+
+

करारका कर्मचारीलाई ३ आयोजनाको जिम्मा, अकुत कमाएपछि ३ करोडको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १५:४८

८ चैत, काठमाडौं । एक जना करारका कर्मचारीलाई कतिवटा जिम्मेवारी दिइएला ? काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गत बाग्मती नगर जग्गा एकीकरण आयोजना, बौद्धको कार्यालयका अधिकृत यामकुमार कार्की तीन वटा आयोजनाका अधिकृत हुन् ।

बुधबार उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा चलाएका उनी वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कागेश्वरी मनोहरा तथा गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा अतिरिक्त जिम्मेवारीमा समेत कार्यरत छन् ।

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि कार्कीमाथि अख्तियारले छानबिन गरेको थियो । १६ साउन २०५८मा सेवा प्रवेश गरेका उनले करिब १७ वर्षको अवधिमा पारिश्रमिक बचत, भत्तावापतको वचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋण गरी ३ करोड ७७ लाख १३ हजार रुपैयाँ वैधानिक आय गरेको अख्तियारको अनुसन्धानले खुलाएको छ ।

तर, उनले घर तथा जग्गा खरिदमा गरेको खर्च, सन्तती अध्ययन खर्च, घर जग्गा रजिष्ट्रेसनवापतको खर्च, बैंक ऋणको साँवा र ब्याज भुक्तानी, बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घर जग्गा वहाल कर, सेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दातसमेत हेर्दा ६ करोड ९८ लाख ४६ हजार खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ । खर्च तथा लगानी र वैध आयबीच ३ करोड २१ लाख रुपैयाँ सम्पत्तिको वैधानिक स्रोत नखुलेको अख्तियारको ठहर छ ।

उनलाई अवैध आय बराबर बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐनअनुसार जरिवाना र कैद हुने तथा गैरकानूनी रुपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउन समेत मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको देखिएकोले जग्गा जफतका लागि छोरीलाई पनि प्रतिवादी बनाइएको छ । गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी देवका अधिकारीको नाममा समेत राखेको देखिएकाले जफत/असुल उपर गर्ने प्रयोजनका लागि पत्नीलाई समेत प्रतिवादी कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?