+
+

एमालेको सुर्खेत अधिवेशन : अध्यक्षमा अमृत र कुलमणि भिड्ने सम्भावना

यज्ञ खत्री यज्ञ खत्री
२०८० चैत ८ गते १३:३४

८ चैत्र, सुर्खेत । नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशन बिहीबार सुरु हुँदैछ । अधिवेशनको वीरेन्द्रनगरस्थित सिटी हलमा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नेछन् ।

नयाँ नेतृत्व हात पार्न नेताहरुले गुटगत प्यानल बनाई प्रतिस्पर्धा गर्ने सम्भावना छ । जिल्लाका नेताहरु स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटी–नवराज रावत समूहमा विभाजित भई प्यानल बनाउने तयारीमा छन् ।

कँडेल समूहबाट हालका सुर्खेत जिल्ला उपाध्यक्ष कुलमणि देवकोटा र कविन्द्र केसी अध्यक्षमा आकांक्षी छन् । बोगटी र रावतको समूहबाट हालका जिल्ला अध्यक्ष अमृतबहादुर बिसी र दण्डीप्रसाद शर्माले आकांक्षा राखेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट एमालेका फर्किएका मोहन बडुवालले पनि अध्यक्षको आकांक्षा राखेका छन् ।

आकांक्षीहरु धेरै भएपनि कँडेल समूहले देवकोटालाई र बोगटी–रावतको समूहले जिल्ला अध्यक्ष बिसीलाई नै उम्मेदवार बनाउने एमालेका एक नेताले बताए । ‘यहाँ प्रतिष्ठा र गुटको लडाइ छ । आकांक्षी जतिसुकै भएपनि मुख्य प्रतिस्पर्धा अहिलेकै अध्यक्ष र उपाध्यक्षबीच नै हुन्छ’, एमालेका एक जिल्ला नेताले भने ।

आठौँ जिल्ला अधिवेशनमा गुट परिवर्तन गरी रावत समूहबाट कँडेल समूहमा गएर जिल्ला अध्यक्ष बनेका बिसी पुनः जिल्ला अध्यक्षमा दोहोरिन चाहन्छन् । तर कँडेल समूहले नवौं अधिवेशनमा देवकोटालाई अध्यक्षका लागि अघि सारेपछि बिसी चिढिएका थिए ।

त्यसैले उनले फागुनको ४, ५ र ६ गते हुने भनिएको जिल्ला अधिवेशन अध्यक्ष बिसीले १७ माघमा एक विज्ञप्ति जारी गर्दै एकलौटी रुपमा स्थगित गरेका थिए ।

उनले संगठनभित्रै सहयोग पाउन नसकेको, पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको, संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागत रूपमा सञ्चालन हुन नसकेको जस्ता कारण देखाएर अधिवेशन स्थगित गरेका थिए ।

विवादले अधिवेशन स्थगित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ माघमा नेताहरुलाई काठमाडौं बोलाएर तीन दिनसम्म छलफल गरेका थिए । त्यसपछि विवाद समाधान भई बिहीबार र शुक्रबारका लागि अधिवेशनको नयाँ मिति तोकिएको थियो ।

प्रदेश राजधानी समेत रहेको जिल्ला भएकाले सुर्खेतको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै सचिवमा घनश्याम पाण्डे, गंगाराम तिमिल्सिना, पूर्णप्रसाद पौडेल, हरिप्रसाद अधिकारी, ताराकेशर गौतम र टेकेन्द्र बस्नेत लगायतका नेताले आकांक्षा देखाएका छन् । अधिवेशनका लागि ९ वटा स्थानीय तह र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४९५ जना प्रतिनिधि छनौट भएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?