+
+

बुक बिल्डिङबाट आएको पहिलो कम्पनी सर्वोत्तम आजदेखि दोस्रो बजारमा कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ९:४०

६ चैत, काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा आज मंगलबारदेखि कारोबारमा आउने भएको छ । सोमबार सूचीकरण भएसँगै मंगलबारदेखि कारोबारमा आउने भएको हो । सेयरधनीका डिम्याट खातामा सेयर जम्मा भइसकेको प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण हुँदा सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ ।

न्यूनतम १० पैसा र सोले भाग जाने रकममा कारोबार हुने व्यवस्था रहेकाले यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ, सोही मूल्यलाई पहिलो आधार मान्दै प्रत्येक कारोबारमा २ प्रतिशतका दरले घटबढ हुन सक्नेछ । एक दिनमा १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा भएमा मंगलबार नै मूल्य ६११ रुपैयाँ ६० पैसासम्म पुग्न सक्नेछ ।

कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।  शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?