+
+

२०७२ भूकम्पपछि देशभरि बने करिब ३२ लाख नयाँ घर

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल घर संख्या ७५ लाख ५२ हजार ६७ छ । जसमध्ये ४१.९ प्रतिशत अर्थात् झन्डै ३२ लाख घर २०७२ सालपछि निर्माण भएका हुन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० चैत ७ गते १९:५५

७ चैत, काठमाडौं । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि नयाँ घर–भवन निर्माणले उल्लेख्य गति लिएको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ का विभिन्न प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ल्याएको आवास र घरपरिवार गतिशीलता सम्बन्धी तथ्यांकले विनाशकारी भूकम्पपछि देशभरि नयाँ घर निर्माणमा तीव्रता आएको देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल घर संख्या ७५ लाख ५२ हजार ६७ छ । जसमध्ये ४१.९ प्रतिशत अर्थात् झन्डै ३२ लाख घर २०७२ सालपछि निर्माण भएका हुन् ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षणबाट भूकम्पका कारण देशभरि १० लाख ३७ हजार २ सय ९१ घरमा असर परेको थियो ।

त्यसमध्ये ८ लाख ६६ हजार २ सय ७ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । ३२ जिल्लामा भूकम्पले असर गरेको थियो । जनगणना भएको वर्ष २०७८ सम्म ६ लाख ५३ हजार ४ सय ६७ घर (कुल पूर्ण क्षतिग्रस्त घरको ७५ प्रतिशत) प्राधिकरणको सहयोगमा पुनर्निर्माण भएको देखिएको थियो ।

अर्कातर्फ २०७४ सालमा तराईमा भीषण बाढी र पहाडी जिल्लामा आएको पहिरोले ४३ हजार ४ सय घरमा पूर्णक्षति गरेको थियो । १ लाख ९१ हजार ७ सय घरमा आंशिक क्षति गरेको थियो । २०७५ चैतमा आएको हावाहुरीले बारा र पर्साका २ हजार ४ सयभन्दा बढी घरमा क्षति गरेको थियो ।

प्राकृतिक प्रकोपपछिको पुनर्निर्माण र मुलुक संघीयतामा प्रवेश गरेसँगै विकास भएका पालिका केन्द्रहरूमा विस्तारित नयाँ सहरका कारण नयाँ घर निर्माण लहर चलेको देखिएको छ ।

नेपालमा ग्रामीण भेगबाट सहरी इलाकातर्फ बसाइसराइ बढ्दा पछिल्ला वर्ष घर निर्माणले समेत गति लिएको आँकडाले देखाएको छ ।

भूकम्पका कारण ७ हजार ५ सय ५३ सामुदायिक विद्यालयका भवन भत्किएका थिए । जसमध्ये जनगणना अवधिसम्म ६ हजार ८५ भवन पुनर्निर्माण भइसकेका छन् ।

भूकम्पले ५ सय ४४ स्वास्थ्य संस्थाका भवन भत्काएकोमा ३ सय २६ भवन पुनर्निर्माण भइसकेका थिए । कार्यालयका अनुसार जनगणनाका दौरान घरको मुख्य प्रयोग, घरको आयु, सरकारी अनुदान पाए–नपाएको, बैंकबाट ऋण लिए–नलिएको जस्तो विवरण राखी तथ्यांक संकलन गरेको थियो । सोही आधारमा ४२ प्रतिशत नयाँ घर बनेको विवरण आएको कार्यालयले जनाएको छ ।

कति वर्षका भए नेपालका घर ?

  • कुल घर : ७५ लाख ५२ हजार ६७
  • ७ वर्ष : ४१.९ प्रतिशत
  • ७–१४ : २१.६ प्रतिशत
  • १५–२४ : १७.९ प्रतिशत
  • २५–५० : १४.३ प्रतिशत
  • ५० देखि माथि : २.७ प्रतिशत
  • नखुलेको : १.६ प्रतिशत

५० वर्ष पुराना घर अझै २ लाखमाथि

आँकडा अनुसार नयाँ घर निर्माण र पुनर्निर्माणले गति लिए पनि देशभरि ५१ वर्ष वा त्यसभन्दा पुराना घर संख्या अझै २ लाखभन्दा माथि छ ।

कार्यालयका अनुसार अहिले देशभरि रहेका कुल घरको २.७ प्रतिशत घरको उमेर ५१ वर्ष वा त्यसभन्दा माथि पुगेको छ । यस्ता घर संख्या २ लाख ४ हजार हाराहारी छ । २५ देखि ५० वर्ष पुराना घर संख्या १४.३ प्रतिशत छ । यो संख्या झन्डै ११ लाख हुन आउँछ ।

