+
+

महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १४:२०

६ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआईडब्लूएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन-२०२४ चितवनमा हुने भएको छ ।

सम्मेलन १७ र १८ चैतमा सञ्चालन हुने परिसंघले जनाएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

कृषिको रूपान्तरणकारी भविष्य : कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ ।

सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्ममशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

उत्पादनमूलक एवम् सेवामूलक उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरुको सशक्तीकरण तथा प्रवर्द्धनका समेत काम गर्दै आएको छ ।

फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो ।

सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेस गरिने महिला नेतृत्व फोरम सभापति छाया शर्माले जानकारी दिइन् ।

सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?