+
+

अर्थतन्त्रको शिथिलता हटाउन के छ सत्ता गठबन्धन दलको योजना ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १८:५०

६ चैत, काठमाडौं । मंगलबार सार्वजनिक पाँच दलीय गठबन्धनको साझा संकल्पमा सरकारले अर्थतन्त्रको शिथिलता अन्त्य गर्ने बताएको छ ।

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि गठबन्धनका शीर्ष नेताले सार्वजनिक गरेको कार्यक्रममा सुस्त कर्जा प्रवाह र पूँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालीन र मध्यकालीन लगानी र रोजगार–मैत्री नीतिगत सुधारमा बाधा पुर्‍याउने विभिन्न कानुनहरु संशोधन गर्ने उल्लेख छ ।

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रुपमा रहेको राजस्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने समेत साझा कार्यक्रममा उल्लेख छ ।

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने समेत साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालीन रणनीति कार्यान्वयन गर्ने समेत दलहरुको प्रतिवद्धता रहेको छ ।

पन्ध्रौं योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौं राष्ट्रिय योजना प्रारम्भ गर्ने, यस आवधिक योजना आरम्भ गर्दा डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र’ निर्माण गर्ने समेत गठबन्धनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?