त्यस्तै १५ देखि २४ वर्ष उमेरका घर संख्या १७.९ प्रतिशत छ । यस अनुसार देशभरि यो उमेरका घर संख्या साढे १३ लाख छ । ७ देखि १४ वर्ष पुराना घर संख्या भने २१.६ प्रतिशत छ । जुन साढे १६ लाख हाराहारी हुने कार्यालयको तथ्यांक छ ।

सबै प्रदेशमा नयाँ घर निर्माण लहर

२०७२ सालको भूकम्पबाट बागमती र गण्डकी प्रदेश बढी प्रभावित बनेको थियो । तर, भूकम्पयता बनेका घरको आँकडा हेर्दा नयाँ घर निर्माण लहर सबै प्रदेशमा उत्तिकै फैलिएको देखिन्छ ।

कोशी प्रदेशमा १४ लाख ५४ हजार ९ सय ६५ घर रहेकोमा ७ वर्ष मात्र उमेर भएका घर संख्या ४०.७ प्रतिशत छ । मधेश प्रदेशमा १२ लाख ८३ हजार ३ सय ३८ घर रहेकोमा ५७.४ प्रतिशत घरको आयु ७ वर्ष छ । बागमती प्रदेशमा १५ लाख ७५ हजार ८ सय २५ घर रहेकोमा ३७ प्रतिशत घर नयाँ छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७ लाख ७६ हजार ६ सय ८६ घर रहेकोमा ३८.२ प्रतिशत घर नयाँ बनेका हुन् । लुम्बिनी प्रदेशमा १२ लाख ९२ हजार ६ सय ७६ घर रहेकोमा ३६.३ प्रतिशत घरको उमेर २०७२ यताको छ ।

कर्णाली प्रदेशमा ४ लाख २९ हजार ७ सय १७ घर छन् । जसमध्ये ३९.९ प्रतिशत घर भूकम्पपछि बनेका हुन् । सुदूरपश्चिम प्रदेशमा रहेका ७ लाख २८ हजार ८ सय ६० घरमध्ये ४१.९ प्रतिशत घरको आयु ७ वर्षमात्र छ ।

सहरदेखि गाउँसम्म बन्दैछन् नयाँ घर

तथ्यांक अनुसार तराईदेखि हिमालसम्म र गाउँदेखि सहरसम्म नै नयाँ घर बनेका छन् । हिमाली भेगमा कुल ५ लाख १३ हजार ७ सय ३ घर–भवन रहेकोमा ५४.७ प्रतिशत घरको उमेर ७ वर्षभन्दा कम छ ।

पहाडमा ३२ लाख ९९ हजार ९ सय ५७ घर रहेकामा ४१.१ प्रतिशत घर नयाँ छन् । तराईमा ३७ लाख ३८ हजार ४ सय ७ घर बनेकोमा ४३.७ प्रतिशत घर नयाँ रहेको देखिएको छ ।

देशभरिका गाउँपालिकामा २८ लाख ३३ हजार ५ सय ९ घर रहेकोमा ४२.७ प्रतिशत घर २०७२ को भूकम्पपछि बनेका हुन् । नगरपालिकामा ४७ लाख १८ हजार ५ सय ५८ घर बनेकोमा ४४.३ प्रतिशत घर नयाँ छन् । तथ्यांक अनुसार ५० वर्ष पुराना घर गाउँमा भन्दा सहरमा धेरै छन् ।

झन्डै ५ लाख घर खाली

नेपालमा देशभरि करिब पौने ५ लाख घर खाली अवस्थामा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ७५ लाख ५२ हजार ६६ घरमध्ये ४ लाख ७२ हजार ५ सय १६ (६.३ प्रतिशत) घर खाली देखिएका छन् ।

जनगणना विवरण अनुसार खाली घरमध्ये पहाडमा आधाभन्दा धेरै देखिन्छन् । पहाडी क्षेत्रमा २ लाख ६० हजार ९ सय १६ (५५.२ प्रतिशत) घर खाली छन् ।

यस्तै हिमालमा ५९ हजार ९ सय ४२ (११.७ प्रतिशत) घर खाली छन् भने तराईमा १ लाख ५१ हजार ६ सय ५८ (४.१ प्रतिशत) घर खाली छन् ।

पालिका अनुसार नगरपालिकामा खाली घर संख्यामध्ये २ लाख ५७ हजार १ सय १२ (५.४ प्रतिशत) घर खाली छन् भने गाउँपालिकामा २ लाख १७ हजार ४ सय ३६ (४६ प्रतिशत) घर खाली देखिन्छन् ।

प्रदेश अनुसार खाली घरमध्ये सबैभन्दा धेरै खाली घर बागमती प्रदेशमा देखिन्छ । जहाँ ३०.२ प्रतिशत घर खाली छन् । सबैभन्दा कम मधेश प्रदेशमा ४ प्रतिशत घर खाली देखिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?