+
+

सीआईबीले सुन जाँचबुझ आयोगलाई दिएन वाल्डो क्यासिनोबाट बरामद सामानको रिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:१८

५ चैत, काठमाडौं । ठमेलको छाँया सेन्टरस्थित वाल्डो क्यासिनोबाट बरामद सुन तस्करी अनुसन्धानमा सहयोगी डिभाइसहरुको रिपोर्ट नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लुकाएको पाइएको छ ।

सुनको अवैध पैठारी (तस्करी) जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद भएका डिभाइसहरुको रिपोर्ट पठाउन पटक–पटक ताकेता गर्दा समेत नपाएको बताएको छ ।

आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराम आचार्यले वाल्डो क्यासिनोबाट बरामद भएका डिभाइसहरुको रिपोर्ट आयोगले नपाएको स्वीकार गरे । ‘वाल्डो क्यासिनोबाट बरामद भएका डिभाइसहरुको रिपोर्ट नपाएको कुरा सत्य हो । बाँकी मैले बोल्न मिल्दैन’, उनले अनलाइनखबरसँग भने ।

वाल्डोबाट बरामद भएका डिभाइसहरुको जाँच गरेर डिजिटल फरेन्सिक ल्याबले सीआईबीलाई रिपोर्ट बुझाएको थियो । तर उक्त रिपोर्ट भने सीआईबीले सुन तस्करी जाँचबुझ आयोगलाई नदिएको हो ।

आयोगली सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यलाई बोलाएर रिपोर्ट माग्दा पनि नपाएको उल्लेख गरेको छ । एआईजी बज्राचार्यले रिपोर्ट नपठाएपछि आयोगले यसबारे प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई पनि जानकारी गराएको थियो । महानिरीक्षकले निर्देशन दिए पनि सीआईबीले रिपोर्ट नपठाएको आयोग स्रोतले दाबी छ ।

सीआईबीबाट रिपोर्ट नपाएपछि आयोगले प्रहरी प्रधान कार्यालयको प्रविधि हेर्ने शाखामा चिठी पठाएको र त्यहाँबाट पनि रिपोर्ट पाउन नसकेको आयोगका एक सदस्यले बताए ।

‘नामबाट रेकर्ड राख्ने सिस्टम नभएकाले चलानी नम्बर पठाउनुहुन भन्ने व्यहोराको जवाफ प्रहरीको प्रविधि शाखाबाट आयो । कति चलानी नम्बरमा रिपोर्ट पठाएको थियो भन्ने हामीलाई जानकारी हुने कुरै भएन । हामीले वाल्डोमा बरामद भएका डिभाइसको रिपोर्ट हेर्ने पाएनौं’, आयोगका एक सदस्यले अनलाइनखबरसँग भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा वाल्डो क्यासिनो पनि जोडिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत भदौमा छापा मारेको थियो ।

सुन तस्करले क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको खुलेपछि सीआईबीले छापा मारेको थियो । सुन तस्करी प्रकरणमा गत भदौ १ मा पक्राउ परेका ‘एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्ग वाल्डो क्यासिनोमा जाने गरेको खुलेपछि सीआईबीले छापा मारेको थियो ।

वाल्डो क्यासिनोमार्फत हुण्डी कारोबारको शैलीमा एलेक्सले सुनवापतको रकम बाहिर पठाउने गरेको प्रहरी स्रोतको दाबी छ । त्यतिबेला सीआईबीले वाल्डोको एकाउन्ट हेर्ने हङकङका नागरिकसँग समेत बयान लिएको थियो ।

सीआईबीको अनुसन्धानका क्रममा वाल्डोबाट सुन तस्करीको पैसा मकाउ पठाइएको खुलेको सीआईबी स्रोतको दाबी छ । सुन तस्करीमा पक्राउ परेका एलेक्सको १३ करोड रुपैयाँ बराबरको हारजित भएको विवरण समेत भेटिएको थियो ।

सीआईबीको बयानमा एलेक्सले सुन कारोबारको रकम वाल्डो क्यासिनोमार्फत मकाउ पठाएको स्वीकार गरेका थिए । चिनियाँ नागरिकले नै सञ्चालन गरेको वाल्डो क्यासिनो हङकङ र मकाउमा पनि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?