने नेपाली फिल्मले माध्यम र फेस्टिभलमा जोड दिनुपर्छ भन्ने मत राखे । उनले नेपाली फिल्ममेकर ‘कन्टेन्ट’मा केन्द्रित हुनसमेत जोड दिए । प्राध्यापक सेई फेईसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

जुरी प्रमुखको रुपमा नेपाली फिल्म कस्तो पाउनुभयो ?

सात वर्षअघि म एक फिल्म फेस्टिभलका लागि नेपाल आएको थिएँ । पहिलो नेपाली फिल्मको रुपमा ‘कालोपोथी’ हेरें त्यतिबेला । निर्देशक मीन भामको नयाँ फिल्म ‘शाम्बाला’ चीनको पिंग्याओ फेस्टिभलमा मैले भर्खरै हेरें । यसपटक म जुरी प्रमुख रहेको निफको अन्तर्राष्ट्रिय फिचरतर्फ चार नेपाली फिल्म पनि छन् । यी फिल्म वास्तवमै सुन्दर छन् ।

‘बुलाकी’ भन्ने फिल्म पनि हेरें । चीनसँग सीमा जोडिएको हिमाली क्षेत्रको कथा त्यसमा रहेछ । मैले ‘सङ अफ तिब्बत’ र ‘द सन ओभर द हिमालयज्’जस्ता दुई फिल्म तिब्बतमा छायांकन गरेको छु । फिल्मले मान्छेलाई जीवन र संस्कृतिबारे बुझ्ने मौका दिन्छ, चाहे त्यो जीवनमा आओस् नआओस् । यसपटक हामीले ‘नेसनल पानोरमा’खण्डको पाँच विधामा पुरस्कार दिंदैछौं । यी हेर्दा नेपाली फिल्मले आफूलाई विकास गरेको देखेको छु ।

नेपाली फिल्मसँग अद्वितीय सांस्कृतिक कथा छन् । तपाईको विचारमा नेपाली फिल्मले चिनियाँ बजारमा प्रवेश गर्ने सम्भावना के देख्नुहुन्छ ?

जब म हाइस्कुलमा पढ्दै थिएँ, त्यहाँ कम्युनिस्ट फिल्मको दबदबा थियो । कम्युनिस्ट पार्टीले नै आफैं फिल्म बनाउँथ्यो । ४० वर्षयता चिनियाँ बजार कमेडी, कुङ्फु टाइपका एक्सन, हङकङ र हलिउड फिल्मका लागि खुला भएको छ । हलमा रिलिज गर्दा अझै पनि कम्युनिस्ट कथावस्तुका फिल्म देखाउन प्राथमिकता दिइन्छ । तर हामीले के भुल्नु हुँदैन भने हामीसँग इन्टरनेट छ । नेपाली फिल्म निर्माताले यो सिक्न सक्छन् ।

मानिस इन्टरनेटमा छिर्छन् र मनपर्ने फिल्म हेर्छन् । डाकिनी, सुनगाभा, ह्वाइट सन्, कालोपोथीजस्ता स्तरीय नेपाली फिल्म बनेका छन् । यी फिल्मलाई चिनियाँ इन्टरनेटमा रिलिज गर्न सकियो भने यो राम्रो हुन्छ । जस्तो ‘डाकिनी’ले चिनियाँ दर्शकबाट ७.९ रेटिङ प्राप्त गरेको छ । यो राम्रो कुरा हो । कम्युनिस्ट पार्टीका फिल्मका लागि ठूलो बजार हो ।

तर आर्ट हाउस फिल्मलाई धेरै दर्शकले इन्टरनेटमा हेर्न थालेका छन् । यसपछि म मलेसिया र इन्डोनेसिया जाँदैछु । मलेसियाली फिल्मलाई कसरी चिनियाँ इन्टरनेटमा रिलिज गर्ने भन्ने कुरा छ । मलेसियाका केही फिल्म पनि चिनियाँ डिजिटल प्लाटफर्ममा रिलिज हुँदैछन् । यो पर्याप्त भने होइन ।

