+
+

‘स्टारडम’ व्यवस्थापन गर्न नजान्दा डुबेको टुटल

नेपाली ‘स्टार्टअप’ क्षेत्रको ‘आइकन’ मानिएको टुटल किन केही वर्षमै असफल सावित भयो ? युवा पुस्तामा परिचित टुटल संस्थापक शिक्षित भट्ट ब्रान्ड नै बेच्नुपर्ने र प्रहरी हिरासत बस्नुपर्ने सम्मको अवस्थामा किन पुगे ?

जनार्दन बराल जनार्दन बराल
२०८० चैत १३ गते २१:२०

१३ चैत, काठमाडौं । ‘राइड सेयरिङ’ यतिबेला काठमाडौंको ‘संस्कृति’ नै बनिसकेको छ । कमजोर सावर्जनिक यातायात व्यवस्थापनले सास्ती भोगिरहेका सेवाग्राहीलाई राइड सेयरिङ ठूलै राहत बनेको हो ।

सार्वजनिक यातायातको धक्कामुक्की नबेहोरी कुनै पनि बेला मोबाइलबाटै ट्याक्सी वा मोटरसाइकल बुक गरेर तोकिएकै भाडामा आफूले चाहेको ठाउँमा सहजै यात्रा गर्न सकिन्छ । जसलाई राइड सेयरिङका नामले चिनिन्छ ।

खासगरी ‘पठाओ’ र ‘इनड्राइभ’ ले हरेक दिन हजारौं सेवाग्राहीलाई सहज गन्तव्य पुर्‍याइरहेका छन् भने यही सफल अभ्यास पछ्याउँदै थप नयाँ राइड सेयरिङ सेवा सुरु पनि भइरहेका छन् ।

राइड सेयरिङ ‘बुम’ भइरहँदा यस क्षेत्रको ‘पायोनियर’ मानिएको नेपाली ब्रान्ड ‘टुटल’ भने अस्तित्व रक्षाको संघर्षमा छ ।

छोटो समयमै सफलताको शिखर उक्लिएको टुटल हिमपहिरो झैं ग्वार्लाम्मै खस्यो ।

नेपाली ‘स्टार्टअप’ क्षेत्रको ‘आइकन’ मानिएको टुटल किन केही वर्षमै असफल सावित भयो ? युवा पुस्तामा परिचित टुटल संस्थापक शिक्षित भट्ट ब्रान्ड नै बेच्नुपर्ने र प्रहरी हिरासतमा बस्नुपर्ने सम्मको अवस्थामा किन पुगे ?

नेपालमा उद्यम गरिरहेका युवा पुस्तालाई पाठ हुने ठानेर अनलाइनखबरले यसपालि टुटलको ‘असफलताको कथा’ लिएर आएको छ ।

कसरी जन्मियो टुटल ?

टेलिकम इन्जिनियरिङमा स्नातक गरेपछि शिक्षित भट्टले सात वर्ष युनाइटेड टेलिकम (यूटीएल) मा काम गरे । त्यहीबीच ‘गोल्ड मेडल’ सहित एमबीए सकेसँगै उनले नेपाल इन्भेस्टमेन्ट बैंकमा साढे चार वर्ष जागिर पनि खाए ।

सन् २०१५/१६ तिर व्यवसायी साथीहरू आनन्द बगारिया र सञ्जय गोल्छासँग कफी खाने क्रममा एउटा बिजनेस ‘आइडिया’ फुर्‍यो– मोटरसाइकलमा राइड सेयरिङ सेवा दिने ।

नेपालमा अव्यवस्थित सार्वजनिक यातायात र महँगो ट्याक्सी सेवाको विकल्प खोज्ने क्रममा जन्मिएको नयाँ सोच व्यवहारमा उतार्ने निष्कर्षमा पुगे तीन दौंतरी शिक्षित, सञ्जय र आनन्द ।

उनीहरूले हाइपरलुप प्रालि दर्ता गरे र जन्मियो नेपालकै पहिलो राइड सेयरिङ सेवा– टुटल ।

