+
+

एसडी मुनिले भने : मधेसका मुद्दाभन्दा मोदीको इगो ठूलो भएपछि नाकाबन्दी

मुनि भन्छन् : भारतले मधेसीका मागलाई रणनीतिक ढंगले हेरेको छैन

‘भावनामा बगेर वा क्षणिक लाभलाई हेरेर नीति बनाउन सकिँदैन, तर भारतको संस्थापनले त्यसै गर्‍यो,’ मुनिले भने, ‘मधेसमा असमानता वा समस्या नभएका होइनन्, छन । तर ती कुराहरु भारतको प्राथमिकतामा परेनन् । बरु धर्मको कुरा पर्‍यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:४०
Photo Credit : राकेश मिश्र

४ चैत, काठमाडौं । नेपालमा आठ वर्षअघि भारतले लगाएको नाकाबन्दीबारे अझै पनि कोणप्रतिकोणबाट विमर्शहरु चलिराख्ने गर्छन् । भारतीय प्राध्यापक एसडी मुनि आइतबार जनकपुरमा यस्तै एउटा बहसमा सहभागी हुन पुगे, जहाँ उनले मधेसलाई लिएर भारतले प्रकट गरिरहेको कमजोरीबारे केलाए ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको मधेसी भू-भागमा भ्रमण गर्न नदिएको र संविधानमा धर्मनिरपेक्षता राखेको कुराले भारत चिढिइराखेको थियो, त्यसले मोदीलाई इगो भइदियो,’ नर्थ साउथ कलेक्टिभ्सले आयोजना गरेको कार्यक्रममा मुनिले भने, ‘मधेसमा मागहरु संविधानमा सुनुवाई हुनुपर्ने भनी यहाँ कतिपय शक्तिहरुले अडान राखे पनि त्यो भारतको शर्त थिएन । ऊ त नेपालका नेताहरुले आफ्नो कुरा नसुनेकामा क्रुद्ध थियो ।’

मुनिका अनुसार भारतीय संस्थापनले नेपालमा मधेसीहरुका माग र मुद्दाहरुलाई ‘स्ट्र्याटेजिक’ अर्थात् रणनीतिक ढंगले हेर्ने गर्दैन, बरु ट्याक्टिकल अर्थात् कार्यनीतिक मात्रै भएर हेर्ने गर्छ । त्यसै कारण मधेसलाई हेर्ने मामिलामा भारत चुक्ने गरेको उनले बताए ।

‘भावनामा बगेर वा क्षणिक लाभलाई हेरेर नीति बनाउन सकिँदैन, तर भारतको संस्थापनले त्यसै गर्‍यो,’ मुनिले भने, ‘मधेसमा असमानता वा समस्या नभएका होइनन्, छन । तर ती कुराहरु भारतको प्राथमिकतामा परेनन् । बरु धर्मको कुरा पर्‍यो ।’

यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ०७५ सालको भदौमा एक पुस्तक विमोचनमा बोल्ने क्रममा संविधानमा धर्मनिरपेक्षता राख्दा भारतले नाकाबन्दी लगाएको भनी बोलेका थिए ।

०७२ असोज ३ मा संविधान जारी हुनुभन्दा पहिले भारतले माओवादी नेता प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवालाई पालैपालो दिल्ली भ्रमण गराएर निश्चित शर्तहरु तेर्स्याएको थियो । ती शर्त मान्न नेपालका नेताहरुले अस्वीकार गर्दा अन्तिम समयमा भारतीय विदेश सचिव जयशंकर नेपाल आएर धम्कीपूर्ण कुटनीति समेत गरेका थिए ।

जयशंकर अहिले भारतका विदेशमन्त्री छन् । मोदीले चिसिएको सम्बन्ध सुधारका लागि पाँच महिनापछि पहल लिएका थिए । तर नेपाल पाँच महिनासम्म नाकाबन्दीले आर्थिक रुपमा थलिन पुगेको थियो । सोही वर्ष भूकम्पसमेत गएको थियो ।

भारतीय प्राध्यापक मुनि नेपालका माओवादीहरुलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन युद्धकालमा भूमिका खेल्ने सन्देशबाहकका रुपमा नेपालमा चिनिने गर्छन् । उनले नेपालसम्बन्धी पुस्तक र लेखहरु लेखेका छन् ।

नर्थ साउथ कलेक्टिभ्सका कार्यकारी निर्देशक राकेश मिश्रले बताए अनुसार सुरुमा आधा घन्टा मुनिले एकल प्रस्तुति दिएका थिए । त्यसपछि चलेको प्रश्नोत्तरका क्रममा मुनि नेपाल भारत सम्बन्ध, माओवादी, मधेसलगायत विषयमा खुलेका थिए ।

‘मधेसमा तनाव या कुनै पनि खालको अशान्ति भयो भने भारतमा त्यसको प्रभाव पर्छ भन्नेमा ध्यान हुन्छ,’ मुनिको भनाई उद्धृत गर्दै मिश्रले भने, ‘मधेसको मुद्दाभन्दा मोदीको इगो ठूलो भइदियो, त्यसैले नेपालमा नाकाबन्दी भयो भन्ने उहाँको कुरा थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?