नेपाली फिल्मले चिनियाँ बजारमा प्रवेश पाउनका लागि चुनौत के–के हुन् ? समस्यालाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने तपाईंको सुझाव छ

फिल्म बजारमा जानु चुनौतीपूर्ण छ । चीनमा हजारौं फिल्म निर्माण हुन्छन् तर केही मात्र बजारमा जान सक्छन् । अधिकांशको उद्देश्य पैसा कमाउनु हुन्छ । यस्ता अधिकांश फिल्म इन्टरनेटमा रिलिज हुन्छन् । तपाईंले ती डिजिटल प्लाटफर्मबाट पैसा कमाउन सक्नुहुन्छ । नेटफ्लिक्स जस्तै चिनियाँ ओटीटीले कन्टेन्ट हालेबापत पैसा पनि दिन्छन् । यो समस्या समाधानको उपाय भनेकै इन्टरनेटमा रिलिज गर्नु हो । भाषा प्रमुख अवरोध हो । यसका लागि सहकार्य जरुरी छ । मलाई लाग्छ, चिनियाँ दर्शकलाई मनपर्ने कथावस्तुमा निकट भविष्यमा फिल्म बन्न सक्छन् । तर हलमै रिलिज गर्छु भन्ने कुरा चाहिं कठिन कुरा हो जस्तो लाग्छ ।

अन्तर्राष्ट्रिय स्तरमा पुग्न चाहिरहेका नेपाली फिल्म निर्मातालाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिला आफ्नो मुलुकको बजारलाई लक्षित गर्दै स्थानीय जनजीवन, संस्कृतिबारे गहिरो अर्थ बोक्ने फिल्म बनाउनु जरुरी छ । कतिपय फिल्म इन्डोनेसियाका फिल्म फेस्टिभलमा पनि जान सक्छन् । विशेषगरी युरोपका कान्स, भेनिस र बर्लिनमा । यदि तपाईं त्यहाँ जान सक्नुभयो भने धेरैले थाहा पाउँछन् ।

यदि चीनमा जाने हो भने हामी सांघाई र बेइजिङजस्ता फेस्टिभलमा जान सक्छौं । पिङ्याहोजस्ता चिनियाँ फेस्टिभलमा युवा फिल्ममेकरलाई सघाउने पनि छन् । वर्षेनी म ती फेस्टिभलमा जान्छु र युवाले बनाएका छोटा फिल्म हेर्छु । सुरुमा फेस्टिभलमा सहभागिता जनाउनुपर्‍यो । त्यहाँ चिनियाँ निर्मातासँग सञ्जाल बिस्तार हुन्छ । यसमा मेरा दुई सुझाव हुन्छन् । पहिलो– इन्टरनेटमा रिलिज गर्नु र दोस्रो– फेस्टिभलमा जानु ।

कसरी फिल्मले नेपाल, चीन र भारतजस्ता मुलुकमा सेतुको रुपमा काम गर्न सक्छ ?

म आफ्ना फिल्म विदेशमा पठाउँदा अंग्रेजी सबटाइटलमै पठाउँछु, जसले गर्दा अरुलाई चिनियाँ इतिहास र सभ्यता बुझ्न पनि सजिलो हुन्छ । म हिजो मात्र काठमाडौं विश्वविद्यालय पुगें, जहाँ १०० भन्दा बढी नेपाली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । मैले उनीहरुलाई मैले तिब्बतमा छायांकन गरेको ‘सङ अफ द तिब्बत’लाई अंग्रेजी सबटाइटल हालेर दिएँ ।

निकट भविष्यमा उनीहरुले त्यहाँको जीवनशैलीबारे अझै बुझ्नेछन् । सबटाइटल बनाएर स्कुल, विश्वविद्यालयमा पठाउनुपर्छ । एकअर्काको मुलुकको सांस्कृतिक विविधतालाई बुझ्ने यो राम्रो तरिका हो । यो फिल्म बनाएको दुई दशकसम्म पनि मैले त्यो फिल्म त्यसरी नै विदेशमा पठाइराखेको छु । यसो गर्नु महत्वपूर्ण पनि छ ।

नेपाली फिल्म निर्माताले कसरी सुन्दर फिल्म निर्माणमा अझै सक्रिय भूमिका खेल्न सक्छन् ?