शिक्षितले पहिलेदेखि बनाइरहेको सफ्टवेयर १२ लाख रुपैयाँमा किन्ने र उनले थप १२ लाख लगानी गर्ने सहमतिमा तीन जनाले २४-२४ लाख रुपैयाँ लगानी गरे ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा शिक्षितले टुटलको नेतृत्व सम्हाल्न थाले भने केही समयपछि टिममा मर्कन्टाइल कम्युनिकेसनका संस्थापक सञ्जीव राजभण्डारी पनि लगानीकर्ता बनेर भित्रिए ।

मोटरसाइकल ट्याक्सी संसारका अन्य देशमा चलिसके पनि नेपालमा विल्कुल नयाँ अवधारणा थियो ।

स्थापनाको छोटो समयमै टुटलले लोकप्रियता कमायो र सेवा तीव्र विस्तार भयो । भट्टका अनुसार सन् २०१९-२० सम्म आइपुग्दा राइडर संख्या ८० देखि ९० हजारसम्म पुग्यो भने दैनिक २५ देखि ३० हजार राइड हुन थाल्यो ।

‘हामीलाई न बजारको आकार थाहा थियो, न यसलाई कसरी राम्रो बिजनेस मोडेल बनाउन सकिन्छ भन्ने ज्ञान,’ शिक्षित सुरुवाती दिन सम्झिन्छन् ।

टुटुललाई पूर्णरूपमा मोबाइल एप्लिकेसनबाट सेवा दिने नेपालको पहिलो प्लेटफर्म दाबी गर्ने शिक्षितलाई सुरुमा राइडरहरू जुटाउन र मानिसलाई बाइक वा ट्याक्सीमा अभ्यस्त बनाउन निकै मिहिनेत गर्नुपर्‍यो ।

सँगै, डिजिटल भुक्तानी र इन्टरनेटको अनुपलब्धताका समस्या छँदै थिए । एपबाटै अर्डर र एसेप्ट गर्नुपर्ने भएकाले यसका लागि इन्टरनेट अनिवार्य हुन्छ, तर त्यतिबेला मोबाइल इन्टरनेट अहिलेजस्तो सहज र सस्तो थिएन । अनलाइन सेवा दिने व्यवसायको डिजिटल भुक्तानीको सुविधा पनि थिएन ।

त्यतिबेला ई–सेवा पनि एपमा थिएन । ‘ई–सेवालाई मैले नै थर्ड पार्टी इन्टिग्रेसन गर्न लगाएँ,’ भट्ट भन्छन्, ‘ग्राहकलाई टुटलप्रति विश्वास दिलाउन विभिन्न अफर ल्यायौं, छुट दियौं । बल्ल मानिसले झन्झटिलो सार्वजनिक यातायातको विकल्पका रूपमा टुटललाई स्वीकार्न थाले ।’

स्थापनाको छोटो समयमै टुटलले लोकप्रियता कमायो र सेवा तीव्र विस्तार भयो । भट्टका अनुसार सन् २०१९-२० सम्म आइपुग्दा राइडर संख्या ८० देखि ९० हजारसम्म पुग्यो भने दैनिक २५ देखि ३० हजार राइड हुन थाल्यो ।

चुनौतीको पहाड

टुटल सुरु गरेको झन्डै एक वर्षपछि सोच्दै नसोचेको ठूलो लागत थपियो । सुरुमा उनीहरूले गुगल म्याप सित्तैँमा चलाइरहेका थिए । तर, एक वर्षपछि गुगलले ७० लाख रुपैयाँ हाराहारीको बिल पठाउनुका साथै पुरानो बक्यौता भन्दै थप रकम पनि माग्यो ।

व्यावसायिक योजना बनाउँदा तीन साझेदारले सोच्दै नसोचेको अनपेक्षित लागत थियो त्यो । अन्य कामका लागि पटक–पटक लगानी थपिरहेका उनीहरूका लागि यो खबर अचाक्ली अप्रत्यासित बन्यो ।

‘गुगल म्यापको त्यति ठूलो लागत बेहोर्न सक्ने अवस्था थिएन, हामीले लोकल म्याप प्रयोग गर्न थाल्यौं,’ भट्ट भन्छन् ।

