+
+

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ चैतदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:२८
फाइल तस्वीर

७ चैत, काठमाडौं । चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ देखि २५ चैतमा काठमाडौंमा हुने भएको छ । यो संस्करणका लागि १६ देशका २७० धावकले नाम दर्ता गराएका आयोजक मञ्जुश्री ट्रेल रेसले जानकारी दिएको छ । ५०० धावक सहभागी हुने अनुमान गरिएको रेसमा बाँकी नेपाली रहनेछन् ।

यस पटकको ट्रेल रेस काठमाडौंका चार विशेष चुचुराहरु जमाचो, शिवपुरी, नगरकोट, फुल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी हुदै १०० माइल दुरी पार गर्दा १२ हजार ६१५ मिटरको उचाइ हासिल हुनेछ मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

प्रतियोगितामा १०० माइल, १०० किलोमिटर, ५० किलोमिटर र ३० किलोमिटरको केभीआर स्टेज रेस गरी चार विधाको दौड हुनेछ ।

२३ चैतमा १०० माइलको रेस इचंगुनारायणस्थित एक्ले रुखबाट सुरु हुनेछ । त्यसै दिनको राति ८ बजे १०० किलोमिटरको रेस झुलेबाट सुरु हुनेछ । चैत २४ गते बिहान ७ बजे बडीखेलबाट ट्रेलमाण्डु ३० किलोमिटर केभीआर स्टेज रेस हुनेछ । त्यस्तै ५० किलोमिटर रेस भने चैत २४ गते बिहान कालुपाण्डे डाँडाबाट सुरु भइ एक्ले रुखमा सकिनेछ ।

यस पटकको मञ्जुश्री ट्रेल रेसलाई एसियन ट्रेल मास्टर (एटीएम)ले मान्यता दिएको छ । यसले नेपाली धावकहरुलाई एसियाली स्तरका कुनै पनि किसिमको ट्रेल रेसमा सहज पहुँच बनाउन सहयोग गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

यस वर्ष १०० माइल रेसमा पहिलो हुनेले ६० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउनेछन् । १०० किलोमिटरमा ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पाउनेछन् । ५० किलोमिटर ट्रेल रेसमा प्रथम हुने खेलाडीले ३० हजार, दोस्रोले १५ र तेस्रोले १० हजार पाउनेछन् ।

केभीआरमा भने प्रथम हुने खेलाडीले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार पाउनेछन् ।

यसअघि नेपालमा हुने जुम्ला रारा टे«ेल रेसले मात्रै एटीएमको मान्यता पाएको थियो । ‘मञ्जुश्री र जुम्ला रारा म्याराथनमा शीर्ष पाँचमा आएको खण्डमा धावकले सिधै एसियन ट्रेल मास्टर अन्तर्गतको च्याम्पियनसिप रेसमा सहभागिता जनाउन पाउनेछन् ।’ ट्रेल रेस व्यवस्थापक टिमका सदस्य जिमी अस्ट्रमले भने ।

सन् २०२३ मा सञ्चालन गरिएको तेस्रो संस्करणमा नेपालबाट ६७ र विदेशी २१ जनाले मञ्जुश्री ट्रेल रेसमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?