हालै मैले दुई नेपाली फिल्म हेरें, जसमा ‘शाम्बाला’ पनि थियो । जस्तै जापानी फिल्म हेर्दा त्यहाँ धेरै राम्रा फिल्म छन् । जापानी फिल्मका लागि निर्देशक कुरुसावा महत्वपूर्ण छन् । त्यहाँ नयाँ मेकरले राम्रा र शास्त्रीय फिल्म बनाएका छन् । बजारभन्दा मुख्य कुरा कन्टेन्टमा काम गर्नुपर्‍यो । नेपाली मेकरले यो कुरा सिक्नुपर्छ ।

तपाईंका फिल्म गहिरो मानवीय भावना र सामाजिक समस्यामा आधारित छन् । तपाईं राम्रा कथा सिर्जना गर्नका लागि कसरी प्रेरणा प्राप्त गर्नुहुन्छ ?

२० वर्ष भयो चीन खुला समाजमा परिणत भएको छ । मैले ६ फिल्म उपन्यासमा आधारित बनाएँ । हाम्रो पुस्ताले खुलेर काम गर्न पाएको छ । फिल्म साहित्यकै उत्पादन हुन् र यसरी फिल्म बनाउँदा त्यो मर्मस्पर्शी पनि हुनसक्छ । ‘सङ अफ तिब्बत’ पनि मैले उपन्यासबाटै एडप्ट गरेको हुँ । मैले यो पुस्तक छनोट गरें भने यसले सामान्य चिनियाँ जनताको असाधारण जीवनलाई समेटेको छ । प्रेमदेखि समाज परिवर्तनको कथा यसमा छ ।

फिल्म बनेको २० वर्षपछि पनि यसलाई विश्वभर देखाइरहेको छु । कन्फ्युसियस स्कुलका विद्यार्थीले पनि यसलाई रुचाएका छन् । मानिसले रमाइलो र मनोरञ्जनका लागि फिल्म हेर्छन् । कतिपय चाहिं ज्ञान लिन र संस्कृति बुझ्न हेर्छन् । पछिल्लोपटक मैले आफ्नो फिल्मबारे युरोपेली विश्वविद्यालयमा लेक्चर दिएको थिएँ । यसपटक एसियामा आएको छु । चिनियाँ संस्कृतिक र विविधतालाई फैलाउन आएको छु ।

विश्व फिल्म निर्माताले सामना गरिरहेको वर्तमानको प्रमुख चुनौती के देख्नुहुन्छ ? रचनात्मकता, एआई, भूराजनीति, बजार वा डिजिटल प्लेटफर्म ?

सामान्य फिल्म निर्माणमा एआईले यो समय ठूलो चुनौती खडा गरेको छ । नयाँ शैलीको फिल्म निर्माणको तरिकामा यसले चुनौती र सम्भावना दुवै पेश गरेको छ । एआईले फूल, खानामा आधारित धेरै व्यावसायिक फिल्म बनाइसक्यो । पात्रको संवेदना र सोचलाई एआईले सिर्जना गर्न सक्दैन । यो चुनौतीले भविष्यमा फिल्म निर्माणको नयाँ बाटो देखाउन सक्छ । हामीले राम्रो फिल्म बनाउन एआईको प्रयोग गर्नुपर्छ ।

नेपाली र चिनियाँ फिल्ममेकरबीचको सांस्कृतिक सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिएला ?

नेपाल र चीन दुई राम्रा छिमेकी हुन् । नेपालको हिमाली क्षेत्रको संस्कृति तिब्बतसँग निकट छ । नाचगान पनि मिल्छ । भविष्यमा हामीले संस्कृतिको क्षेत्रमा सहकार्य गर्नु जरुरी छ । सांस्कृतिक र फिल्म क्षेत्रको अनुभव आदानप्रदान गर्नु जरुरी छ । नेपाली युवापुस्तालाई पनि चिनियाँ भाषा सिकाउनु जरुरी छ । उनीहरु चिनियाँ संस्कृतिसँग निकट हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?