लोकल म्यापमा यात्रुहरू अभ्यस्त भइरहँदा कानुनी झमेला व्यवसायमा नयाँ तगारो बनेर आयो ।

‘त्यतिबेला नेपालमा राइड सेयरिङ सम्बन्धी कुनै कानुनी व्यवस्था थिएन, बल्ल अहिले बन्दैछ,’ भट्ट थप्छन्, ‘निजी सवारीसाधन भाडामा लगाउन पाइन्न भनेर ट्याक्सी युनियनहरूले लबिङ गरिरहेका थिए भने सरकारले कुन बेला बन्द गरिदिने हो भन्ने डर छँदैथियो ।’

कानुन अभाव र अन्य प्राविधिक समस्यासँग जुध्दै तीन वर्षसम्म नेपालमा राइड सेयरिङमा एकाधिकार जमाइरहेको टुटलको अझ शक्तिशाली चुनौती त्यतिबेला थपियो जब २०१८ को अन्तिमतिर यही क्षेत्रमा बंगलादेशको सफल कम्पनी पठाओ नेपाल भित्रियो ।

‘कम्पनी ग्रो गरिरहँदा व्यवसायलाई दिगो बनाउनुपथ्र्यो, तर उनी कम्पनीको रणनीति बनाउने भन्दा पनि सार्वजनिक समारोहमा बढी देखिन थाले,  ‘शिक्षित र उनको व्यवसायलाई नजिकबाट नियालेका एक व्यवसायी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘जेन्डर र जलवायु परिवर्तनको विषयमा बोल्दै हिँडे ।’

एकपछि अर्को गरी थपिएका चुनौतीसँग सामना गर्न उत्कृष्ट प्रविधि र चुस्त सेवा विस्तार आवश्यक थियो । भनिन्छ, जहाँ अभाव, त्यहाँ तनाव । बिस्तारै संस्थापक लगानीकर्ता सञ्जय, आनन्त, शिक्षित र सञ्जीवबीच मतान्तर सुरु भयो ।

नाफाको मृगतृष्णा

‘टुटुलले मानिसलाई श्रमप्रतिको सम्मान जगाउनुका साथै डिजिटल अर्थतन्त्रको विकास गर्‍यो,’ संस्थाले हासिल गरेको सामाजिक उपलब्धि र व्यावसायिक विस्तारको व्याख्या गरिरहँदा शिक्षित टुटलले कमाएको नाफाको हिसाब सुनाउन सक्दैनन् । भन्छन्, ‘केवल लगानी थपिरहनुपर्‍यो ।’

सुरुमा व्यावसायिक योजना बनाउँदा २० प्रतिशत नाफा बच्छ भन्ने अनुमान थियो । तर, कम्पनीको व्यवसाय विस्तार गर्दै जाँदा नोक्सानी पो बढ्दै गयो, कम्पनी दिनानुदिन घाटामा गइरह्यो ।

‘मलाई एकातिर व्यवसायको अनुभव थिएन भने लगानीलाई नाफामा कसरी बदल्न सकिन्छ भन्ने पनि जानिनँ,’ भट्ट स्वीकार्छन् ।

स्टार्टअप पनि व्यवसाय नै हो । लगानी, आम्दानी–खर्च तथा नाफा–नोक्सानको उचित योजना बनेन वा बनेको योजना पनि सही ढंगले कार्यान्वयन भएन भने त्यो सफल हुँदैन । संसारभरि स्टार्टअप असफल हुने प्रमुख कारणमध्ये यो पनि एक हो ।

जति लोकप्रिय भए पनि आखिर टुटल एक स्टार्टअप न थियो । ‘लोकप्रियता बढ्दै जाँदा यो एक एउटा स्टार्टअप हो भनेर बिर्सिंदा कम्पनी नै असफल भयो,’ एक सफल स्टार्टअप व्यवसायी भन्छन्, ‘मैले थाहा पाएसम्म त्यसबेला टुटुलको खर्च मासिक ५०–६० लाखसम्म हुन थाल्यो, स्टार्टअप कम्पनीले कर्पोरेटले भन्दा बढी खर्च गरेपछि नाफा त मृगतृष्णा मात्रै बन्यो ।’

विवादको जड

तत्कालीन सीईओ शिक्षित प्रविधिमा अत्यधिक खर्च भएको स्वीकार्छन् । बाँकी लगानीकर्ता टेक कम्पनीबाट सस्तोमा प्रविधि आउटसोर्स गर्नुपर्नेमा जोड दिन्थे भने शिक्षितले प्राविधिक रूपमा कम्पनी आफैं बलियो हुनुपर्छ भनेर प्रविधिमा अत्यधिक लगानी गरे । हुँदाहुँदै लगानीकर्ताबीच टुटल राइड सेयरिङ हो कि टेक कम्पनी भनेर विवाद हुन थाल्यो ।

कम्पनी सुरु गर्दा बनाएको वित्तीय योजना लागु भएन । आफू उद्यमीका रूपमा सफल भए पनि व्यवसायीका रूपमा असफल भएको शिक्षित स्वीर्काछन् ।

‘प्रविधि र जनशक्तिमा मुख्य खर्च थियो, तर आवश्यकता अनुरूप नै खर्च भएको हो,’ उनी भन्छन्, ‘कम्पनी स्थापनाकालमा बनाएको वित्तीय योजना कार्यान्वयन गर्न सकिनँ ।’

शिक्षित कम्पनीले अनावश्यक खर्च गरेको स्वीकार्न तयार छैनन् । टुटलका अन्य लगानीकर्ता पनि स्वीकार्छन्, ‘सीईओका रूपमा शिक्षितले हिसाबकिताबमा बदमासी गरेको होइन, बरु आम्दानी र खर्चको सही व्यवस्थापन गर्न सकेनन् ।’

घाटामा संस्था, सीईओलाई हाइहाइ

निरन्तर घाटा बेहोरिरहे पनि टुटल र यसका सीईओ शिक्षित अत्यधिक चर्चामा रहे । एक सफल स्टार्टअपको नेतृत्वका रूपमा उनलाई देश–विदेशका विभिन्न एजेन्सी, संघसंस्थादेखि शैक्षिक संस्थाहरूले पनि वक्ताका रूपमा आमन्त्रण गर्न थाले । उनी ‘सेलिब्रिटी सीईओ’ बने ।

शिक्षित भट्ट
कानुन अभाव र अन्य प्राविधिक समस्यासँग जुध्दै तीन वर्षसम्म नेपालमा राइड सेयरिङमा एकाधिकार जमाइरहेको टुटलको अझ शक्तिशाली चुनौती त्यतिबेला थपियो जब २०१८ को अन्तिमतिर यही क्षेत्रमा बंगलादेशको सफल कम्पनी पठाओ नेपाल भित्रियो ।

उनीमाथि साझेदारहरूबाटै कम्पनीको कामभन्दा बढी सार्वजनिक समारोहहरूमा अल्मलिएको आरोप लाग्न थाल्यो ।

‘कम्पनी ग्रो गरिरहँदा व्यवसायलाई दिगो बनाउनुपथ्र्यो, तर उनी कम्पनीको रणनीति बनाउने भन्दा पनि सार्वजनिक समारोहमा बढी देखिन थाले,’ शिक्षित र उनको व्यवसायलाई नजिकबाट नियालेका एक व्यवसायी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘जेन्डर र जलवायु परिवर्तनको विषयमा बोल्दै हिँडे ।’

साझेदारहरूले व्यवसायमा केन्द्रित हुन गरेको आग्रह ध्यान नदिएको नदिँदा समस्या झनै बल्झिँदै गएको शिक्षितकै एक साझेदार बताउँछन् ।

‘कम्पनी निरन्तर घाटामा गएपछि बोर्ड बैठकमा गाली खान थाले,’ ती साझेदार भन्छन्, ‘त्यसैले शिक्षित सकेसम्म बैठक छलेर बाहिरकै स्टारडममा रमाइरहे ।’

तर, सार्वजनिक कार्यक्रममा बढी समय दिएकैले कम्पनी नै धराशयी भएको मान्न तयार छैनन् शिक्षित । ‘मैले जहाँ गएर बोले पनि कम्पनीकै प्रचार भइरहेको थियो, विज्ञापनमा खर्च गर्नुभन्दा त्यो नै राम्रो विधि थियो,’ उनी अडिग सुनिन्छन् ।

शिक्षितका अर्का एक साझेदार भन्छन्, ‘टुटलकै कारण शिक्षित चिनिएका थिए, भोलि यो असफल हुँदा त्यो छवि कायम रहँदैन थियो । त्यो तथ्यलाई आत्मसात गरी कम्पनीलाई दिगो बनाउनेमा नै उनी केन्द्रित हुनुपथ्र्यो ।’

निरन्तरको असफलता र असमझदारीपछि अन्ततः सञ्जय र आनन्दले साढे ३ करोड बढी लगानी र साढे २ करोड जति अनुदान खर्च भएको कम्पनी एकै दिन छाडे, त्यो पनि सहमतिमै ।

‘त्यसरी २०१९ मा दुई साझेदार बाहिरिँदा चार जना लगानीकर्ताको पैसा र दाताको अनुदानसमेत गरी ६ देखि साढे ६ करोड खर्च भइसकेको थियो,’ ती संस्थापक भन्छन् ।

नयाँ लगानीकर्ता, पुरानै गति

दुई संस्थापक साझेदारले टुटल छाडेपछि पनि सीईओ नै रहेका शिक्षितलाई केही समय अर्का साझेदार सञ्जीवले साथ दिए । त्यसपछि शिक्षितले अन्य केही लगानीकर्ता भित्र्याए । यद्यपि, अनलाइनखबरसँगको कुराकानीमा शिक्षितले कम्पनी एक्लै चलाएको दाबी गरे ।

तर, सम्बद्ध स्रोतहरूका अनुसार टुटलमा एउटा समूह नै अर्थात् ‘मन्डला डिजिटल होल्डिङ्स कम्पनी’ ले लगानी गरेको थियो, जसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र अर्का व्यवसायी शिवांक थापा लगायत थिए ।

सन् २०२० मा कोभिड महामारीमा देशभरि लकडाउन भयो । त्यसले राइड सेयरिङ व्यवसायमा गम्भीर धक्का लाग्यो । पठाओसँग प्रतिस्पर्धा मुस्किल भइरहेको बेला २०२१ मा इनड्राइभ भित्रिएसँगै टुटल थप संकटमा धकेलियो ।

नयाँ प्रविधि र विश्वका कैयौं देशको अनुभवसहित भित्रिएका पठाओ र इनड्राइभसँग प्रतिस्पर्धा गर्न योग्य एपका रूपमा शिक्षितले टुटलको प्रणालीलाई अद्यावधिक गर्न सकेनन् ।

शिक्षितलाई नजिकबाट चिन्ने एक व्यवसायी भन्छन्, ‘पठाओलाई यहाँ सेलिब्रिटी बन्नु थिएन, व्यापारमा केन्द्रित भयो, भट्ट भने नयाँ चुनौतीलाई कसरी सामना गर्नेभन्दा पनि सार्वजनिक समारोहमा बढी व्यस्त भए ।’

पठाओ ‘अप्टिमाइज्ड’ प्रविधि लिएर मैदानमा उत्रिरहेका बेला टुटल भने गुगल म्यापबाट पछाडि फर्केर लोकल म्याप प्रयोग गर्दै थियो । त्यसबाहेक पनि टुटलको प्रविधि प्रयोगकर्तामैत्री थिएन ।

यात्रुले अर्डर गरेपछि पठाओमा नजिकका राइडरले मात्रै एसेप्ट गर्न मिल्थ्यो भने टुटलमा राइडर जहाँ भए पनि स्वीकार गर्नुपर्ने कमजोर प्रविधि थियो । यसले पठाओलाई टुटलभन्दा प्रयोगकर्तामैत्री, व्यावहारिक र लोकप्रिय बनायो ।

शिक्षित भने हुर्किंदै गरेको कम्पनीलाई ठूलो लगानीसहित आएको पठाओले मिचेको निष्कर्ष सुनाउँछन् । भन्छन्, ‘हामी सानो लगानीको स्टार्टअप थियौं, घाटामा व्यवसाय गरिरहेका थियौं । हामीले बनाइसकेको इकोसिस्टममा अचानक ठूलो लगानीसहित पठाओ आयो, ऊसँग प्रतिस्पर्धामा हामी पछि पर्‍यौं ।’

पठाओ ‘अप्टिमाइज्ड’ प्रविधि लिएर मैदानमा उत्रिरहेका बेला टुटल भने गुगल म्यापबाट पछाडि फर्केर लोकल म्याप प्रयोग गर्दै थियो । त्यसबाहेक पनि टुटलको प्रविधि प्रयोगकर्तामैत्री थिएन ।

कहीँकतै दर्ता नै नभई अर्को ग्लोबल राइड सेयरिङ कम्पनी इनड्राइभ नेपालमा चल्न थालेपछि त्यसले टुटल विस्थापनको अवस्थामा पुगेको उनी दाबी गर्छन् ।

त्यसो त, पठाओ र इनड्राइभले तीव्र गतिमा टुटलको बजार खोस्न थालेपछि शिक्षितले यसलाई ‘रिभाइभल’ प्रयास पनि नगरेका होइनन् । सुरुमा टुटल दुई पाङ्ग्रेमा मात्रै कन्द्रित थियो, पछि ट्याक्सी सेवामा पनि विस्तारित भयो ।

कोभिडपछि करिब एक वर्ष सबै भाडा राइडरहरूलाई नै दिने र कम्पनीले कुनै पैसा नलिने गरी काम गरेको उनी बताउँछन् । तर, त्यस्तो निर्णयले कम्पनीलाई थप थला पार्‍यो ।

शिक्षितमाथि प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटलहरूबाट लगानी जुटाउने र कम्पनीलाई उन्नत बनाउने विकल्पमा काम नगरेको आरोप लाग्ने गरेको छ । त्यसबेला भेन्चर क्यापिटलहरू टुटलमा लगानी गर्न इच्छुक भए पनि उनी मानेनन् ।

‘भेन्चर क्यापिटलको लगानी ल्याएपछि एक हिसाबले कम्पनी नै उनीहरूले कब्जा गर्छन्, आफूअनुकूल चलाउन पाइँदैन, त्यही भएर मैले त्यस्तो लगानी भित्र्याइनँ,’ उनको प्रष्टोक्ति छ ।

तर, शिक्षितले कम्पनीको मूल्यांकन अत्यधिक धेरै गरेकाले भेन्चर क्यापिटलहरूले लगानी गर्ने वातावरण नबनेको एक जानकार व्यवसायी बताउँछन् ।

त्यहीबीच २०१९ मा टुटलमाथि मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोप लाग्यो । कर कार्यालयले भ्याट उठाएको र नतिरेको भन्दै साढे ३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।

‘यातायात सेवामा भ्याट नै लाग्दैनथ्यो, कम्पनीमाथि प्रहार गर्न मात्रै त्यो विषय ल्याइएको थियो । पछि त्यो विषय मिल्यो । तर, त्यसले कम्पनीको प्रतिष्ठामा ठूलो आघात पुर्‍यायो,’ कम्पनीका एक पुराना सञ्चालक भन्छन् ।

टुटल छाडे, विवादले छाडेन

अन्ततः शिक्षितले २०७८ जेठबाट टुटल सेवा बन्द गरे । र, टुटलको मातृ कम्पनी हाइपरलुप प्रालिले डेलिभरी सेवा दिइरहेको ‘ज्याप’ लाई टुटलको ट्रेडमार्क प्रयोग गर्न दिने सम्झौता गरे ।

त्यही सम्झौतालाई लिएर शिवांक लगायत साझेदार र उनीबीच प्रतिलिपि अधिकार उल्लंघन गरेको र आपराधिक विश्वासघातको विवाद सुरु भयो । मन्डला डिजिटल्सले यस विषयमा विभिन्न निकायमा उजुरी दिएपछि प्रहरीले शिक्षितलाई पक्राउ नै गर्‍यो ।

तर, यससम्बन्धी मुद्दामा उच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने बताइसकेको सन्दर्भमा थुनामा राख्नु नपर्ने भन्दै काठमाडौं जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी छुटे ।

एक प्रहरी अधिकृतका अनुसार शिक्षितले उजुरी दिने समूहसँग मिलापत्र समेत गरेका छन् । ‘सिवांक थापा सहितका जाहेरवालाको माग बमोजिम ६५ लाख रुपैयाँ र माफीनामा सहितको पत्र दिएपछि उहाँहरूबीच सहमति भएको थियो,’ अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन् ।

उच्च अदालत पाटनमा यो मुद्दा अझै विचाराधीन छ । कानुनी विवाद चलिरहेको भन्दै त्यस विषयमा आफूले मुख नखोल्ने शिक्षित बताउँछन् ।

यता, ज्यापका एक संस्थापक रुबिक जोशी भने टुटलको लोगो प्रयोग गर्ने अधिकार आफूहरूले सम्झौतामार्फत लिएको दाबी गर्छन् ।

‘हामीले हाइपरलुपका एकजना सञ्चालक प्रशान्त श्रेष्ठसँग सम्झौता गरेर टुटलको आधिकारिक लागो प्रयोग गरिरहेका छौं, कम्पनी किनेको होइन, उसको नाममा उद्योग विभागका दर्ता टुटलको ट्रेडमार्क चाहिँ प्रयोग गर्ने अधिकार लिएका हौं,’ जोशी भन्छन् ।

लगभग बन्द अवस्थामा रहेको ब्रान्डलाई पुनर्जीवन दिने प्रस्ताव हाइपरलुप कम्पनीबाटै आएको उनी दाबी गर्छन् ।

‘टुटल नेपालमा राइड सेयरिङ व्यवसाय सुरु गर्ने कम्पनी थियो, नेपालीले माया गरेको ब्रान्ड भएकाले लिएका हौं,’ उनी भन्छन् ।

ज्यापमा जोशीका अतिरिक्त केयुश श्रेष्ठ र श्रेयशकृष्ण श्रेष्ठले लगानी गरेका छन् । यो कम्पनीले ‘टुटल बाइ ज्याप’ भनेर राइड सेयरिङ पुनः सुरु गरिसकेको छ ।

टुटल ब्रान्ड प्रयोग गर्ने अधिकार लिएपछि पुरानो एप बन्द गरी नयाँ विकास गरेको जोशीको दाबी छ । ज्यापले टुटलको लोगो पनि थोरै परिमार्जन गरेको छ ।

‘तर, टुटल बाइ ज्याप एपको ‘हिस्ट्री’ हेर्दा पुरानै एपको निरन्तरता रहेको स्पष्ट देखिन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘पीडित पक्षले जाहेरी ल्याउँदा पनि प्रमाणका रूपमा त्यो विवरणसहित एपस्टोरको स्क्रिनसट समावेश गर्नुभएको थियो ।’

नयाँ अवतारमा टुटल पुनर्जीवन

सन् २०२० देखि नै डेलिभरी सेवा दिइरहेको ज्यापले नयाँ एपमार्फत गत १७ भदौदेखि टुटल सेवा पुनः सुरु गरेको छ ।

यसबीच २५ हजार राइडर टुटलमा आबद्ध भइसकेको ज्यापका संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत केयुश श्रेष्ठले बताए ।

‘अहिले दैनिक ४ देखि ५ हजारसम्म राइड भइरहेका छन्,’ उनले भने, ‘नेपालमा राइड सेयरिङ एप टुटल पुनः सुरु भयो भन्ने थाहा पाएर राइडर तथा प्रयोगकर्ता दुवैले माया देखाउनुभएको छ ।’

चाँडै नै टुटलमा ज्यापलाई पनि एकीकृत गरेर डेलिभरी सुविधा पनि उपलब्ध गराउने योजना रहेको श्रेष्ठ सुनाउँछन् । साथै, टुटलले ‘विज्ञापन सेवा’ पनि दिने गरी काम गरिरहेको उनले बताए ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?